August 15th, 2016

घरेलु उद्योगमा किन बढ्दैछ लगानी ? हेर्नुस्, ५ कारणहरु

handicraftsपछिल्ला पाँच वर्षमा घरेलु तथा साना उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष ०६८/६९ मा घरेलु तथा साना उद्योगमा ५ अर्ब ६ करोड रुपैयाँ लगानी भएकोमा आव ०७२/७३ सम्म आइपुग्दा १७ अर्ब ८ करोड रुपैयाँ लगानी पुगेको घरेलु तथा साना उद्योग विभागले जनाएको छ । घरेलु तथा साना उद्योगमा आव ०६८/६९ मा ५ अर्ब ६ करोड लगानी भएको थियो । आव ०६९/७० मा उक्त लगानी बढेर ११ अर्ब ६१ करोड पुग्यो । आव ०७०/७१ मा यस्तो लगानी करिब १ अर्बले बढ्यो । आव ०७१/७२ मा भने १० अर्ब १४ करोडमा सीमित भएको देखिन्छ । तर, भूकम्प र नाकाबन्दीजस्ता अवरोधका बाबजुद आव ०७२/७३ मा १७ अर्ब ८ करोड बराबरको लगानी भएको छ । यस्ता उद्योगले रोजगारीमा समेत उल्लेख्य योगदान पुर्याएको देखिन्छ । आव ०७१/७२ मा ४४६ उद्योगबाट २२ हजार ७८५ जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष ४१० उद्योगमार्फत १८ हजार ९६० जनाले रोजगारी पाएको विभागले जनाएको छ । 

यसरी वर्षेनि, ठूला उद्योगको तुलनामा साना उद्योगमा लगानी बढ्दै जानुका  ५ कारणहरु यहाँ प्रस्तुत गरिन्छ :
कम लगानीमा राम्रो प्रतिफल
ठूला उद्योगको तुलनामा साना उद्योगहरु स्थापना गर्न कम लगानी लाग्ने हुन्छ । यसले गर्दा व्यवसाय सुरु गर्दा नै ऋणको बोझ बोक्नुपर्ने अवस्था आउँदैन । यस्ता उद्योगहरुको प्रतिफल पनि छोटो समयमै पाइने हुन्छ । छोटो समयमै प्रतिफल प्राप्त हुने तथा कम लगानीमा पनि सञ्चालन गर्न सकिने भएकाले घरेलु तथा साना उद्योगमा लगानी आकर्षित भएको सरोकारवालाहरू बताउँछन् । यस्ता उद्योगहरुको लागि न त ठाउँ नै ठूलो चाहिन्छ न त कामदार तथा स्रोत र साधन नै । आफ्नै घरमा घरकै सदस्यहरु मात्रले पनि यस्ता उद्योगहरु चलाउन सकिन्छ । 

कम चुनौति, परिवारको साथ
छोटो समयमा नै प्रतिफल पाइनुका साथै घर–परिवारसँगै बसेर उद्योग सञ्चालन गर्न सकिने भएकाले यस्ता उद्योगहरूमा लगानी बढ्दै गएको छ । विदेशमा गरिने चुनौतीपूर्ण कामभन्दा नेपालमै साना उद्योग व्यवसायबाट मनग्गे पैसा कमाउने भएकाले लगानी बढेको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या पनि घट्दो क्रममा रहेको छ । 

अनुदान तथा सहुलियत व्याजमा ऋण
सरकारले पनि पछिल्लो समय यस्ता उद्योगहरुलाई प्रोत्साहन गरिरहेको छ । साना उद्योगहरूलाई अनुदान तथा सहुलियत व्याजमा उपलब्ध गराइने ऋणले पनि साना उद्योगहरूमा लगानी बढाउन मद्दत गरेको व्यवसायीहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि यस्ता उद्योगहरुमा लगानी बढाइरहेका छन् । २८ वटा वाणिज्य बैंकहरूले साना तथा मझौला व्यवसायमा कुल कर्जाको २.५ प्रतिशत अर्थात् ३३ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेका छन् । यसरी बैंकहरुले पनि यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न थालेपछि सर्वसाधारणहरु आकर्षित भएका छन् ।

पुँजीका हिसाबले उचित
नेपालमा सर्वसाधारणले अन्य ठाउँमा लगानी गर्ने उपयुक्त वातावरण छैन । ससाना पुँजी लगानी गर्नेहरु ठूलो आयोजनामा एकै पटक हात हाल्ने आँट गर्दैनन् । कतिपयले शेयरमा लगानी गरेका छन् । तर, बुझ्दै नबुझि शेयर बजारमा हात हाल्नु, त्यो पनि सानो पुँजी लिएर, यो झनै जोखिम हुन्छ । त्यसैले, आफैँले, आफ्नो बजेटले धान्ने गरी लगानी गर्न साना तथा मझौला व्यवसाय नै उत्तम हुने हुँदा यसतर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।  

बजारीकरणको राम्रो सम्भावना
घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामानहरुका लागि बजारको समेत समस्या नहुने व्यवसायीहरु बताउँछन् । यस्ता उद्योगहरुबाट सामान्यतयाः साधारण उपयोगका सामानहरु उत्पादन गरिन्छन् । यस्ता सामानहरुको माग नेपालमा मात्र नभएर विदेशी बजारमा समेत रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ऊनी गलैँचा, पश्मिना, तयारी पोशाक, चिया लगायतका वस्तुहरुको निर्यात बढेको छ । यस्ता वस्तुहरुको निर्यात मूल्यसमेत बढेको राष्ट्र बैंकले जनाएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]