September 6th, 2021

सेयर बजार एकैदिन १०८ अंकले घट्यो

मौद्रिक नीतिमा गरिएकोे सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको छ । कारोबार सुरु भएलगत्तै घट्न थालेको बजार २ घण्टामै ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेकसम्ममा नेप्से सूचक २७८० अंकसम्म झरेकोमा त्यसपछि भने पुनः सम्हालिएर २८१८ अंकमा बन्द भएको छ ।
सेयर बजारमा आएको उच्च गिरावटको प्रमुख कारणका रुपमा राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै सेयर बजारमा प्रभाव देखिएको थियो । गत साताभरमा १६७ अंकले घटेको बजार आइतबार भने एकैदिन उच्च अंकले घटेको हो । यसरी बजारमा गिरावट आएसँगै डेढ खर्ब रुपैयाँ पुँजीकरण घटेको छ । गत साता ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको पुँजीकरण आइतबार एकैदिन एक खर्ब ४५ अर्ब रुपैयाँले घटेर ३९ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गर्ने प्रवृत्ति निरुत्साहित गर्नका लागि सेयर धितो कर्जामा प्रतिव्यक्ति ऋणको सीमा तोकेको छ । उक्त व्यवस्थालाई लगानीकर्ताका संगठनहरुले विरोध गर्न थालेपछि आम लगानीकर्ता बजार प्रभावित हुने त्रासमा धमाधम सेयर बेच्न थालेका छन् ।
अर्थशास्त्री नरबहादुर थापा राष्ट्र बैंकले रकमकै सीमा तोकेर आफू विवादमा फसेको बताउँछन् । “राष्ट्र बैंकले वृहत दृष्टिकोण राखेर सूचकहरु बनाएर वित्तीय क्षेत्रलाई नियमन गर्ने हो,” उनले भने, “जब स–साना कुरामा पनि हस्तक्षेप गर्न खोज्छ, त्यसले विवाद निम्त्याउँछ ।”
सरकारको प्राथमिकताका आधारमा कृषि, जलविद्युत्, साना तथा मझौलाका साथै विपन्न वर्गलगायतका क्षेत्रमा गरी ४५ प्रतिशत कर्जा निर्देशित क्षेत्रमा लगानी भएको भन्दै त्यसबाहेक वित्तीय क्षेत्रलाई बजारको मागअनुसार व्यवसाय गर्न दिनुपर्ने उनको राय छ । वित्तीय क्षेत्रको २ प्रतिशत कर्जा मात्र सेयर धितोमा लगानी भएकाले तत्कालै ठूलो जोखिम नभएको उनले दावी गरे ।
कोभिड–१९ को महामारीमा पनि अनलाइनमार्फत कारोबार गर्न सकिने व्यवस्थाका कारण पछिल्लो समयमा सेयर बजारमा उत्साह बढिरहेको थियो । सेयर बजारमा लगानीकर्ताको संख्या वृद्धिसँगै बजारमा अन्य क्षेत्रको लगानी पनि थपिएकाले बजारमा उछाल आएको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष तथा अप्रत्यक्ष लगानीले पनि बजार बढ्न सघाएको थियो । तर, बैंक तथा वित्तीय संस्थाकै ऋणबाटै सीमित व्यक्तिले बजारमा चलखेल गरेको भन्दै केन्द्रीय बैंकले एक व्यक्ति वा संस्थाले एउटा वित्तीय संस्थाबाट ४ करोड र वित्तीय प्रणालीबाट १२ करोडसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा उक्त प्रावधान घोषणा गरेलगत्तै त्यसलाई फिर्ता गराउन नेपाल इन्भेष्टर्स फोरमलगायतका संगठन सक्रिय भएका थिए । उनीहरुको दवावलाई बेवास्ता गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरी उक्त सीमा कार्यान्वयन गरिसकेको छ भने यसअघि भएको लगानी समायोजन गर्न एक वर्षको समयसिमा दिएको छ ।
राष्ट्र बैंकलाई फकाउन नसकेपछि लगानीकर्ताहरुले अर्थमन्त्रीमार्फत दवाव दिइरहेका छन् । मौद्रिक नीति जारी तथा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक स्वायत्त भएपनि मौद्रिक नीतिको व्यवस्था फिर्ता गर्नका लागि लगानीकर्ताले अर्थमन्त्री गुहारेका छन् । नेपाल इन्भेष्टर फोरमले बिहीबार अर्थमन्त्री जनादर्न शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्र बैंकले तोकेको सीमाका कारण बजारमा गिरावट आएको र यसलाई खारेजी गर्न आग्रह गरेका थिए ।
यसैगरी केही लगानीकर्ताले मौद्रिक नीतिका प्रावधान खारेजीको माग गर्दै संघर्ष समितिसमेत बनाएका छन् । उनीहरुले सेयर धितो कर्जामा लगाइएको सीमालगायतका विभिन्न १५ बुँदे माग राख्दै गभर्नरको राजीनामा समेत मागेका छन् ।

 

कारोबार दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]