June 16th, 2017

मनास्लु र ओम डेभलपमेन्ट बैंक गाभिए (ओम डेभलपमेन्ट बैंकका सीईओको अन्तरवार्तासहित)

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड र गोरखामा केन्द्रीय कार्यालय रहेको मनास्लु विकास बैंक लिमिटेडले आज असार २ गते शुक्रबारबाट संयुक्त कारोबार गर्दैछन् । राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जरपछि अझै ठुलो विकास बैंकको रुपमा अझ सशक्त रुपले बैंकिङ्ग सेवा प्रदान गर्न सक्नेछ भन्ने बैंक ब्यवस्थापनको विश्वास रहेको छ । यिनै मर्जरको सेरेफेरोमा रहेर ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीसँग बैंकिङ खबर डट कमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

यहाँको मर्जरकोे अनुभव कस्तो रह्यो ?
मर्जर हाम्रो लागि बिशेष रह्यो । २०७२ साल चैत्र २२ गते साविक सिटी डेभलपमेन्ट बैंक लिमिटेड र साविक ओम फाईनान्स मर्ज भएर हामीले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोबार गरेका थियौँ । एकातिर मर्जपछि राष्ट्रिय स्तरको विकास बैंक भएपछि देशका बिभिन्न स्थानहरुमा शाखा विस्तार गरि सेवा विस्तार गर्यौँ भने बैंकको ब्यवसायमा पनि बृद्धि गरि सेयरधनिहरुलाई उचित प्रतिफल दिन सफल भएका छौँ । सेयरधनी, ग्राहकहरु तथा कर्मचारीहरुको सहयोग, सल्लाह तथा सुझावले गर्दा फेरी मनास्लु विकास बैंकसँग मर्ज भई अझै ठुलो विकास बैंकको रुपमा कारोबार गर्दैछौँ । मर्जरको लागि सबै पक्षको सकरात्मक सहयोगले हामीलाई उत्प्रेरणा प्रदान गरेको छ ।

मर्जरपछि बैंकको अवस्था कस्तो छ ?
मर्जरपछि बैंकको चुक्ता पुँजी करिब एक अर्ब ६६ करोड रुपैयाँ, निक्षेप १५ अर्ब ४० करोड रुपैयाँ र कर्जा प्रवाह १३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने ओमको ३२ वटा शाखा र मनास्लुको १० वटा शाखा गरी ४२ वटा शाखाहरुमध्ये तनहुँको तुरतुरे शाखा गाभिने भएकोले एउटा घटेर ४१ वटा शाखाहरु भएका छन् । मर्जरपछि बैंकको ग्राहक संख्या निक्षेपतर्फ एक लाख ९८ हजार, कर्जातर्फ २५ हजार एक सय, एटिएमतर्फ १५ हजार र मोवाईल बैंकिङतर्फ ३७ हजार पाँच सय पुगेको छ ।

मर्जरमा गएका बैंकहरुको प्रतिफल घट्ने गरेको पाइन्छ । ओमको प्रतिफलको अवस्था कस्तो छ ?
बैंकको प्रतिफललाई धेरै तत्वले असर पार्न सक्छ । मर्जरमा जाने संस्थाहरुमध्ये कुनै संस्थाको वित्तीय अवस्था कमजोर भएको खण्डमा मर्जरपछि प्रतिफलमा कमि आउन सक्छ । त्यस्तै गरि बोनश सेयर वितरण तथा हकप्रद सेयर जारी गरेको अवस्थामा पनि प्रतिफलमा कमि आउन सक्छ । साबिक सिटी र ओम दुबैको वित्तीय अवस्था राम्रो रहेकोले गत बर्ष हामीले मर्जरपछि पनि २९.२० प्रतिशत बोनश सेयर बितरण गर्न सफल भएका थियौँ । यस बर्ष पनि ओम र मनास्लु दुबैको वित्तीय अवस्था राम्रो रहेकोले बैंकिङ्ग उद्योगको औसत प्रतिफल दरभन्दा बढि प्रतिफल दिन सफल हुनेछौँ ।

नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्ता पुँजी कसरी पुर्याउने योजना छ ?
नेपाल राष्ट्र बैंकले तोके बमोजिम हामीलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । मर्जर लगत्तै हामी ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रियामा जान्छौँ र चालु आर्थिक बर्षको मुनाफाबाट बोनश सेयर बितरण गरेर दुई अर्ब ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पुँजी पुर्याउनेछौँ ।

मर्जरबाट के फाइदा हुन्छ भन्ने बिश्वास लिनुभएको छ ?
सर्वप्रथम मर्जरपछि ग्राहकहरुले बढि भन्दा बढि शाखाबाट कारोबार गर्ने मौका पाउनेछन् । बैंकका सम्पूर्ण शाखाहरुका ग्राहकहरुलाई शाखा सञ्जालले जोड्ने काम गर्नेछ भने मर्जरपछि बैंकको जोखिम वहन गर्ने क्षमतामा बृद्धि भई देशको लागि आवश्यक ठुला ठुला पूर्वाधारमा समेत लगानी गर्नको लागि बैंक सक्षम हुनेछ । कर्मचारीहरुमा पनि प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि भई उसको ब्यक्तिगत क्षमतामा समेत बृद्धि हुनेछ । त्यसैगरि फरक फरक अनुभव भएका सञ्चालक समिति तथा कर्मचारीहरुमा बिभिन्न ज्ञान, सीप तथा क्षमताको आदनप्रदान भई थप कार्यकुशलताका साथ प्रदान गरिने सेवामा अझ राम्रो बन्न जानेछ भन्ने बिश्वास लिएको छु । समग्रमा सानो संस्था भन्दा ठुलो संस्थाको दिने सेवा सुविधामा गुणात्मक बृद्धि भएको छ ।

मर्जरपछि बैंकका रणनितीहरु के के छन् ?
हामीले मर्जरको स्वीकृति सँगसँगै नेपाल राष्ट्र बैंकसँग देशका बिभिन्न ठाउँहरुमा शाखा खोल्नको लागि पनि स्वीकृति मागेका थियौँ । अब हामी तुरुन्तै नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिई शाखा विस्तार गर्नेछौँ । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा सुविधा र सुरक्षा प्रदान गर्ने उद्देश्यले चिप बेस एटिएम कार्ड सहित ग्राहकहरुलाई नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) नेटवर्कको भिजा कार्ड बितरण गर्ने निर्णय गरेका छौँ । यसबाट ग्राहकहरुले नेपाल, भारत र भुटानबाट रकम झिक्न सक्नेछन् र ग्राहकको माग र आवश्कता बमोजिम एटिएम मेशिन पनि बिस्तार गर्दे जाने योजनामा छौँ । समग्रमा नेटवर्क विस्तार, गुणस्तरीय सेवा, जोखिम न्यूनिकरण, मानव संशाधनको गुणस्तरमा बृद्धि, अत्याधुनिक बैंकिङ्ग सेवाको  बिस्तार, लगानीको बिविधिकरण आदि रणनितिहरु अवलम्बन गरेका छौं ।

अहिलेको कर्जा संकुचनको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
नेपालका बैंक तथा वित्तीय क्षेत्रमा बिगत ४–५ महिनामा कर्जा संकुचनको अवस्था देखा परि कर्जा तथा निक्षेप दुबैको ब्याजदर बढेको अवस्था छ । बिगतमा बचतको ब्याज भन्दा मुद्रास्फीति दर धेरै हुनु राम्रो पनि थिएन । पहिलो चरणको स्थानीय निर्वाचन भएपछि पनि बैंकरहरुले अपेक्षा गरे अनुरुप बजारमा तरलता बढिराखेको पाईएको छैन । सरकारी खर्च कम भएर पनि बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य रकमको अभाव भएको हो । यद्यपि यो समस्याको समाधान हुँदै गएको अवस्था छ । दोश्रो चरणको स्थानीय निकायको निर्वाचन र नयाँ आर्थिक बर्षको प्रारम्भसँग यो समस्या समाधान हुने विश्वास गरेको छु । देशको तीब्र आर्थिक बृद्धिको लागि अहिलेको कर्जा संकुचन घातक हुनसक्छ, त्यसैले यो  समाधानतर्फ सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु तुरुन्तै लाग्नुपर्ने देखिन्छ ।

बैंकिङ क्षेत्रमा समस्या आउन नदिन के गर्नुपर्छ ?
बैंकिङ क्षेत्र अन्य ब्यवसाय तथा संस्थाहरु भन्दा फरक ब्यवसाय भएकोले यस क्षेत्रमा समस्या आउन नदिनको लागि राम्रो संस्थागत सुशासन स्थापित गर्नुपर्छ । संस्थागत सुशासन, पारदर्शीता, ईमान्दारीता र जवाफदेहिताका साथ यसका सरोकारवालाहरु जस्तै, सञ्चालक, ब्यवस्थापन पक्ष तथा कर्मचारीहरुले वित्तीय स्वार्थमा नलागी कार्य गर्ने गराउने वातावरण सिर्जना गर्ने, लगानी विविधिकरण गर्ने, नियन्त्रण प्रणाली चुस्त पार्ने, स्व—अनुशासनको वातावरण बनाउने र जोखिम ब्यवस्थापनमा बिशेष ध्यान दिने गर्नुपर्छ । साथमा नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित मापदण्ड अनुसार कार्य गरेमा तथा आन्तरिक र बाह्य बातावरणीय तत्वको बिश्लेषण गरी अगाडी बढेमा यस क्षेत्रमा आउने समस्या रोक्न सकिन्छ ।

अन्तमा केहि भन्न चाहानुहुन्छ ?
ओम डेभलपमेन्ट बैंक सदैब ग्राहक सेवामा समर्पित छ । योर बैंक योर पार्टनर भन्ने नाराको साथमा स्थापनाकालदेखि नै ग्राहक सेवालाई केन्द्रमा राखेर सेवा दिइराखेको छ । आजको दिनसम्म हामीलाई माया गरेर कारोबार गर्नुहुने सम्पूर्ण ग्राहकहरु, सदैव सल्लाह सुझाव दिने सेयरधनीहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहान्छु र भविष्यमा पनि यस्तै सल्लाह, सुझावको अपेक्षा गर्दछु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]