March 22nd, 2021

‘क्युआर कोड’को प्रयोगले पर्स बोक्ने बानी नै हरायो : गभर्नर अधिकारी

महाप्रसाद अधिकारी
गभर्नर, नेपाल राष्ट्र बैंक

क्विक रेस्पोन्स कोड अर्थात् ‘क्युआर कोड’को प्रयोग र विस्तार दुई, अढाई महिनामा यो स्थितिमा पुग्ला भन्ने मैले सोचेको पनि थिइनँ । आज यो प्रविधि यो स्थितिमा आइपुगेको छ । यो प्रविधिको प्रयोग सजिलो छ । यसले हामीलाई दैनिक व्यवहारमा सजिलो बनाइरहेको छ ।

मैले सिन्धुली मन्दिरमा पुगेर पनि क्युआर कोड चलाएँ । बाटोमा जाँदा कैयौँ होटेल, रेस्टुरेन्टमा क्युआर नै प्रयोग गरेँ । तर, मलाई पशुपतिमा अप्ठ्यारो भयो । त्यहाँ उद्घाटन गर्न जाँदा असहाय, दीन–दुःखीलाई पैसा दिनुपर्ने, क्युआर कोडका कारण पर्स बोक्ने बानी नै हरायो । पर्स नै छैन, पैसा बोक्ने बानी नै छैन, अब कसरी नगद दिने ? सहयोगापेक्षीको पहुँच विद्युतीय भुक्तानी ग्रहणमा छैन, मसित नगद छैन । मलाई प्रविधिले यो अवस्थासम्म पु¥यायो । म आफैँ पुगेको हैन, प्रविधिले पु¥यायो । परिवर्तन यसरी नै आउने हो । यो प्रविधिको विशेषता एकदमै अनौठो छ ।

सबैसँग स्मार्ट फोन नहुन सक्छ तर क्युआर कोडका लागि स्मार्ट फोन चाहिन्छ, यदि भएन भने के गर्ने त ?
यहाँहरुका बालबच्चा हामीभन्दा जान्ने छन् । केटाकेटी अहिले धेरै स्मार्ट छन्, उनीहरुले क्युआर कोड कसरी चलाउने भनेर बताउनेछन् ।

मानौँ, तपाईंसित स्मार्ट फोन छैन, तपाईं पुरानै फोन चलाउनुहुन्छ भने त्यस अवस्थामा पनि केही विकल्प छन् । तपाईंको नजिकै कुनै न कुनै ई–सेवासँग जोडिएको एजेन्ट (विद्युतीय भुक्तानी सेवाप्रदायक) हुन्छ । उनीहरुमार्फत क्युआर कोड स्क्यान हुने व्यवस्था हुन्छ । उनीहरुको सहयोगबाट तपाईंले विद्युतीय भुक्तानी सुविधाको नियमित उपयोग गर्न सक्नुहुन्छ ।

आम उपभोक्तालाई मेरो अनुरोध छ – क्युआर कोडको प्रयोगलाई दैनिक व्यवहारको अङ्ग बनाउनुहोस् । यसको प्रयोगले पैसा हिनामिना हुँदैन, पैसा तलमाथि हुँदैन । यहाँहरुको बैंकको खाताबाटै क्युआर कोडमा पैसा सर्छ ।
अर्को विषय, सकभर यहाँहरुले तिर्ने वा जम्मा गर्ने वेलामा फिङ्गरहरु हान्न नपरोस्, सिस्टम साधारण होस्, यी ड्युहरु त सिस्टममा छँदैछन् । उदाहरणका लागि अहिले मैले बिग मार्टमा गएर किनमेल गरेँ भने बिल आउँछ । मैले स्क्यान गर्दा फिङ्गर हानिराख्नुपर्दैन । बिलमा जति रकम आउँछ, त्यति नै तिरिन्छ । तर, मैले कुनै तरकारी बजारमा गएर स्क्यान गरेँ भने त्यहाँ मार्केटमा जस्तो बिल हुँदैन । त्यतिवेला मैले फिङ्गर हान्नुपर्ने हुन्छ । मैले फिङ्गर हान्दा फरक पर्न सक्छ । एकजना साथीले पिनकोट हानिदिनुभएछ, तिर्नुपर्ने ६० रुपैयाँ थियो तर बिल एक हजार रुपैयाँको निस्किएछ । उहाँले पछि फिर्ता माग्नुपर्ने अवस्था आयो । केही यस्ता अवस्था पनि हुन्छन् । त्यसैले यसको समाधानका लागि सेवाप्रदायक बैंक आफैँ सतर्क भएर प्रणालीमै सुधार ल्याउनुपर्छ । ग्रासरुट लेवलका ग्राहकलाई जसरी सजिलो हुन्छ, जसरी सहज हुन्छ त्यसरी नै प्रयोग गर्न सक्ने बनाइदिने काम बैंकहरुको हो ।

क्युआर कोडका फाइदा
क्युआर कोड प्रयोगका धेरै फाइदा छन् । यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ ।

कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ ।

यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।

यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ ।

कोभिडका कारण हामीले जुन समस्या भोग्नुप¥यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ ।

नगदमा हुने कारोबार धेरै खालका विकृतिको जड हो, चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् । नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरु हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ । (गभर्नर अधिकारीद्धारा एक कार्यक्रममा व्यक्त मन्तव्यका आधारमा तयार पारीएको सामग्री)

के हो क्यूआर कोड ?
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।

जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।

क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।

तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् ।

कहाँ, कहाँ प्रयोग गर्न सकिन्छ ?

रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ ।

एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ ।
क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ ।

दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]