Wednesday , January 17 2018

बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव

September 20, 2017

ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले वि.सं. २०६४ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई स्याङ्जा जिल्लाबाट ३ जिल्ले विकास बैंकको रुपमा बैंकिङ कारोबार शुरु गरेको गरिमा विकास बैंक अहिले एक अब्बल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित भइसकेको छ । स्याङ्जाबाट पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकको चुक्ता पूँजी अहिले दुई अर्ब २० करोड रुपैयाँभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेअनुसारको दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी गरिमाले बोनस सेयर जारी गरेर सहजै पुर्याउने देखिएको छ । निलगिरी र शुभेच्छा विकास बैंकलाई गाभेर बलियो विकास बैंक बन्न सफल भएको यस बैंकको स्याङ्जादेखि पोखरा हुँदै काठमाडौंसम्मको यात्रा लगायतका बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालसँग बैंकिङ खबर डटकमका सञ्चालक एवं प्रधान सम्पादक माधव निर्दोषले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

स्याङ्जाबाट शुरु भएको गरिमा विकास बैंकको प्रधान कार्यालय काठमाडौं सार्नुभएको छ, काठमाडौँ सरेपछिको कारोबार कस्तो भइरहेको छ ? पोखरा र काठमाडौँमा के भिन्नता पाउनुभयो ?
ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले वि.सं. २०६४ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई स्याङ्जा जिल्लाबाट ३ जिल्ले विकास बैंकको रुपमा गरिमा विकास बैंकको कारोबार शुरु भएको थियो । पछि १० जिल्ला कार्यक्षेत्र बनाएर स्याङ्जाबाट पोखरामा स्थानान्तरण भएको थियो । त्यसपछि म्याग्दीको निलगिरी विकास बैंकलाई मर्ज गरेर हामी राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भयौं । पुनः शुभेच्छा विकास बैंकलाई मर्ज गरेर गत चैत्र २७ गतेदेखि हामीले प्रधान कार्यालय काठमाडौँमा स्थानान्तरण गरेका हौँ । प्रधान कार्यालय काठमाडौँ आउनुभन्दा पहिले हामीले काठमाडौँको सामाखुसीमा शाखा कार्यालय स्थापना गरिसकेका थियौँ । त्यसपछि चावहिल र कलंकीमा शाखा खोल्यौँ । प्रधान कार्यालय परिसर लाजिम्पाटमा पनि हाम्रो शाखा छ । अब एकसाताभित्र न्यूरोडमा पनि हामीले शाखा खोल्दैछौँ । काठमाडौं आइसकेपछि छोटो समयमा नै हामीले निक्षेप संकलनमा राम्रो प्रगति गरेका छौँ । काठमाडौैंको ४ वटा शाखाबाट हामीले १ अर्ब ७५ करोडको निक्षेप संकलन गरेका छौँ । भ्यालीभित्र लगानीमा हामीले अलि ध्यान दिएका छौँ ।  भ्याली बाहिर पनि हामीले राम्रै लगानी गरेका छौं । काठमाडौं आएपछि हामीलाई कुनै त्यस्तो गाह्रो भएको छैन ।

पूर्वाञ्चलतिरको यात्रा कहिलेबाट कुन ढंगले शुरु हुन्छ ?
हामी राष्ट्रिय स्तरको विकास बैंक भएको कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शाखा सञ्जाल विस्तार लक्ष्य लिएका छौँ । सकेसम्म पूर्वका बैंक वित्तीय संस्थासँग मर्जर गरेर जाने सोच बनाएका थियौँ । तर, अहिलेसम्म कुनै बैंक वित्तीय संस्थासँग मर्ज गर्ने सहमति हुन सकेको छैन । तत्कालै पूर्वका झापा, मोरङ र सुनसरीमा १० वटा शाखासहित क्षेत्रीय कार्यालय स्थापना गर्ने योजना भने अघि बढाइसकेका छौँ । आगामी २÷३ महिनाभित्रै यो काम सक्ने गरी हामीले कार्ययोजना बनाएका छौँ । साथसाथै पश्चिममा नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा पनि शाखा विस्तार गर्नेछौँ । अहिले हाम्रो ५० वटा शाखा कार्यालयहरु छन् । आगामी पुष महिनाभित्रै थप १५ वटा शाखा सञ्चालनमा ल्याउने हाम्रो योजना छ । त्यसपछि गरिमाको उपस्थिती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्नेछ ।

भनेपछि, गरिमालाई राष्ट्रिय स्तरको विकास बैंकका रुपमा काम गर्न कुनै त्यस्तो अवरोध छैन ?
हामीलाई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गर्न अहिले कुनै पनि त्यस्तो समस्या छैन । हामीलाई कति छिटो सञ्जाल विस्तार गर्ने भन्ने मात्रै समस्या छ । राष्ट्र बैंकको पूँजी वृद्धिको योजना अनुसार हामीलाई पूँजी पुर्याउन पनि कुनै त्यस्तो समस्या छैन । अहिले गरिमाको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ रहेको छ । यसपाली गत आर्थिक बर्षको मूनाफाबाट ३० करोड रुपैयाँको लाभांश वितरण गर्दैछौँ । त्यसपछि हाम्रो चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढी हुनेछ । त्यसैले, समग्र बैंक तथा वित्तीय संस्थामा भएका समस्या केहि होलान् तर, गरिमालाई तत्काल अन्य कुनै समस्या छैन ।

तीन जिल्ले विकास बैंकको रुपमा स्थापना भएर राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल हुनु भएको छ, आगामी दिनमा वाणिज्य बैंक बन्ने योजना पनि छ कि ?
बैंकको संस्थापक सेयर होल्डर, बैंक व्यवस्थापन कर्मचारी सबैको सोचाई वाणिज्य बनाउनुपर्छ भन्ने छ । हामी छोटो समयमा राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएका छौँ । अहिले हामी विकास बैंकहरुमध्ये अग्रणी भूमिकामा नै छौँ । हाम्रा सञ्चालकज्यूहरुको धारणा वाािणज्य बैंक बनाउने नै छ । अध्यक्षज्यूले विभिन्न कार्यक्रममा मन्तव्य दिने क्रममा पनि यस्तो धारणा व्यक्त गर्नुभएको छ । हामीले संरचना निर्माणमा पनि वाणिज्य बैंक बनाउने सोचले नै अघि बढेका छौँ । हाम्रो अन्तिम लक्ष्य भनेको वाणिज्य बैंक बन्ने नै हो ।

गरिमा विकास बैंक एग्रेसिभ देखियो, यो कसरी सम्भव भयो ?
एग्रेसिभभन्दा पनि आजको आवश्यकता अनुसार गरिमा विकास बैंक अघि बढेको छ । जुन किसिमले पूँजी वृद्धि भयो त्यहि तरिकाले विजनेश वृद्धि गर्न एग्रेसिभ कार्यक्रमहरु, शाखा विस्तार लगायतलाई वृद्धि गर्नु हाम्रो दायित्व रहन्छ । तर, चुक्तापुँजी चार गुणाले वृद्धि हुँदा चारै गुणाले विजनेश बढाउन सकिँदैन । हाम्रा कार्यक्रमहरु एग्रेसिभ भए पनि हामीले कन्ट्रोल गर्न सक्ने मात्रै छन् । हाम्रा कार्यक्रमहरुलाई हामीले आफ्नो नियन्त्रणभित्र राख्न सकेका छौँ । संस्थापक, सञ्चालक, कर्मचारी, सेयर होल्डर सबैबीच राम्रो समन्वयन हुने गरेको छ । हामी एग्रेसिभभन्दा पनि कन्ट्रोल गर्न सकिने गरी स्पिडमा छौँ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउनका लागि वाािणज्य बैंक मात्र नभएर विकास बैंकलाई पनि पठाइने भएको छ । तपाईँ डेभलपमेन्ट बैंकर्स एशोसियसनको उपाध्यक्ष समेत हुनुहुन्छ,  एशोसियसनले बैंकिङ पहुँच नपुगेका ठाउँमा बैंकिङ पहुँच पुर्याउन कस्तो योजना ल्याएको छ ?
विकास बैंकहरुको संख्या ९२ बाट ३९÷४० मा झरिसकेको छ, तर शाखा संख्या बढेको छ । पछिल्लो समय केहि वाणिज्य बैंकहरु ग्रामिण भेगमा पुगेको हामीले देखेका छौँ । तर, ती ग्रामिण भेगका जनतालाई बैंकिङ कारोबारबारे चेतना फैलाउने भनेको विकास बैंक नै हो । हरेक विकास बैंकहरुले ग्रामीण भेगदेखि  शहरसम्म हिजो पनि सेवा प्रदान गरेका थिए र अहिले पनि गरिरहेका छन् ।

संघीय संरचनामा निर्माण भएका स्थानीय तहमा सरकारले वाणिज्य बैंकलाई मात्रै पठाउने भनिए पनि राष्ट्र बैंकको पहलमा अहिले विकास बैंकलाई पनि पठाउने भनिएको छ । कतिपय स्थानीय तहमा हाम्रा शाखा पुगिसकेका छन् । सरकारको नीतिको पालना गर्दै ग्रामीण भेगमा शाखा विस्तार गर्न विकास बैंक तयार छन् । तर शाखा विस्तार गर्नका लागि बाटो, बत्ति, इन्टरनेट, सुरक्षा जस्ता न्युनतम् भौतिक पूर्वाधारको भने व्यवस्था गर्नुपर्छ । पूर्वाधार नभएको ठाउँमा वाणिज्य बैंक नगएर विकास बैंक जाने भन्ने चाहिँ हुँदैन । अहिले वाणिज्य बैंकहरु र विकास बैंकहरुबीच एलसी, बैंक ग्यारेन्टी लगायत केही कुराहरुबाहेक खासै केहि फरक देखिँदैन । विकास बैंकहरुको चुक्तापुँजी पनि हिजोका वाणिज्य बैंकहरुको जति पुगिसकेको छ । नेटवर्किङको हिसाबले त वाणिज्य बैंक भन्दा हामी अगाडी छौं । जुन बैंक भए पनि राज्यले हेर्ने दृष्टिकोण एउटै हुनुपर्छ । सबै बैंकहरुलाई आआफ्नो क्षेत्रमा प्राथमिकता दिनुपर्छ । वाणिज्य बैंक जान नसकेको ठाउँमा विकास बैंक पनि जाँदैन । वाणिज्य बैंकलाई जुन पूर्वाधार चाहिन्छ, त्यो विकास बैंकलाई पनि चाहिन्छ ।

उत्पादनमूलक क्षेत्रमा विकास बैंकहरुको लगानीको अवस्था कस्तो छ ? यो क्षेत्रमा लगानी बढाउनका लागि के गर्नुपर्ला ?
म उत्पादनशील क्षेत्रमा लगानी गर्छु भनेर आउने मान्छेलाई बैंकले रोकेको जस्तो लाग्दैन मलाई । उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहनेलाई त्यही किसिमको वातावरण राज्यले पनि बनाईदिनुपर्छ । यहाँका जुनसुकै क्षेत्रका उद्यागीहरु छिमेकी मुलुक भारतका उद्योगीहरुसँग प्रतिष्पर्धा गर्न सक्ने छैनन् । हाम्रो तराईमा तरकारी खेति हुन्छ । तर, हाम्रोमा भन्दा भारतबाट ल्याएको तरकारी सस्तो हुन्छ । यस विषयमा सरकारले ध्यान दिनुपर्छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंकहरु तयार छन् । तर भाषणमा, किताबमा, नारामा आएका कुराहरु जस्तो त्यति सजिलो भने छैन । ग्रामीण भेगका हाम्रा शाखाहरुमा पशुपालन, तरकारी खेती लगायतका लागि कर्जाको माग नै आउँदैन । यस्तो अवस्थामा, बैंकले कृषिमा लगानी गर्ने भनेर पैसा बाँड्दै हिँड्ने कुरा पनि भएन । बजार, सडक लगायतको अभावका कारण आफैँ उत्पादन गर्ने उद्देश्यले बैंकमा कर्जा माग गर्ने ग्राहक नै आउँदैनन् । यस्तै समस्याबाट विमुख भएर धेरै युवाहरु विदेश पलायन भएको उदाहरणहरु हामीसँग प्रशस्तै छन् । यसका लागि बैंक पनि उत्तिकै सक्रिय हुनुपर्छ । तर, सँगसँगै राज्यले पनि बजार, सडक लगायतका आवश्यकताको परिपूर्तिमा ध्यान दिनुपर्छ ।  

बैंक सञ्चालनका लागि नेपालमा चुनौतीहरु के–के छन् ?
बैंकिङ क्षेत्रमा मूख्य चुनौती भनेको दक्ष जनशक्तिको अभाव हो । हामीले विभिन्न ठाउँमा शाखा विस्तार गर्दा यस्ता समस्या देखा पर्ने गरेका छन् । अर्को कुरा प्रतिष्पर्धा पनि एउटा चुनौती हो । तर यसलाई चुनौती भन्दा पनि अवसरको रुपमा लिनुपर्छ । त्यस्तै, बैंकहरुको पुँजी त बढाइयो, तर व्यवसाय वृद्धिका लागि त्यत्ति अवसरहरु छन् जस्तो मलाई लाग्दैन । बैंकहरुले लगानी गर्न खोजे पनि उपयुक्त ठाउँ नभएको अवस्था छ ।

पूर्वाधार विकास बैंक दर्ता प्रक्रियामा छ, यसमा गरिमा बिकास बैंकको सहभागीता हुने सम्भावना कत्तिको छ ?
पूर्वाधार विकास बैंकमा सबै बैंक, वित्त तथा बीमा कम्पनीहरुले समेत लगानी गर्न पाउने भन्ने कुरा छ । यसमा सबैले लगानी गर्छन् होला । गरिमा बिकास बैंकको पनि यसमा लगानी हुने सम्भावना बढी छ ।

मुलुकमा धेरै आन्दोलनहरु भए । राजनीतिक परिवर्तन भए । तर, अपेक्षाकृत विकास हुन सकेको छैन । तपाईको विचारमा के भइदियो भने मुलुकको आर्थिक विकास हुन्छ ?
बैंकका कर्मचारीलाई राजनीतिक कुरा अलि गाह्रो छ । राजनीतिक आन्दोलनपछि मुलुकमा धेरै परिवर्तनहरु भएका छन् । तर राज्य र राज्यको नीति बनाउने व्यक्तिहरुले राजनीतिक परिवर्तनहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पहिले नै विचार पुर्याएको हुनुपथ्र्यो । उदाहरणका लागि, अहिले मुलुकमा संघीयता आएको छ । तर, यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नसोचेका कारण अझै पनि यसको सफल कार्यान्वयन हुने कुरामा शंका छ । नेता स्वयम्लाई पनि यो द्धिविधा छ, किनकि उनीहरुले पूर्वतयारी नै गरेका छैनन् । संघीयतालाई नीतिगत रुपमा स्पष्ट पारिएकै छैन । बैंकहरुको तर्फबाट भन्नुपर्दा, हिजो संघीयता नआउँदा पनि हामीले उत्पादनशील क्षेत्रमा लगानी गरेका थियौँ । संघीयता आइसकेपछि पनि बैंकहरु लगानी गर्न तयार छन् । बैंकले कसरी लगानी गर्ने भन्ने गाइडलाईन राज्य पक्षबाट आयो भने पनि बैंकहरु तयार छन् ।

यसबाहेक, अहिले मुलुुकको आर्थिक समस्या भनेको युवाहरुको विदेश पलायन हो । अहिले गाउँमा गयो भने युवा भेट्न मुस्किल छ । हामीलाई अहिले छिटो पैसा कमाउनु परेको छ । छिटो धनी हुनु परको छ, यसले पनि समस्या उत्पन्न भएको छ । जनतामा म कुनै क्षेत्रबाट दीर्घकालिन रुपमा कमाउँछु र त्यसबाट म राज्यलाई यति दिन्छु भन्ने खालको सकारात्मक भावना पनि देखिएको छैन । यस्तो खाले शिक्षा अब पाठ्यक्रममा नै समावेश गरेर स्कुल लेभलदेखि नै सिकाउनुपर्छ ।  

अन्तमा, डेभलपमेन्ट बैंकर्स एशोसियसनको तर्फबाट केहि भन्न चाहानु हुन्छ कि !
सर्वप्रथम त म बैंकिङ खबर डटकमको टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु । हामीले बैंकिङ खबर अनलाईन मार्फत धेरै कुराहरु सिक्ने, बुझ्ने मौका पाएका छौं । बैंकिङ खबरले विकास बैंकहरुका कुरा, भावना सर्वसाधारणसम्म पुर्याउँछ, यसका लागि पनि बिशेष धन्यवाद ।

एशोसियसन र बैंकिङ खबर सँग–सँगै हुनुपर्छ । अहिले जुन किसिमको सहयोग भइरहेको छ, आगामी दिनमा पनि यस्तो सहयोग भइरहन्छ भन्ने मैले विश्वास लिएको छु । कसैको कमिकमजोरी, गलत काम छन् भने त्यसलाई बाहिर ल्याउनैपर्छ, जसको कारणबाट थप दुर्घटना हुँदैन । एशोसियसनमा आवद्ध सम्पूर्ण बैंकहरु अहिले संस्थागत सुशासनमा बसेर अगाढी बढेका छन् । हामीले असल नियत राखेर काम गर्यौँ भने सफल हुन्छौँ । यसका लागि म सबैलाई आग्रह गर्न चाहान्छु ।

अर्को कुरा बैंकहरुका नकरात्मक कुराहरु बाहिर ल्याउदा पत्रकारले अलि ध्यान दिनु पर्छ । बैंकसँग एउटा पव्लिक जोडिएको हुन्छ, उसको निक्षेप जोडिएको हुन्छ । सानो कुराले गर्दा ठूलो दुर्घटना हुन सक्छ । त्यसैले, समाचार सम्प्रेषण गर्दा अलि ध्यान पुर्याउनुहुन अनुरोध गर्दछु ।

 

 

 

 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *