May 22nd, 2017

दुई विकास बैंकको हकप्रद आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

दुई वटा विकास बैंकले सोमबार (जेठ ७ गते) हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड र अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो । कञ्चनले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा तथा अल्पाइनले तीन बराबर २.०८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाएको धितोपत्र बोर्डले जनाएको छ । 

धितोपत्र बोर्डको स्वीकृति बमोजिम कञ्चन डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । त्यस्तै, अल्पाइनले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँ बराबरको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । 

हाल कञ्चनको चुक्तापुँजी ३४ करोड ६५ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४५ करोड चार लाख ५० हजार रुपैयाँ पुग्नेछ । त्यस्तै, हाल अल्पाइनको चुक्तापुँजी २६ करोड ७५ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद  जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने अल्पाइन डेभलपमेन्ट बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]