November 2nd, 2021

बैंकहरूले ३ महिनामा कमाए १८ अर्ब

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकले कुल १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा करिब २४ प्रतिशत बढेको हो । २०७७ असोजमा ती बैंकको कुल नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो । २०७६ असोजको तुलनामा २०७७ को सोही अवधिमा बैंकहरूको खुद नाफा ६ प्रतिशत घटेको थियो ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिन थालेको थियो । सोही कारण केही बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा समस्या पर्न थाल्यो । तर अर्थतन्त्रमा सुधारसँगै आर्थिक गतिविधि बढेकाले कर्जा माग बढेको छ । कर्जा माग बढेपछि तरलता अभावबीच पनि बैंकहरूको खुद नाफा उत्साहजनक रूपमा बढेको जानकारहरू बताउँछन् ।
 
गएको तीन महिनामा बैंकहरूको व्यवसायको आकार धेरै बढेकाले नाफामा पनि वृद्धि देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ । ‘अहिलेको तीव्र प्रतिस्पर्धाको बजारमा बैंकहरूले व्यवसायको आकार धेरै बढाएका छन् । यही कारण केही मात्रामा नाफा बढाउन सम्भव भएको हो,’ उनले भने, ‘यसकारण पनि नाफामा सुधार भएको हुन सक्छ ।’ गत असोज मसान्तसम्म तरलता संकट धेरै नभएको र त्यतिबेला एक/दुई बैंकले मात्र कर्जा रोकेकाले वित्तीय विवरणमा तरलताको असर देखिइनसकेको उनले बताए । ‘तरलता अभावको असर बल्ल देखिन थालेको छ,’ उनले थपे ।

गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँसहित एनआईसी एसिया बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकको पहिलो नम्बरमा परेको छ । धेरै नाफा आर्जन गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । यो बैंकको खुद नाफा १ अर्ब ११ करोड छ । १ अर्ब ११ करोड कमाएर ग्लोबल आईएमई बैंक तेस्रो, १ अर्ब ५ करोड रुपैयाँ कमाएर राष्ट्रिय वाणिज्य बैंक चौथो र १ अर्ब ४ करोड रुपैयाँ मुनाफा गरेर एनएमबी बैंक पाँचौं नम्बरमा छन् । पहिलो त्रैमासमा उल्लिखित ५ बैंकले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । बाँकी बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म चारवटा बैंकले मात्र एक अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका थिए ।

पहिलो त्रैमासमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक बैंक अफ काठमान्डू बनेको छ । तीन महिनामा यो बैंकको खुद नाफा २५ करोड ३४ लाख रुपैयाँ मात्र छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको स्प्रेड (कर्जा निक्षेपबीचको ब्याज अन्तर) भने एक प्रतिशत बिन्दुभन्दा धेरैले खुम्चिएको देखिन्छ । तथ्यांकअनुसार गत असोजमा बैंकहरूको स्प्रेड औसत ३.२४ प्रतिशत थियो । गत आर्थिक वर्षको सोही अवधिमा यो दर ४.३५ प्रतिशत थियो । तीन महिनामा बैंकहरूको ब्याज आय करिब साढे १२ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा २७ वटा बैंकको कुल ब्याज आय ९३ अर्ब २ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ७० करोड रुपैयाँ थियो ।

 
आर्थिक वर्षको सुरुमै बैंकहरूको कर्जा विस्तार तीव्र गतिले भएको देखिन्छ, जसअनुसार पहिलो त्रैमासमा बैंकहरूको कर्जा वृद्धिदर करिब ३२ प्रतिशत छ । यो राष्ट्र बैंकले तय गरेको कर्जा विस्तारको वार्षिक लक्ष्यभन्दा बढी हो । सोही अवधिमा बैंकहरूको निक्षेप संकलन करिब १७ प्रतिशत मात्र बढेको देखिन्छ । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार तीव्र भएकाले वित्तीय प्रणालीमा तरलता अभाव रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

सोमबार एक अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीका कारण सुस्ताएको अर्थतन्त्र केही महिनायता तीव्र गतिको लयमा फर्किंदा वित्तीय प्रणालीमा तरलतामा अभाव देखिएको बताए । आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा बैंकहरूको कर्जा विस्तार शून्य बराबर रहेकामा अहिले अर्थतन्त्र फेरि लयमा फर्किंदा कर्जा माग अत्यधिक बढेकाले तरलतामा चाप परेको उनको भनाइ थियो ।

‘गत साउनको तेस्रो साताबाट आर्थिक गतिविधि लयमा फर्किन थाले । अघिल्लो वर्षको पोलिसी इन्टरभेन्सनपछिको रिकभरी सुरु भयो,’ अधिकारीले भने, ‘सरकार र राष्ट्र बैंकको नीति तथा व्यावसायिक समुदायको जागरुकताका कारण अर्थतन्त्र पुनरुत्थान (रिकभरी) को गति अत्यन्त राम्रो भयो । फलस्वरूप कर्जाको माग बढेको हो ।’

राष्ट्र बैंकका अनुसार गत साउनदेखि आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । सोही अवधिमा कुल निक्षेप ६० देखि ७० अर्ब हाराहारीमा मात्र छ । ‘उक्त अवधिको कुल कर्जा विस्तारमध्ये ५० प्रतिशतभन्दा बढी आयात प्रवाह भएको छ,’ उनले भने, ‘यो डरलाग्दो अवस्था हो । अब सो क्षेत्रमा कर्जा विस्तार कम गरेर उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्छ ।’

अहिले थप कर्जा विस्तारका लागि बैंकहरूलाई समस्या भए पनि कर्जा रोक्नुपर्ने अवस्था आउन नदिने अधिकारीले बताए । ‘अनुत्पादक क्षेत्रमा कर्जा रोक्नुस्, आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नुस् । राष्ट्र बैंकले बजारमा स्रोत अभाव हुन नदिने वातावरण बनाउँछ ।’ गएका महिनाहरूमा दिन नहुने क्षेत्रमा पनि बोलाइ–बोलाइ कर्जा दिएकाले तरलता अभाव भएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]