December 6th, 2020

कर्जा र बचतमा ब्याजदर बढ्ने

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर बढ्ने भएको हो ।

राष्ट्र बैंकले मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेपछि बचतकर्ताको ब्याज पनि बढ्ने भएको छ ।

बचतको ब्याज थोरै बढ्दा बैंकको आधार दर पनि माथि उक्लिनेछ । यो व्यवस्थाका कारण अहिलेभन्दा आधादेखि एक प्रतिशत बिन्दुले आधार दर बढ्नेछ । आधार दर बढेपछि ऋणको ब्याज पनि बढ्ने जनाइएको छ ।

मौद्रिक समीक्षाले कलनिक्षेपबाहेकका ब्याज प्रदान गरिने खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक पर्न नपाइने व्यवस्था गरेको छ । समीक्षामार्फत अधिविकर्ष (ओडी), सेयरधितो र रियलस्टेट कर्जाका विद्यमान व्यवस्था पुनरावलोकन गर्ने उल्लेख छ ।

अहिले अन्य क्षेत्रमा लगानीको वातावरण संकुचित हुन थालेपछि लगानीकर्ताहरू सेयरमा आकर्षित छन् । ओडी कर्जा लिएर सेयर र घरजग्गा जस्ता रियलस्टेट क्षेत्रमा लगानीगर्नेहरू बढ्न थालेपछि राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको बताइएको छ । राष्ट्र बैंकले स्थिर ब्याजदरको व्यवस्थामा लचिलो बने पनि सेयर कर्जा तथा रियलस्टेट कर्जामा भने कडाइ गर्न खोजेको देखिएको छ ।

बैंकहरूले मुद्दती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज दिइरहेको अवस्थामा साधारण बचतमा भने थोरै मात्रै ब्याजदर प्रदान गर्दै आएकामा अबउप्रान्त मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बचतको ब्याजदर घट्दै गएको अवस्थामा ब्याजदरलाई बढाउने प्रयास गरेको हो । बैंकले अबउप्रान्त मुद्दतीमा १० प्रतिशत ब्याज दिन्छ भने अन्य बचतमा ५ प्रतिशत ब्याज दिनैपर्ने हुन्छ । अधिक तरलता भएपछि बैंकहरूले बचतको ब्याज ह्वात्तै घटाएका थिए । साढे ६ प्रतिशतको बचतको ब्याज ८ वटा बैंकले डेढ प्रतिशतसम्म झारेका थिए । अधिकांश बैंकको बचतको न्यूनतम ब्याज २ प्रतिशत छ ।

राष्ट्र बैंकले कल निक्षेपको ब्याज बचतको न्यूनतम ब्याजको ५० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । अहिले मुद्दतीको ब्याज ९ प्रतिशत छ भने बचतको न्यूनतम ब्याज ४ प्रतिशत कायम हुन जान्छ र कलनिक्षेपकर्ताले २ प्रतिशत ब्याज पाउनेछन् ।

कल डिपोजिट कम समय अवधिका लागि निक्षेप राख्ने एक किसिमको निक्षेप खाता हो । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने टुंगो हुँदैन । प्रायः व्यवसायी तथा ठूला व्यावसायिक घरानाले यही खातामा बचत गर्ने गर्छन् ।

कलनिक्षेप अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिने गरेका छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भइरहन्छ । यद्यपि कलनिक्षेपमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज दिन नपाइने व्यवस्था रहेको छ ।

 

राजधानी दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]