November 19th, 2020

घट्न थाल्यो वाणिज्य बैंकको नाफा

गत आर्थिक वर्षको अन्त्यदेखि बैंकिङ क्षेत्र पनि कोभिड–१९ बाट प्रभावित बन्यो । परिणामस्वरुप नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वाणिज्य बैंकले करिब १४ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा करिब साढे ६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी बैंकको खुद नाफा १५ अर्ब ६२ करोड रुपैयाँ थियो ।बैंकहरूको नाफा वृद्धिदर गत वर्षको पहिलो त्रैमासदेखि नै घट्न थालेको थियो । गत आर्थिक वर्षको अन्त्यदेखि बैंकिङ क्षेत्र पनि कोभिड–१९ प्रभावित भयो । परिणाम नाफा घटेको हो । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा ४६ प्रतिशत बढेको वाणिज्य बैंकको खुद नाफा गत आवको सोही अवधिमा ५ प्रतिशत मात्र बढेको थियो ।

कोभिड–१९ का कारण प्रतीतपत्र, ग्यारेन्टीलगायत अन्य व्यवसायमा कमी आएको, कर्जा निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) गणना गर्ने सूत्र परिमार्जन भएको, कर्जा विस्तार नभएपछि लामो समय अधिक तरलता बैंकमा थुप्रिएको र खराब कर्जाबापत (वाटलिस्ट) को प्रोभिजन बढेकोलगायत कारण पहिलो त्रैमासमा प्रायः बैंकको खुद नाफा घटेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । कोभिड–१९ का कारण समग्र अर्थतन्त्र प्रभावित भइरहेको समयमा केही बैंकले भने सामान्य अवस्थामा जस्तै राम्रो नाफा गरेका छन् । ‘केही बैंकको नाफा मर्जर तथा एक्विजिसनका कारणले बढेको देखिन्छ,’ उनले भने, ‘अप्ठ्यारो परिस्थितिमा पनि केहीले राम्रो नाफा गरेका छन् जुन राम्रो हो ।’

पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा मात्र बैंकको वास्तविक अवस्था विश्लेषण गर्न उचित नहुने बैंकर्स संघका पूर्वअध्यक्ष अनिलकेशरी शाहले बताए । ‘पहिलो त्रैमासको विवरणका आधारमा सबै बैंकलाई सामान्यीकरण गर्न मिल्दैन,’ उनले भने, ‘यसका लागि कम्तीमा दोस्रो र तेस्रो त्रैमाससम्म पर्खिनुपर्छ ।’ कोभिड–१९ ले समग्र अर्थतन्त्र प्रभावित भएको अवस्थामा बैकिङ क्षेत्र अछुतो हुन नसक्ने उनको भनाइ छ । ‘अर्थतन्त्रका अन्य क्षेत्रको अवस्था कस्तो हुन्छ, त्यसका आधारमा बैकको नाफा पनि प्रभावित हुन्छ,’ उनले भने । आउँदा दिनमा अन्य क्षेत्रमा राम्रो सुधार भए वित्तीय क्षेत्र पनि सँगसँगै अघि बढ्न सक्षम रहेको उनको दाबी छ ।

गत वर्षको तुलनामा पहिलो त्रैमासमा बैंकहरूको नाफाको वृद्धिदर घटे पनि केही बैंकले राम्रो नाफा आर्जन गरेका छन् । अघिल्ला त्रैमासहरूमा नाफाका आधारमा प्रमुख १० भित्र रहँदै आएका बैंकहरूको नाफा घटेको छ भने सामान्य वृद्धिदर देखाउँदै आएका केही बैंक राम्रो नाफा गर्न सफल भएका छन् ।

कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भए पनि बैंकिङ क्षेत्रको लगानी रहेका उत्पादनमूलक, निर्माण, उपभोग, कृषि, व्यवसायलगायत क्षेत्र खासै प्रभावित नभएकाले बैंकहरूको नाफा अपेक्षित रूपमा नघटेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘कोभिड–१९ बाट बढी प्रभावित क्षेत्र हो पर्यटन, त्यहाँ बैंकहरूको लगानी कम छ,’ उनले भने, ‘बैकहरूको धेरै लगानी रहेको व्यापार, उपभोग, स्वास्थ्यलगायत क्षेत्रको अवस्था अपेक्षित रूपमा राम्रो छ ।’ कोभिड–१९ को बढ्दो संक्रमणका कारण बाहिर हिँडडुलमा अवरोध भएपछि बैंकमा निक्षेप बढेको, धेरै निक्षेप भएकै कारण कर्जा घटेकाले पछिल्ला महिनामा बैंकहरूको व्यावसायिक विस्तार राम्रो भएको उनले जानकारी दिए । पहिलो त्रैमासमा असर नदेखिए पनि आउँदा त्रैमासमा नाफा प्रभावित हुन सक्ने उनको अनुमान छ ।

बैंकहरूले प्रकाशन गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आईएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । जनता बैंकलाई गाभेपछि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो बैंकको नाफा बढेको देखिन्छ । यस्तै करिब ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर सिभिल बैंक सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ ।

नबिल, एनआईसी एसिया र प्राइम बैंकले पनि एक अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । यी बैंकको खुद नाफा क्रमशः १ अर्ब ३ करोड, १ अर्ब २ करोड र १ अर्ब १ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ ।

लकडाउनका बेला केही बैंकले निर्देशित सीमाभन्दा बढी स्प्रेड कायम गरेकाले अप्ठ्यारो परिस्थितिमा पनि राम्रो नाफा आर्जन गर्न सफल भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । राष्ट्र बैंकले राम्रोसँग नियमन तथा सुपरिवेक्षण गर्न सकेको छैन । यही कमजोरीको फाइदा केही बैंकले उठाए । सामान्य अवस्थामा औसत नाफा पनि गर्न नसक्ने बैंकले अहिले राम्रो मुनाफा गर्नुमा स्प्रेडबाहेक अर्को कारण नभएको ती अधिकारीको दाबी छ ।

कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत चैतदेखि सरकारले लकडाउन गरेको थियो । त्यसपछि भदौसम्म बैंकहरूले कर्जा प्रवाह गर्न पाएका थिएनन् । गत भदौ अन्तिमतिरबाट मात्र कर्जा माग हुन थालेको छ । कर्जा प्रवाहमा समस्या भएपछि गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशत घटेको थियो । अघिल्लो आर्थिक वर्षमा ती बैंकको यस्तो नाफा २५ प्रतिशत बढेको थियो । यसलाई विश्वव्यापी रूपमा परेको कोरोनाको असर बैंकिङ क्षेत्रमा पनि देखिएको रूपमा विश्लेषण गरिएको थियो ।

कोभिड–१९ कै कारण कर्जा वर्गीकरण र त्यसबापतको व्यवस्थामा राष्ट्र बैंकले खुकुलो व्यवस्था गरिदिएको छ । अहिले पाकेको तर उठ्न बाँकी ब्याजलाई पनि आयमा गणना गर्न पाएका छन् । त्यो नभएको भए केही बैंकको नाफा नकारात्मक हुने अवस्था आउने जानकारहरू बताउँछन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप र कर्जा प्रवाह दर भने केही बढेको छ । तर बैंकहरूको सञ्चालन नाफा, सेयरधनीको प्रतिफल, वितरणयोग्य नाफालगायतमा कमी आएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]