September 29th, 2021

तरलता अभाव भनिए पनि १४ दिनमा ६० अर्ब ऋण प्रवाह

यज्ञ बञ्जाडे / वित्तीय प्रणालीमा अधिक तरलता अभाव हुँदाहुँदै बैंकहरूले कर्जा विस्तार तीव्र पारेका छन् । गएका १४ दिनमा बैंकबाट करिब ६० अर्ब रुपैयाँ थप ऋण प्रवाह हुनुले पनि त्यसलाई पुष्टि गर्ने जानकारहरू बताउँछन् ।

पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूले मात्र ५९ अर्ब रुपैयाँभन्दा बढी थप कर्जा विस्तार गरेको राष्ट्र बैंकको तथ्यांक छ । यसअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ३९ खर्ब ३ अर्ब रुपैयाँ छ । गत भदौ २५ सम्म यस्तो कर्जा ३८ खर्ब ४४ अर्ब रुपैयाँ थियो । सोही अवधिमा (दुई सातामा) वाणिज्य बैंकहरूले थप ३५ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् ।
 
चालु आर्थिक वर्षको करिब साढे दुई महिना (साउनदेखि असोज पहिलो सातासम्म) वाणिज्य बैंकहरूले १ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा बैंकहरूले प्रवाह गरेको कुल कर्जाभन्दा बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूले कुल १ खर्ब ३२ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका थिए ।

एकातिर तरलता अभाव भएको भन्दै बैंकहरूले राष्ट्र बैंकबाट ठूलो परिमाणमा अल्पकालीन सापटी लिने र अर्कोतिर तीव्र रुपमा कर्जा विस्तार गर्ने ? यो कसरी सम्भव भयो ? बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘बैंकहरूसँग कर्जा दिन पैसा नभएको होइन । अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्न मात्र पैसा नभएको हो । अहिले पनि बैंकहरूसँग करिब १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिन मिल्ने रकम छ ।’ राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.१६ प्रतिशत छ । यही तथ्यांकका आधारमा पनि बैंकहरूसँग अझै औसतमा २ प्रतिशत कर्जा दिन सक्ने क्षमता रहेको उनले बताए । ‘सीडी अनुपात ९० प्रतिशतभन्दा धेरै भएका केही बैंकलाई भने थप कर्जा विस्तारमा समस्या भएको हुन सक्छ,’ उनले भने, ‘अपवादबाहेक अझै पनि बैंकहरूलाई कर्जा प्रवाह रोक्नुपर्ने अवस्था छैन ।’

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको न्यूनतम ३ प्रतिशत रकम सीआरआरबापत राख्नुपर्छ । यो रकम हरेक बैंकले राष्ट्र बैंकमा खाता खोलेर राख्नुपर्छ । यो ब्याज नआउने रकम हो । यस्तो मौज्दात कुनै दिन ३ प्रतिशतभन्दा कम भए राष्ट्र बैंकले कारबाही गर्छ । निक्षेप अपेक्षित रुपमा नबढेकाले सीआरआर कायम गर्न बैंकहरूलाई समस्या भएको दाहालको भनाइ छ । ‘हाल धेरै बैंकले निर्देशित सीआरआर कायम गर्न र केहीले कर्जा प्रवाहका लागि पनि राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्,’ उनले थपे, ‘सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ लिन पाइने भएकाले बैंकहरूलाई समस्या छैन ।’

एसएलएफ बढीमा एक साताका लागि मात्र लिन पाइने भएपनि जतिपटक पनि नवीकरण गर्न सकिने भएकाले अप्ठेरो नहुने उनले बताए । केही महिना यात वित्तीय प्रणालीमा देखिएको अधिक तरलता समस्या अल्पकालीन भएको र कात्तिक देखि सहज हुने उनको अनुमान छ । ‘सरकारी खर्च विस्तारै बढ्दै गएको, रेमिट्यान्स बढ्न थालेको र पुनर्कर्जामार्फत राष्ट्र बैंकबाट करिब ९० अर्ब रुपैयाँ बजारमा आउन लागेको लगायत कारण कात्तिकदेखि बैंकिङ प्रणालीमा तरलता सहज हुने देखिन्छ,’ उनले भने ।

मैद्रिक नीतिमार्फत राष्ट्र बैंकले कर्जा निक्षेप र पुँजी अनुपात (सीसीडी) खारेज गरेर सीडी अनुपातको व्यवस्था ल्यायो । गत असारसम्म बैंकले आफ्नो कुल निक्षेपमा पुँजी पनि जोडेर आउने रकमको बढीमा ८५ प्रतिशतसम्म कर्जा दिन पाउँथे । मौद्रिक नीति लागू भएपछि निक्षेपको ९० प्रतिशत मात्र कर्जा दिन पाइन्छ । त्यसमा पुँजी जोड्न पाइँदैन । यसअघि सीसीडी कायम रहँदा बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा प्रवाह गरेको ऋणलाई कर्जा प्रवाहमा गणना गर्नु नपर्ने व्यवस्था थियो । अहिले सीडी अनुपातमा विदेशी मुद्रामा प्रवाह भएको कर्जा पनि गणना गर्नुपर्छ । यही कारण पहिलेको तुलनामा अहिले बैंकको कर्जा दिने क्षमतामा कमी आएको पूर्वबैंकर तथा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले बताए ।

‘गत आर्थिक वर्षमा लक्ष्यभन्दा झन्डै ८ प्रतिशत बढी कर्जा विस्तार भयो,’ उनले भने, ‘त्यतिबेलादेखि नै कर्जा र निक्षेपबीच सन्तुलन बिग्रिन थालेको हो । अहिले पनि त्यसकै असर वित्तीय प्रणालीले भोगिरहेको छ ।’ त्यसैले अहिले धेरै बैंकको कर्जा प्रवाह क्षमतामा कमी आएकाले बैंकहरूको सीडी अनुपात गणनामा राष्ट्र बैंकले केही खुकुलो नीति बनाएर समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । अन्यथा बैंकहरूमा निक्षेप खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा चल्ने उनको भनाइ छ ।

बैंकहरूले कर्जा दिन सक्ने क्षमता कायमै रहेको बताइरहे पनि रहेक दिन राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिइरहेका छन् । यो तरलता अभावकै संकेत भएको जानकारहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थामा तरलता दबाबमा रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको भनाइ छ । ‘सरकारी खर्च निकै कम मात्र भएको छ, निक्षेप धेरै बढ्न सकेको छैन । तर, कर्जा माग बढेको छ,’ उनले भने, ‘यही कारण बैंकहरूले रिपो र एसएलएफमार्फत अल्पकालीन कर्जा सापटी लिइरहेका छन् ।’ आइतबारसम्म वित्तीय प्रणालीमा २२ अर्ब ७२ करोड रुपैयाँ अधिक तरलता रहेको उनले जानकारी दिए । यो सीआरआरबाहेकको रकम हो । सोही अवधिमा अन्तर बैंक ब्याजदर करिब ५ प्रतिशत छ । अन्तर बैंक सापटी पाउन छाडेपछि बैंकहरूले राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिइरहेका छन् ।

बजारमा अधिक तरलताको अवस्था र बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट रिपो र एसएलएफमार्फत लिएको सापटी तुलना गर्दा केही महिनायता अधिक तरलताको अवस्था ऋणात्मक छ । बजारमा रहेको अधिक तरलताको तुलनामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिएको अल्पकालीन सापटी बढी रहेकाले यस्तो देखिएको हो । सोमबार मात्र बैंक तथा वित्तीय संस्थाले एसएलएफमार्फत करिब १७ अर्ब रुपैयाँ सापटी लिएका छन् । आइतबार करिब २२ अर्ब रुपैयाँ एसएलएफ लिएका थिए । गत बिहीबार मात्र राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाएको छ । एसएलएफ र रिपोमार्फत बैंकहरूले लिएको सापटी रकम पनि जोड्दा वित्तीय प्रणालीको शुद्ध अधिक तरलता ऋणात्मक रहेको पुष्टि हुने विज्ञहरूको तर्क छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]