January 12th, 2021

गभर्नर महाप्रसाद अधिकारी : अर्थतन्त्र जोगाउँदै, डिजिटल बैंकिङलाई सार्थकता दिदैँ

बैंकिङ खबर । डिजिटल बैंकिङको अवधारणा वर्षौदेखि आएको भएतापनि यसले सार्थकता पाउन भने सकेको थिएन । यद्यपी कोरोना माहामारीको बिचमा भने यसको प्रयोगमा उल्लेख्य वृद्धि भएको पाइयो । कोरोना माहामारीकै बिचमा राष्ट्र बैंकमा लामो समय विताएका बैंकिङ क्षेत्रका विज्ञ महाप्रसाद अधिकारीले नयाँ गभर्नरका रुपमा नेपाल राष्ट्र बैंकको नेतृत्व संहाले । उनी गभर्नर हुँदा देश कोरोना रोकथामको लागि लडीरहेको थियो र अहिलेसम्मको मुख्य समस्या पनि कोरोनासँग जुध्नु नै हो । यद्यपी कोरोना संक्रमणको बिचमै गभर्नर बनेका अधिकारीले चुनौतीलाई नै अवसरमा बदले । भौतिक दुरी कायम राख्न पर्ने अवस्थामा बैंकहरुले सिमित कार्यालयबाट मात्र सेवा दिन थाले भने राष्ट्र बैंकले डिजिटल कारोबार गर्न प्रोत्साहित गरेको थियो । कोरोना माहामारीले पर्यटन व्यवसाय, होटल व्यावसाय, औद्योगिक क्षेत्रमा नराम्रोसँग धक्का दियो । यसैबिच नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गरिरहेका छन् । ससाना व्यवसायदेखि तरकारी पसल हुँदै विभिन्न किरानापसलसम्म डिजिटल कारोबार बढाउन उनले लगातार पहल गरीरहेका छन् । उनले प्रविधिको प्रयोगतर्फ सर्वसाधारणको विश्वास बढाउनमा केन्द्रीत हुँदै सम्पूर्ण क्षेत्रमा डिजिटल कारोबार गर्न प्रोत्साहन दिएका छन् । विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेर यसको कार्यान्वयनका निम्ति पनि पहल गर्दै आएको गभर्नर अधिकारीले बताएका छन् ।
यस्तै, उनले भुक्तानी प्रणालीको विकास एवं सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरीवेक्षणका क्षेत्रमा पनि निगरानी बढाइएको बताएका छन् । यस वर्षको मौद्रिक नीतिमार्फत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा समेत ल्याइएको छ ।
नीजि क्षेत्रको विकासका निम्ति बैंकिङ क्षेत्रसँग व्याज छुटको राहत सहितका प्याकेज उनले नल्याएको भए अहिलेको अबस्थामा अर्थतन्त्र नाजुक बन्ने थियो । उनले ल्याएको राहतका कार्यक्रमले अर्थतन्त्र ध्वस्त हुनबाट जोगीयो । साँवा र व्याज भुक्तानीको भाका पर सारेर ऋणीहरुलाई आवश्यकता अनुसार व्याज छुट दिएर व्यापार व्यबसाय र उद्यमशीलतालाई निरन्तर गतिमा अघि बढाउन ठुलो पहल गरे । उनले यसो नगरेको भए बैंकिङ क्षेत्रको खराव कर्जा बढ्ने, वित्तीय अनुशासनको पालना नहुने र व्यवसायीहरु टाट् पल्टन सक्ने संभावना थियो । उनी आफु गभर्नर हुँदा उनले महँगीको चाप पर्ने, आर्थिक वृद्धिमा असर पर्ने, रेमिट्यान्स र विदेशी मुद्राको सञ्चयमा असर पर्ने जस्ता समस्या आउन सक्ने आकलन गरेका थिए । यस्तै उनले आयात घट्न सक्ने र वित्तीय स्थिरता समेत केही चुनौती देखिन सक्ने उल्लेख गरेका थिए । यद्यपी अहिलेको अवस्थामा उनले यी सबै समस्याको समाधान पहिल्याउँदै अघि बढीरहेका छन् ।

अर्थतन्त्रका सुचकहरु विस्तारै सकारात्मक दिशातर्फ
बिस्तारै उनको कार्यकाल पछि चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.०५ प्रतिशत छ ।
आयात १०.६ प्रतिशतले घटेको छ भने निर्यात १०.८ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.२ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको खर्च रु.२५० अर्ब ४१ करोड र राजस्व परिचालन रु.२४० अर्ब १५ करोड छ ।
विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २१.९ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.८ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.३ प्रतिशत छ ।

एघार प्रतिशतले बढ्यो रेमिट्यान्स

कोरोनाको कारण बैदेशिक रोजगारीमा जानेहरुको सँख्या घटेको भए पनि विप्रेषण आप्रवाह भने बढ्दै गएको छ । केन्द्रिय बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएको केन्द्रिय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु ३७३ अर्ब ४ करोड पुगेको छ केन्द्रिय बैंकले जनाएको छ ।

व्यापार घाटा घट्यो
व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले घटी रु.३६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
चार महिनामा अलैँची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । कुल निर्यातमध्ये भारतमा हुने निर्यात १४।९ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५९.२ घटेको छ ।

कर्जा वितरण बढ्यो, निक्षेप संकलनमा पनि वृद्धि
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ । २०७७ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको थियो । २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७६ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.९ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको छ ।
२०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.५ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ५.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ७.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.८ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा २१.६ प्रतिशतले बढेको छ भनेट्रष्ट रिसिट (आयात) कर्जा २.८ प्रतिशतले र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।

विदेशी विनिमय सञ्चितिमा ७.४ ५ को वृद्धि
कुल विदेशी विनिमय सञ्चितिमा ७.४ को वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा रु.१५०६ अर्ब ६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रु.१३३२ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा १.० प्रतिशतले कमी आई रु.१७३ अर्ब ९९ करोड कायम भएकोछ । २०७७ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।

चालु खाता एवम् शोधनान्तर स्थिति : बचतमा
समीक्षा अवधिमा चालु खाता रु.२० अर्ब ४६ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई रु.४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई रु.३ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ९२ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]