October 14th, 2020

विपन्न वर्गलाई बैंकिङ सेवा दिने भनेकै लघुवित्त हो

कोभिडले सन्सारकै अर्थतन्त्रमा ठुलो प्रभाव पारेको छ । लामो समयको लकडाउन तथा निशेधाज्ञाले समग्र क्षेत्र ठप्प रह्यो, जसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेन । ग्रामिण भेगका जनतालाई वित्तीय सेवासँगै दुर्गम क्षेत्रहरुमा वित्तीय चेतना र वित्तीय पहुँच पुर्याउने कार्यमा अगाडि रहेको लघुवित्त क्षेत्रको पछिल्लो अवस्था चुनौती र लघुवित्त क्षेत्रलाई थप प्रभावकारी बनाउन के गरिनु पर्ला भन्ने विषयमा बैकिङ खबरले स्वस्तिक लघुवित्तका ‘सिईओ’ जीवन खनालसँग गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाइ प्रमुख कार्यकारी अधिकृत रहेको लघुवित्त वित्तीय संस्थाको मर्जर कहाँ पुग्दैछ, कुन कुन लघुवित्तसँग मर्जरको योजना बनाउँदै हुनुहुन्छ ?

अहिले हामीले समाज लघुवित्त वित्तीय संस्थासँग मर्जरको योजना बनाएर अघि बढेका छौं । यसै आधारमा असोज ५ गते स्वस्तिक लघुवित्त र समाज लघुवित्त मर्जर सम्झौता समेत गरिसकेका छौं । अन्य लघुवित्तहरुसँग पनि मर्जरको कुराकानी हुँदैछ, तथापि पूर्ण रुपमा सहमति जुटेको अबस्था छैन ।

कोभिडका कारण लघुवित्त क्षेत्रमा के–कस्ता प्रभाव परेका छन् ?
कोभिडले नेपालको समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्था छ । जसको प्रत्यक्ष असर वित्तीय क्षेत्रमा समेत परेको छ । कोभिडका कारण सरकारले लामो समयसम्म जारी गरेको कलडाउन र निषेधाज्ञाले समग्र क्षेत्र नै ठप्प भएको थियो ।  जसले गर्दा उत्पादकत्वमा कमी, आम्दानी हुन नसकेको र उद्योगधन्दा विस्थापित भएको अवस्था थियो, जसका कारण ‘क्यास फ्लो’को ‘मुभमेन्ट’ हुन सकिरहेको छैन । कोभिडले गर्दा सबैभन्दा बढि विपन्न बर्ग नै पिडित भएको अवस्था छ, कयौंले रोजगारी गुमाए, व्यापार व्यवसाय ठप्प हुँदा विपन्न वर्गलाई सबैभन्दा बढि समस्या भएको छ । अहिले लघुवित्त संस्थालाई लगानी गर्न समेत गाह्रो भएको र लगानी उठाउन समेत समस्या देखिएको छ । लकडाउन खुलिसकेकाले गर्दा अवस्था अलि सामान्य बन्दै गइरहेको छ, तर पनि संक्रमण बढ्दै जाँदा सामान्य अबस्था छैन । कृषिको काम गर्नेहरुमा काम निरन्तर भइरहेको छ । तर सानो व्यवसाय, धुम्ती व्यवसाय, चिया खाजा पसल संचालन, हाट बजारतिर व्यवसाय गर्नेहरुलाई केहि समस्या भएको छ । अहिले चहलपहल सुरु भएसंगै हामीले उद्यमशिलतालाई जोड दिदै कर्जा प्रवाह सुचारु समेत गरिसकेका छौं । उद्यमशिलतामा परिचालन गर्ने उद्देश्यका साथ हामी लागिसकेका छौं ।

कोभिडका कारण लघुवित्तमा कर्जा जोखिमको अवस्था कस्तो रहेको छ ?
लघुवित्तबाट कर्जा प्राय विपन्न वर्ग, जसको आयस्तर न्यून हुन्छ, सिमित उद्यमशिलताको काम गर्ने व्यक्तिले लिएका हुन्छन् । न्यून आयस्रोत भएका व्यक्तिलाई कोभिडले निकै असर गरेको छ । सानो पूँजीमा विभिन्न कुखुरा पालन, कृषि, खाजा नास्ता पसल लगायतका व्यवसाय गर्ने व्यक्तिलाई कोभिडले प्रत्यक्ष असर गरेको छ । लकडाउनमा यस्ता प्रकारका व्यवसाय ठप्प भएका थिए । जसले गर्दा क्यास फ्लो हुन पाएन, सानो पूँजीले संचालन गरिएका व्यवसाय सानो बजारमा सिमित हुन्छन्, कोभिडको समयमा बजार बन्द हुँदा यस्ता प्रकारका व्यवसायमा रोग लागे जस्तै भएका छन् । करिब ६० प्रतिशत लघुवित्तको कर्जा समस्यामा परेको अनुमान गरिएको छ ।

हालको अवस्थामा समग्र लघुवित्त वित्तीय संस्थाहरु कसरी अगाडि बढ्दैछन् ?
अहिलेको अवस्थामा तरलता सहज छ, तरलता सहज भयो भने लघुवित्तलाई बाच्न गाह्रो हँुदैन । बैंकले लघुवित्तलाई दिने ‘बरोइङ’ स्थिर भयो भने बाच्न सहज नै हुन्छ । अहिले राष्ट्र बैंकले स्थिर व्याजदर लागू गर्न निर्देशन दिएको अवस्था छ, यसले लघुवित्तलाई राम्रो हुन्छ । लघुवित्तको करिब ३० वर्षको इतिहास छ, अहिलेसम्म लघुवित्त कम्पनी पुरानै प्याटनबाट संचालनमा भइरहेका छन् । यस्तो अवस्थामा हामी डिजिटलाइज भएर अगाडि बढ्न खोजिरहेका छौं । चाडै नै ट्याबलेट बैंकिङ सेवा सुचारु गर्ने सोचमा छौं ।

नेपालमा लघुवित्तको भविष्य कस्तो देख्नुहुन्छ ?
यतिबेला बजारमा लघुवित्त बर्वाद भए भन्ने हल्ला चलिरहेका छन्, यो सत्य होइन । केहि समय अगाडि कमाउने उद्देश्यले कैयौं लघुवित्त स्थापना भएकै हुन् । राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ स्थापनामा रोक लगायसँगै घरानीयाहरु लघुवित्ततिर आकर्षित भए, जसले गर्दा लघुवित्तको संख्यामा वृद्धि देखिएको हो । अहिले राष्ट्र बैंकले लघुवित्तको व्याजदर १५ प्रतिशतमा फिक्स गरेको छ, यसले केहि समय गाह्रो होला तर दिर्घकालीन रुपमा व्यवसाय विस्तारमा राम्रो हुन्छ । केहि राम्रो काम गर्छु भन्ने लघुवित्त सदस्यलाई १५ प्रतिशतमा फिक्स व्याजदर निकै उपयोगि हुने देखिन्छ । लघुवित्तलाई बैंकले दिने कर्जाको व्याजदर फिक्स भइदिएको भए लघुवित्तलाई अझै सहज हुन्थ्यो । लघुवित्तको संख्या घट्नु पर्छ, गुणात्मक भन्दा पनि संख्यात्मक भएकाले लघुवित्तको संख्या घटे भने, लघुवित्तको भविष्य राम्रो छ । कुनै दिन लघुवित्तले २५ प्रतिशतसम्म व्याज लिने गरेका थिए भने, अहिले फिक्स व्याजदर लागू गरिएको छ, यसले गर्दा मेम्बर, संचालक, कर्मचारी सबैका लागि राम्रो हुने देखिन्छ ।

वित्तीय क्षेत्रमा लघुवित्तको कस्तो भूमिका देख्नुहुन्छ ?
लघुवित्तले गरिबी न्यूनीकरण तथा विपन्न बर्गको उत्थानको लागि काम गर्ने गर्दछ । नेपालको सन्दर्भमा दुर दराज, हिमाल पहाड तराई लगायतका सम्पूर्ण ठाउँमा गएर विपन्न वर्गलाई बैंकिङ सेवा दिने भनेको नै लघुवित्त हो । देशमा वित्तीय साक्षरता दर वृद्धि गर्न, उद्यमशिलता विकास गर्नको लागि लघुवित्तको ठुलो योगदान छ । लघुवित्तले गर्दा वित्तीय क्षेत्रमा सक्षम जनशक्तिको उत्पादन भइरहेको छ । घरदैलोमा बैंकिङ सेवा पुगेकाले महिलामा पनि वित्तीय साक्षरता बढेको छ । न्युन वर्गका जनता पनि धेरथौर लगानीमा प्रोत्साहित भएका छन् । क्रेडिट कल्चरको डिसिप्लिन पनि भएको छ । यसरी हेर्दा लघुवित्तले सकरात्मक प्रभाव परेको छ ।

तपाईको बीचारमा नेपालमा लघुवित्त वित्तीय संस्थालाई थप प्रभावकारी बनाउन के गरिनु पर्ला ?
लघुवित्त वित्तीय संस्थालाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकले कडा नीति ल्याउनु पर्दछ । अहिले ल्याएको १५ प्रतिशत व्याजदर सराहनिय छ । लघुवित्तको स्रोत तरलतामा नेपाल राष्ट्र बैंकले परिपत्र ल्याउन जरुरी छ, बैंकले मोनोपोलि किसिमले नभएर लघुवित्तलाई दिने कर्जा बेसरेट भन्दा पनि फिक्स गरियो भने प्रभावकारी बनाउन सकिन्छ । तरलतामा अभाव भएन भने लघुवित्त टिक्छन्, अर्काे लघुवित्तको संख्यामा कमी आउन जरुरी छ, लघुवित्तले प्रदान गर्ने सेवामा गुणस्तर कायम हुनुपर्दछ । सबै लघुवित्त कर्जा सूचना आवेदन केन्द्रमा आवद्ध हुने र कर्जा सुचना केन्द्रले अन टाइम कर्जाको सुचना दिने हो भने कर्जा गुणस्तर कायम हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]