November 3rd, 2020

इतिहास बोकेको बैंक र बैंकिङ दिवस

उदिप लुइटेल-

सामान्यतया मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुन बमोजिम सन्चालन गरिने संगठित संस्थालाई बैंक भनिन्छ। बैंक एक वित्तीय संस्था हो, जहाँ वचतकर्ताको निक्षेप जम्मा गरे वापत निक्षेपकर्तालाई तोकिएको दरले ब्याज प्रदान गर्दछ  र संकलित निक्षेपको सुरक्षण गर्नु बैंकको दायित्व हो । बैंकले एकातर्फ निक्षेप सुरक्षित गर्ने जिम्मा लिन्छ भने अर्कोतर्फ किसान, ब्यवसायी, एवम सर्बसाधारण जनतालाई बहुमुल्य धातु , घरजग्गा, धितोपत्र वा सम्पत्ति धितो राखी कर्जा प्रादन गर्दछ र निस्चित दरको ब्याज असुली कर्जाको आवश्यकता पुरा गरिदिन्छ । 

बैंकिङ इतिहास

विश्वको बैंकिङ इतिहासलाई हेर्दा सर्बप्रथम इटलीमा सन ११५७ मा बैंक अफ भेनिस को स्थापना भएको पाईन्छ । त्यस्तै सन १४०१ मा बैंक अफ बर्सिलोन, १४०७ मा बैंक अफ गेनोय, १४७२ मा मन्टी डाइ पस्ची डि सेलेना इटाली र १६०९ मा बैंक अफ अमेस्टरडम को स्थापना भएको पाईन्छ । यि बैंकहरुलाई विश्व बैंकिङ इतिहासको आधार स्तम्भ मानिन्छ ।  जुन देशहरुमा औधोगिक क्रान्ति ( उधोग कलकारखाना स्थापना ) भयो त्यस्ता देशरुमा बैंकिङ क्षेत्रको बिकास अन्य देशको तुलनामा पहिले भएको पाईन्छ । यसरी बैंक तथा बितिय संस्थाहरु र उधोग, ब्यापार ब्यवसायलाई एक अर्काको परिपुरकको रूपमा लिने गरिन्छ ।

नेपालमा आधुनिक बैंकको स्थापना हुनु अगाडी
नेपालको इतिहासलाई फर्केर हेर्दा १४ औ शताब्दीमा राजा जयस्थिती मल्लले मानिसहरुको कार्यक्षेत्रको आधारमा ६४ जातीमा बर्गिकरण गरेका थिए, जसमध्ये टंकधारीजातीका मानिसहरु ब्यापार ब्यवसाय गर्ने, ऋण प्रदान गर्ने, क्षेत्रमा आवद्ध रहेको पाईन्छ। वि.स १९३३ मा राणाशासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री भएर वि.सं. १९३४ मा उनले तेजरथ अड्डाको स्थापना गरे। तेजरथ अड्डाको मुख्य कार्य सुन, चाँदी धितो राखी आमसर्बसाधारण जनताहरुलाई ऋण प्रदान गर्नु थियो।त्यस समायमा सरकारी कर्मचारीहरुको ब्यक्तिगत जमानीमा ५ प्रतिशत ब्यजदरमा ऋण प्रदान गर्ने गरेको इतिहासको पानाहरुमा पढ्न पाईन्छ।
वि.सं.१९९० माघ २ गते नेपालको भूकम्प इतिहासमा सबैभन्दा बिभत्स र विनाशकारी भूकम्पलाई सामना गर्नुपर्यो प्रधानमन्त्री जुद्धशमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा, निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विपतबाट पार पाउने प्रयास गरेकाथिए।बिभिन्न बिदेशी दात्री संस्थाहरुबाट आर्थिक सहयोग आउन थाले।

आधुनिक बैंकको स्थापना
भुकम्प पश्चात बिस्तारै उठ्दै गरेको नेपालको अर्थतन्त्र र तिब्बत सँगको बढदो ब्यापारको कारण नेपालमा बैंक नहुनाले देशकोआर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उदेश्यकासाथ नेपालको पहिलो आधुनिक बैंक नेपाल बैंक लिमिटेडको वि.सं.१९९४ कार्तिक ३० गते लक्ष्मी पुजाको दिन स्थापना भयो । त्यस समयमा, यस आधुनिक बैंकिङको नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेको साथै धेरै कम मात्र यस प्रति विश्वस्त थिए, फलस्वरुप बचतकर्ताहरुलाई बचत गर्ने बानीको बिकास गराउन निकै संघर्षपूर्ण कार्य थियो ।स्थापनाको समयमा बैंकको अधिकृत पुंजी रु १ करोड थियो । बैंक स्थापनाको प्रथम वर्षमा कुल निक्षेप रु. १७,०२,०२५ रहेकोमा चल्ती निक्षेप रु. १२,९८,८९८ ,वचत निक्षेप रु.१४,१६३ तथा मुद्दती निक्षेप रु.३,८८,९६४ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा रु. १९,८५,००० रहेको थियो । राणाकालीन प्रशासनमा केन्द्रिय बैंकको काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो । त्यस बखत नेपालमा कागजी मुद्राको प्रचलन नभएको हुँदा आधिकांन्स निक्षेप भारतीय मुद्रा हुने गर्दथ्यो।
भनिन्छ बुवा भन्दा सन्तान जेठो कहिले हुँदैन तर नेपालको बैंकिङ इतिहासमा बुवा भन्दा सन्तान जेठो भएको पाईन्छ।नेपालमा आधुनिक बैंकिङ पद्धतीको सुरुवातसँगै वि.सं. २०१३ बैशाख१४ गते अहिलेको केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंकको स्थापना भयो।स्थापनाको सुरुवाती अवस्थामा यस बैंकले बैंकिङ कारोबारहरू गरेतापनि पछिल्लो अवस्थामा यस बैंकले अन्य निजी तथा सरकारी बैंकहरूको नियमन तथा सुपरिवेक्षण, संरक्षणको काम गर्दै आइरहेको छ।त्यसकारण नेपाल राष्ट्र बैंकलाई बैंकहरूको पनि बैंक अर्थात केन्द्रीय बैंक भनेर भनिन्छ। वि.सं. २०१६ सालमा नेपाल औद्योगिक विकास निगम (हाल राष्ट्रिय बणिज्य बैंकसँग बिलय) को स्थापना भयो । देशमा एउटा मात्र बणिज्य बैंकले नेपालभरी बैंकिङ सेवा उपलब्ध गराउन असमर्थ भएकोले वि.सं. २०२२ माघ १० गते दोश्रो बाणिज्य बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भयो।अधिकांन्स नेपाली कृषि पेशामा आवद्ध रहेको हुनाले देशको कृषि पेशामाथि उठाउने अभिप्रायले वि.सं. २०२४ माघ ७ गते कृषि विकास बैंक (स्थापनाकालमा बिकास बैंक र २०६३ सालमा बाणिज्य बैंकमा पारीणत) को स्थापना भयो । वि.सं.२०४० सम्म सरकारी स्वामित्वका बैंकहरूको मात्र उपस्थिति थियो । तर खुल्ला बजार निती, उदारीकरण र निजिकरणले गर्दा २०४१ सालमा पहिलो निजी बैँक नेपाल अरब बैंक (हाल नबिल बैंक) को रूपमा स्थापना भयो ।

बैंकहरुको बर्तमान अवस्था
बैकिङ क्षेत्रको ८ दशक पुरानो विकासक्रमसँगै बल्ल नेपालमा ६१ प्रतिशत नेपालीको क, ख र ग वर्गका वित्तीय संस्थामै खाता छ । त्यसमा ‘घ’ र सहकारीलाई पनि जोड्ने हो भने करिब ८० प्रतिशत नेपाली समक्ष वित्तीय पहुँच पुगेको छ । नेपालमा हाल २७ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक, २१ वटा वित्त कम्पनी, ८१ वटा लघुवित्त संस्थाहरु र १ वटा पुर्वाधार बिकास बैंक रहेका छन् । यसबाहेक, कर्मचारी संचय कोष, मर्चेन्ट बैंकहरु, नागरिक लगानी कोष, ४० वटा बीमा कम्पनीहरु लगायत वित्तीय कारोबार गर्ने कम्पनीहरु संचालनमा छन्।

बैंक तथा बित्तीय संस्थाहरुको शाखाहरु आर्थिक बर्ष २०७३/७४ मा ४२७४ रहेकोमा आर्थिक बर्ष २०७६/७७ ८६८६ पुगिसकेको छ । विधुतीय प्रबिधीको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । झण्डै ४ हजार एटीएम सञ्चालनमा छन् । मोबाइल बैंकिङ प्रयोग गर्ने नेपालीको संख्या अर्थिक बर्ष २०७३/७४ मा १७ लाख रहेकोमा आर्थिक बर्ष २०७६/७७ मा ९८ लाख पुगिसकेको छ ।आर्थिक बर्ष २०७६/७७ को पुष मसान्तसम्म ७५३ स्थानीय तह मध्ये ७४३ स्थानियतहमा बैंक तथा वित्तीय संस्थाको पहुँच रहेको देखिन्छ।

अन्त्यमा

नेपालको ८ दशक लामो बैंकिङ इतिहासमा हालसम्म एकिक्रित रुपमा राष्ट्रिय बैंक दिवस मनाइएको छैन । नेपालको आधुनिक बैंकिङ क्षेत्रमा बैंकिङ पद्ती भित्र्याइएको दिनलाई राष्ट्रिय बैंक दिवसको रूपमा मनाउन सकिन्छ । कार्तिक ३० गते (नेपाल बैंक को स्थापना) कै दिन  किन मनाउने त राष्ट्रिय बैंक दिवस 

  • नेपालको बैंकीङ क्षेत्रमा क ख रा सिकउने बैंक
  • आधुनिक बैंकिङको नयाँ अवधारणालाई बुझाउदै बचतकर्ताहरुलाई बचत गर्ने बानीको बिकास गराउनु
  •  वित्तीय कारोबार गर्ने नेपालको पहिलो बैंकको रूपमा स्थापित
  • बैदेशिक ब्यापारको प्रवद्धन गराउनु
  •  वित्तीय साधन तथा श्रोतको पहिचान, संकलन तथा पुजी निर्माणमा सकृय हुनु
  • बहुमुल्य बस्तु धितो राखी आमसर्बसाधारण जनताहरुलाई ऋण प्रादन गर्नु

 

(लेखक हाल नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ ।)

 

 

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]