September 28th, 2016

‘फाइनान्सको संख्या निकै घट्ने छ’ वित्तीय संस्था संघका अध्यक्षसंगको अन्तर्वार्ता 

 

14470783_1129277113815098_646657159_nसरोजकाजी तुलाधर नेपाल वित्तीय संस्था संघका अध्यक्ष एवम् गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)का प्रमुख कार्यकारी अधिकृत हुन् । उनकै नेतृत्वमा सन् १९९५ मा गुडविल फाइनान्सको स्थापना भएको हो । गुडविल फाइनान्स नेपालमा संचालित फाइनान्समध्ये बलियो फाइनान्सको रुपमा गनिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुले पनि फाइनान्सको काम गर्न थालेपछि फाइनान्स कम्पनीहरुलाई केही असहज भएको बताइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकको एउटा तप्काले पनि नेपालमा अब ‘क’ वर्गको संस्थामात्रै रहनुपर्ने भनिहेको छ । यसै सन्दर्भमा फाइनान्स कम्पनीहरुको अगाडि देखा परेका यस्ता चुनौतिहरुलाई फाइनान्स कम्पनीहरुले कसरी ‘फेस’ गरी अगाडि बढ्छन् ? भन्ने विषयमा बैंकिङ खबरका सह–सम्पादक नवराज कुँवरले वित्त कम्पनी संघका अध्यक्ष तुलाधरसंग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ । 

 

नेपालमा वित्त कम्पनीहरुको अवस्था कस्तो छ ?

समग्रमा वित्त कम्पनीहरुको अवस्था राम्रो छ । पुँजी बढिरहेको छ । पछिल्लो समय संख्यात्मक रुपमा फाइनान्स कम्पनीहरु घट्दो क्रममा छन् । तर उनीहरुको वित्तीय अवस्था भने गुणात्मक देखिन्छ । यसर्थ फाइनान्स कम्पनीहरुको अवस्था राम्रो छ । 

पुँजी बढाउन वित्त कम्पनीहरु पनि मर्जरमा गईरहेका छन्, वित्त कम्पनीहरु कति संख्यामा सीमित हुने आकलन गर्नुभाको छ ?

केही दिनयता नै कतिपय वित्त कम्पनीहरुले मर्जर गरेर कारोबार सुरु गरिसकेका छन् भने कतिपय प्रक्रिया वा पाइपलाइनमा छन् । त्यसैले अहिले कति कम्पनी छन् भन्ने अवस्था नै नरहेका बेला भविष्यमा यति होला भनेर भन्न सक्ने अवस्था देखिदैन । तर संख्या भने अहिलेको तुलनामा घट्ने छ । मर्जरपछि वित्त कम्पनीहरुको वित्तीय अवस्था अझै सुदृढ र सशक्त हुनेछ ।  

क र ख वर्गका संस्थाहरुले वित्त कम्पनीहरुको काम/कारोबार गर्न थालेपछि वित्त कम्पनीहरुको भूमिका खुम्चिएको भनिन्छ नि ?

खुला बजार नीतिमा विश्वास गर्ने हो भने ग्राहकलाई सन्तुष्ट बनाएपछि मात्रै व्यवसाय विस्तार सम्भव छ । यसर्थ कम्पनीले ग्राहकलाई दिने सेवा, सुविधा वा सन्तुष्टिले नै सो कम्पनीको भविष्य निर्धारण गर्ने हो । त्यसैले क, ख र ग वर्गका कम्पनीले एउटै काम गरिरहेका छन् भनेर कसैले हच्किनुपर्ने अवस्था छैन, हामी पनि हच्किएका छैनौँ । राष्ट्र बैंकले स्पष्ट रुपमा भनिदिएको छ, वाणिज्य बैंकहरुले विकास बैंकभन्दा अलि बढी काम गर्छन, विकास बैंकले फाइनान्सभन्दा अलि बढी काम गर्छन् । त्यसैले पनि क र ख लाई ग भन्दा प्रतिष्पर्धात्मक फाइदा आफ्नो ठाउँमा छ ।

तर क र ख संग तपाईहरुले कति लामो समयसम्म प्रतिष्पर्धा गर्न सक्नुहोला र ?

क र ख बैंकले हाम्रो काम गरेर हामीलाई असर पुग्ने कति पनि हैन । हामीले असर त्यतिबेलामात्रै पुग्ने जतिबेला हाम्रा ग्राहकहरुले हामीप्रति विश्वास गर्न छाड्नेछन् । फाइनान्स कम्पनीहरुको आफ्नै बजार छ, आफ्नै ग्राहकहरु छन् । फाइनान्स कम्पनीहरु त्यति सजिलै अहिलेको अवस्थामा आइपुगेका हैनन् ।बजारमा फाइनान्सको विश्वसनीयता कायम गर्न ठूलै संघर्ष भएको थियो । त्यति दुखका साथ फाइनान्स कम्पनीहरुले बजारमा आफुलाई विश्वसनीय संस्थाका रुपमा स्थापित गराएका छन् । जसका कारण यी संस्थाहरुको आफ्नै बजार र आफ्नै ग्राहकहरु छन् । जो बैंक तथा वित्तीय संस्थामा जान डराउँछन्, ती मानिसहरुलाई हामीले हाम्रो सर्कलमा लिएर आउँछौँ। हामीले ग्राहकलाई बैंकिङ गर्न सिकाउने हो । 

तपाईहरुले सिकाइसकेपछि उनीहरु फेरी बैंकतिरै जाने भए त ?

यदि हामीले उनीहरुलाई बैंकिङ सिकाइसकेपछि बैंकले लैजान्छ भने लैजाओस् हामीलाई कुनै आपत्ति भएन । हामीसंग बैंकिङ पहुँचभन्दा बाहिर रहेका थुप्रै ग्राहकहरु छन् । त्यसैले बैंकहरुले हाम्रा ग्राहक लगिदिए भन्ने कुरामा हामीलाई समस्या होइन । हामीले जुन ‘कोलाटेरल’ लिएर जति ‘एक्सपोजर’ दिएका छौँ, त्यही कोलाटेरलमा त्योभन्दा धेरै बढी एक्स्पोजरमा  ब्याजदर कम दिएर लैजानु चाहिँ ठूलो समस्या हो । 

भनेपछि क र ख वर्गका संस्थाले यहाँहरुको काम गरेपछि यहाँहरुको भूमिका खुम्चिएको भन्ने कुरामा यहाँ सहमत हुनुहुन्न ?

 विजनेश नै नभएका कारणले कुनै पनि वित्तीय संस्था विग्रेको छैन । त्यस्तै भन्ने हो भने त, अहिले भएका २८ वटा वाणिज्य बैंकमध्ये गूडविल फाइनान्सभन्दा पछि आएका १४ वटा कमर्सियल बैंक छन् । ती १४ वटा कमर्सियल बैंकको कुरा छाडौँ, १ देखि १० वटा कमर्सियल बैंकको रेटसंग पनि प्रतिष्पर्धा गर्न सक्दैन नि । त्यस हिसाबले हेर्दा त भएभरको विजनेश जति १ देखि १० नम्बरसम्मका कमर्सिल बैंकसंग हुनुपर्ने हो । तर त्यसो भने भएको छैन । सबैको आ–आफ्नो कार्यकुशलता छ, सबैको आ–आफ्नो बजार तथा ग्राहक छन् । त्यसैले हाम्रो भूमिका हामीसंगै छ । त्यसलाई खुम्चिएको भन्न मिल्दैन । बरु अझै विस्तार भएको हो । 
सुन्नमा त, अब क वर्गका संस्थाहरुमात्रै राख्ने गरी राष्ट्र बैकले तयारी गरिरहेको छ भन्ने आएको छ त?

राष्ट्र बैंकको एउटा तप्का नेपालमा क वर्गका संस्थाबाहेक अरुलाई राख्नुहुँदैन भन्ने पक्षमा देखिएको छ । तर त्यो घातक कुरा हो । जनताले ठूलो सास्ती झेल्नुपर्ने छ, त्यसो भएको अवस्थामा । अहिले अन्य संस्थाहरुले बैंकिङ पहुँच नभएको वर्गलाई जसरी समेटेको छ भोलि क वर्गका संस्थाले मात्रै उनीहरुलाई समेट्न सक्नेछैनन् । हाम्रो बजार, कार्यक्षेत्रलगायतका कुराहरु हेर्दा पनि त्यो सम्भव छैन । 

फाइनान्स कम्पनीहरुले धैरै ऋण चाहिँ अनुत्पादक क्षेत्रमा प्रवाह गरे भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?

अब यो आरोप पुरानो भईसक्यो । फाइनान्सले हायर पर्चेज ऋण सुरु गर्दा यो अनुत्पादक क्षेत्रमा लगानी भयो भन्ने आरोप लाग्थ्यो । अर्थतन्त्रलाई चलायमान गराउने पैसाले हो । त्यसका लागि कसैले न कसैले त दिनै पर्छ । त्यसबाट राज्यको कर बढिरहेको छ । हाम्रै लगानीका कारण व्यक्तिहरू सबल भई बैंकबाट ऋण लिन सक्ने भएका छन् । बैंकिङ क्षेत्रको मेसिनको मोटर बाणिज्य बैंक होला अरु पाटपुर्जा त डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनी नै हुन् । त्यसैले अनुपात्दक क्षेत्रमा ऋण बढ्यो भन्ने कुरा हुँदैन । 

१० वर्ष अघि फाइनान्सहरुको अवस्था र अहिले केही फरक छ ?

त्यति धेरै फरक केही छैन । तर राष्ट्र बैंकले ल्याउने नीतिहरुले केही सदृढ र बलिया कम्पनीका रुपमा वित्त कप्पनीहरु विकास हुँदै गएका छन् भन्न सकिन्छ । १० वर्षअघि कतिपय व्यक्तिका कारण बजारमा वित्त कम्पनीहरुको इमेज घटेको थियो, जसलाई हामीले सुधार गर्दै ल्याएका छौं । बल्ल हामी पुरानो अवस्थामा पुगेका छौं । पूरै बैंकिङ क्षेत्रको बजार एउटै भएकाले प्रतिस्पर्धाको कालमा छौँ हामी । यो बेला आफ्नो क्षेत्र कहाँ सुरक्षित गर्ने भन्ने अहिले फाइनान्स कम्पनीहरूको चुनौतीको विषय हो । सजिलो त हँुदैन तर पनि कसरी व्यापार बढाउने, वृद्धि गर्ने, बजारमा टिकाउने भन्ने आफैंले तय गर्ने हो ।

saroj-kaji-tuladhar

नेपाली अर्थतन्त्रमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय कम्पनीहरुको योगदानमा के फरक छ ?

बैंक तथा वित्तीय संस्थाहरुले नेपाली अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान गरेका छन् । तर यीमध्ये घ वर्गका संस्थाहरुले नेपालको ग्रामिण क्षेत्रको जीवनस्तर उकास्न र ग्रामिण विकासको क्षेत्रमा राम्रो योगदान गरेका छन् । त्यस्तै ख वर्गका एक जिल्ले, दुई जिल्ला वा दश जिल्ले विकास बैंकहरुले पनि ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन निकै महत्वपूर्ण योगदान दिएका छन् । यसर्थ ख वर्गका क्षेत्रीय स्तरका बैंक र घ वर्गका संस्थाहरुले तल्लो स्तरबाटै मुलुकको विकासमा योगदान पुर्याइरहेका छन् ।  

बैंक तथा वित्तीय संस्थाको सुदृढिकरणका लागि राष्ट्र बैंकले ल्याएको पछिल्लो मौद्रिक नीति कस्तो लाग्यो ?

चालु आर्थिक वर्षको लागि जारी मौद्रिक नीति अलि ‘बैंक फ्रेन्ड्ली’ छ । मौद्रिक नीतिमा आएको ब्याजदर करिडोरले वाणिज्य बैंकहरुले निकै फाइदा पुर्याएको छ । मौद्रिक नीतिले वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नुपर्ने गरी व्यवस्था ल्याएपछि वाणिज्य बैंकहरुले त्यसमा असहमति जनाए । स्मरण गर्नुपर्ने कुरा के छ भने, हामीले राष्ट्र बैंकसंग इजाजत लिँदा प्रतिवद्दता जनाएका हुन्छौँ, ‘तपाईहरुले जे जे सर्त राख्नुहुन्छ ती सर्तहरु मानेर हामी अघि बढ्ने छौँ ।’ त्यसैले राष्ट्र बैंकले ल्याएको नीतिलाई मान्दैनौँ भन्ने कुरा ठीक होइन । नीति आउने वित्तिकै आत्तिएर हामी गर्नै सक्दैनौँ भन्नुभन्दा एक वर्ष प्रयास गरेर त हेर्नुपर्छ । के कमर्सिल बैंकको काम भनेको वित्त कम्पनीले बनादिएका ग्राहकलाई मात्रै तान्ने हो र ? हैन भने देश विकासमा त योगदान दिनुपर्यो नि । 

लघुवित्त कम्पनीहरुको स्प्रेड दर सात प्रतिशतमा सीमित गरिएको छ, उनीहरुले यसमा असन्तुष्टि जनाइरहेका छन् के साँच्चै गार्हो हुन्छ उनीहरुलाई यो रेटमा काम गर्न ?

सात प्रतिशतमा काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा समयले बताउने कुरा हो । स्प्रेड निकै उच्च भयो भन्ने कुरा उठेको हो । तर मेरो विचारमा सात प्रतिशतमा काम गर्न अलि गार्हो नै हुन्छ । किनभने बैंकहरुभन्दा लघुवित्त कम्पनीहरुलाई काम गर्न निकै कुराको चुनौति हुन्छ । उनीहरुको अपरेटिङ कस्ट अलि बढी हुन्छ । त्यसैले पनि सात प्रतिशतमा केही हेरफेर गर्नुपर्छ जस्तो लाग्छ मलाई । 

तपाईको विचारमा नेपालको अर्थतन्त्रलाई माथि उकास्न के गर्नुपर्ला ?

विकासका लागि पहिलो प्राथमिकतामा आर्थिक मुद्धा हुनुपर्छ । तर हामीकहाँ अहिले राजनीति नै पहिलो प्राथमिकतामा देखिन्छ । जबसम्म आर्थिक विकासलाई पहिलो प्रथामिकतामा राखिदैन त्यतिबेलासम्म अर्थतन्त्र मतबुत हुन सक्दैन । त्यसैले अर्थतन्त्रलाई माथि उकास्ने नै हो भने आर्थिक क्षेत्रमा योगदान गरिरहेकालाई अझै प्रोत्साहन गर्नुपर्छ । राष्ट्रलाई फाइदा पुर्याइरहेका व्यवसायी तथा करदाताहरुलाई सम्मान गर्नुपर्छ । राज्यले व्यवसायीलाई ठग्नकै लागि आएका हुनजस्तो गरी हेर्नुहुँदैन । हो, गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ तर जसले उद्यमशीलतामार्फत राष्ट्रलाई इमान्दारिताका साथ कर तिरेको छ त्यस्ता व्यवसायीप्रति राज्य उदार हुनुपर्छ । फेरी पनि त्यही दोहोर्याउन चाहान्छु, देश विकास गर्नका लागि आर्थिक एजेण्डालाई चाहिँ पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । 

दसैँको अवसरमा विभिन्न संस्थाहरुले स्कीमहरु ल्याइरहेका छन्, गूडविल फानाइन्सले के ल्याउँदैछ ?

यही हप्ता हामी इलाम जिल्लाको फिदिम र इलाममा नयाँ शाखा विस्तार गर्दैछौँ। त्यहीँ नै गूडविल फाइनान्सको दसैँ उपहार हो । 

विभिन्न कम्पनीहरु पुँजी वृद्धि गर्नका लागि मर्जरमा गईरहेका छन् ।यहाँहरुले चाहिँ पुँजी वृद्धिका लागि कुनै योजना बनाउनुभएको छैन ?

अनौपचारीक रुपमा हामी केही कम्पनीहरुसंग छलफल गरिरहेका छौँ । यही असोज २० गते हुने हाम्रो एजिएमपछि २५ प्रतिशत बोनश सेयर दिन्छौँ । त्यसपछि ६० प्रतिशत हकप्रद सेयर दिन्छौँ । हकप्रद सेयर दिएपछि हाम्रो ७२ करोड ६० लाखको पुँजी हुन्छ । त्यसमा यसपालीको मुनाफा जोड्दा हामी ८० करोडमा पुग्छौँ । तर यति मै हामी सीमित हुँदैनाँै । हामी अझै पुँजी वृद्धिको लागि अन्य प्रयासमा पनि छौँ । 

दसैँ आइसक्यो तपाईको योजना चाहिँ के छ त ?

पहिलाकै जस्तो, घरमा सबै परिवार, आफन्तसंग भेटघाट गर्ने र विदाको मज्जा लिने हो । व्यस्त समयबाट छुट्कारा, आफन्तसंगको भेटघाटलगायतका कुराले पनि दसैँ पर्व रमाइलो लाग्छ । त्यसैले विदालाई सदुपपयोग गरी रमाईलो गरी मनाउने हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]