October 17th, 2020

सातामा लगानीकर्ताको सम्पत्ति ३६ अर्बभन्दा बढी गुम्यो, परिसूचक २७.१७ अंक तल

 गत साताको तुलनामा यो साता शेयर बजारका लगानीकर्ताहरुले रू. ३६ अर्ब २२ करोड गुमाएका छन् ।

 यो साताको अन्तिम कारोबार दिन असोज २९ गते बिहीवार लगानीकर्ताहरुको सम्पत्ति अर्थात् कुल बजार पूँजीकरण रकम रू. २० खर्ब ८२ अर्ब ५८ करोड १० लाखमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन असोज २२ गते बिहीवारसम्म यो रकम रू. २१ खर्ब १८ अर्ब ८० करोड १० लाख रहेको थियो ।

यो साता गत साताको तुलनामा कुल बजार पूँजीकरणसँगै महत्वपूर्ण सुचकहरु सबैमा कमि आएको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ५६२ दशमलव ४६ विन्दुमा बन्द भएको छ । गत साताको अन्तिम दिन बजार १ हजार ५८९ दशमलव ६३ विन्दुमा रहेको थियो । 
यो साता बजार २७ दशमलव १७ अंक तल झरेको हो । साताको पाँच कारोबार दिनामा बजार दुई दिन मात्र बढेको छ ।

साताको दोस्रो दिन र अन्तिम दिन बजार बढेको हो । साताको पहिलो कारोबार दिन १३ दशमलव ३७ अंकले बजार दोस्रो दिन १ दशमलव ७४ अंकले बढेको थियो । तेस्रो दिन ९ दशमलव ४२ अंक र चौथो दिन ७ दशमलव ४२ अंक घटेको बजार पाँचौ दिन भने १ दशमलव २९ अंक बढेर बन्द भएको हो ।

बुधवार अर्थमन्त्रिका रुपमा विष्णुप्रसाद पौडेल नियुक्त भएका थिए । नेपालको शेयर बजारले ऐतिहासिक उचाई चुमेको समयमा पौडेलनै अर्थमन्त्रि रहेकाले पनि उनको पुनः आगमनले बजारलाई सकारात्मक सन्देश पुगेको लगानीकर्ताहरु बताउँछन् । बिहीवार सामान्य अंक बढेर ग्रीन सिग्नल दिएको बजारले आगामी दिनमा नयाँ उचाई कायम गर्ने विश्वास समेत लगानीकर्ताहरुले लिएका छन् । 

गत साता रू. १४ अर्ब ६४ करोड ७३ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको थियो । यो साता भने कारोबार रकम रू. ५ अर्ब ५५ करोड ७९ लाख ७९ हजारले घटेको छ । यो साता रू. ९ अर्ब ८ करोड ६४ लाख १० हजारको कारोबार भएको हो ।

पहिलो कारोबार दिन रू. २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस पछिको दुई कारोबार दिनमा करीब रू. २ अर्बको कारोबार भएको छ । यो साताा अन्तिम दुई कारोबार दिन भने रू.१ अर्ब ५० करोडको हाराहारीमा शेयर कारोबार भएको छ । 

गत साताको तुलनामा यो साता कारोबार शेयर कित्ता पनि घटेको छ । गत साता ५ करोड ४४ लाख १८ हजार ६०३ कित्ता शेयर कारोबार भएकोमा यो साता ३ करोड ३१ लाख ६५ हजार ८१६ कित्ता शेयर कारोबार भएको छ ।

गत साताभन्दा यो साता २ करोड १२ लाख कित्ता कम शेयर कारोबार भएको हो ।यो साता लगानीकर्ताहरुमा अन्योलको अवस्था आएकाले महत्वपूर्ण सुचकहरुमा कमि आएको जानकारहरु बताउँछन् ।

सूचीकृत कम्पनीहरुको लाभांश प्रस्तावमा ढिलाई, देशमा पुनः लकडाउन हुनसक्ने अन्योलता लगाएतका कारण लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको जानकारहरुको भनाइ छ ।

पहिलो त्रैमास सकिसकेको अवस्थामा अब भने सूचीकृत कम्पनीहरुले लाभांश प्रस्तावमा ढिलाई नगर्ने अपेक्षा लगानीकर्ताहरुको रहेको छ ।

साताको बजारमा देखिएको परिवर्तनको अवस्था :

 


स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु  :

 

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

यो साता सर्वाधिक कारोबारमा सबैभन्दा बढी हिस्सा मुक्तिनाथ विकास बैंकले ओगटेको छ । मुक्तिनाथ विकास बैंकको सातामा रू. ३१ करोड ५९ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो साता सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरुमध्ये चार ओटा जलविद्युत् कम्पनीहरु रहेका छन् । अपि पावर, सानिमामाई हाइड्रो, अरुणभ्याली हाइड्रोपावर र अरुण कावेली पावरले यो साता सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीभित्र आफ्नो स्थान बनाएका हुन् ।

४६ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको अपि पावर यो साता सर्वाधिक रकमको कारोबार गर्ने दशमध्य दोस्रो नम्बरमा रहेको छ । अपिको यो साता रू. ३० करोड ७० लाख २३ हजार बराबरको शेयर कारोबार भएको हो । 
सर्वाधिक बजार पूँजीकरण भएका १० ओटा कम्पनीहरु  ः (रकम रू. १०लाख)

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

दोस्रो बजारमा सर्वाधिक बजार पूँजीकरण यो साता पनि नेपाल दुरसञ्चार कम्पनीकै कायम भएको छ । उक्त कम्पनीको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ६ अर्ब ५ करोड कायम भएको हो । गत साताको तुलनामा उक्त कम्पनीको कुल बजार पूँजीकरण रकम रू. ९७ करोड ५० लाखले वृद्धि भएको छ ।

गत साताको अन्तिम कारोबार दिन नेपाल दुरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ५ अर्ब ७५ करोड थियो । सर्वाधिक बजार पूँजीकरण भएको कम्पनीमध्य दोस्रोमा रहेको नबिल बैंकको पूँजीकरण भने गत साताभन्दा यो साता कम भएको छ । 

गत साता रू. ८७ अर्ब ६४ करोड १० लाख रहेको उक्त कम्पनीको बजार पूँजीकरण रकम यो साता रू. ८६ अर्ब ७३ करोड ४० लाखमा झरेको हो । गत साताभन्दा यो साता उक्त कम्पनीको कुल बजारपूँजीकरण रकम रू. ९० करोड ७० लाखले कम भएको हो ।

 

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]