July 14th, 2020

के पुँजीका लागि मात्रै हो मर्जर ? किन टिक्दैनन् कर्मचारी !

पछिल्लो समय ग्लोबल आईएमई र जनता बैंक मर्ज भएर ग्लोबल आईएमई बैंक बन्यो । प्रभुले ग्राण्ड बैंकलाई मर्ज गर्यो । क्रिष्ट बैंक र प्रभु बैंक एक आपसमा मर्जरमा गए । यसैबीच लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भए । बैंक अफ एशिया र एनआईसी मर्ज भएर एनआईसी एशिया बन्यो । प्रभु फाइनान्स विकास बैंक हुँदै वाणिज्य बैंक बनेको हो । 

सानो संस्थाले नेतृत्व हाकेकाले होला अहिलेसम्म प्रभुमा खासै ठूलो समस्या आएको छैन । तर, मर्जरकै कारणले बैंकहरूको पुँजी बढेपनि मर्जर भएर आएका संस्थाहरूकोे अधिकांश कर्मचारी भने टिक्न सकेको देखिदैन । मर्जका बेलामा कर्मचारी समायोजनको व्यवस्थापन मिलेपनि पछि ठूला बैंकका व्यवस्थापक तथा सञ्चालकले साना तथा आफ्नो संस्थासँग विलय भएका बैंकका कर्मचारीलाई पछि विभिन्न योजना ल्याएर निष्कन बाध्य बनाएका छन् ।

यसरी कर्मचारीलाई निकाल्नुमा सञ्चालक तथा व्यवस्थापकको स्वार्थ हुन सक्छ अर्थात केहि प्राविधिक कारणले पनि हुन सक्छ । यद्यपि कर्मचारी निकाल्नु त्यो पनि यो विषम परिस्थितिमा कति को जायज हुन्छ ।  यो विषय भने  सोचनीय हो । मर्जका बेला कर्मचारीलाई ठूलो संस्थासँग मर्ज हुँदाका विभिन्न सेवा सुविधाको लोभ देखाइन्छ र अन्त्यमा गएर माउ संस्थाले उनीहरूलाई स्वच्छिक अवकास (भीआरएस) लिन लगाउँछ । 

यसको ज्वलन्त उदाहरण हो सात महिना अघि मर्जर भएको ग्लोबल आईएमई र जनता बैंकको । बैंक मर्जरमा गएको सात महिना पुग्दै गर्दा ले बैंकबाट २७ जना कर्मचारीलाई भीआरएसमात्रै लिन लगाइएन, स्वयम प्रमुख कार्यकारी अधिकृत समेतलाई राजिनामा दिन बाध्य गराइयो । यस अघि नै जनताका माथिल्लो तहका कर्मचारी ग्लोबलबाट बाहिरी सकेका छन् भने हाल भीआरएस लिने कर्मचारीहरू जनता बैंकबाट बैंकसँगै आएका थिए ।

विभिन्न साना वित्तीय संस्थालाई समाहित गरेर बनेको कुमारी बैंकको कथा त्यस्तै छ । बैंकले पनि गत चैतमा २८ जना कर्मचारीलाई भीआरएस लिन लगायो । एनआईसी एसिया मर्ज भएपछि माथिल्लो तहका ११ जना कर्मचारीले राजीनामा दिएका थिए । 

मर्जकै कारणले धेरै सीईओको जागिर गएको छ भने धेरै कर्मचारी रोजगारी विहिन भएका छन् । मर्जका बेला कर्मचारीलाई आकर्षक सेवा सुविधा सहित तह वृद्धिसम्मका विषय उठ्ने गर्छन र सोही अनुरुपका काम कारवाही पनि हुन्छ । पछि समय बित्दै गएपछि मर्जसँगै ल्याइएका कर्मचारीलाई जागिरबाट विभिन्न वाहनामा निकाल्ने गरिन्छ । 

त्यसो भए के मर्जर पुँजी वृद्धिका लागि मात्रै हो त भन्ने प्रश्न खडा गरिदिएको छ । राष्ट्र बैंक एवम् सरकारले लिएको बिग मर्जर नीतिले पुँजी बढेर बैंक दरिलो बने पनि कर्मचारी व्यवस्थापनमा भने सफल हुन सकेको देखिदैन । 

मर्ज अगाडि ग्लोबल आईएमईको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार थियो र जनताको ८ अर्ब ७ लाख ८५ हजार थियो । दुबैको बैंकको पुँजी मिलेर ग्लाबल आइएमइ बैंक (इन्फ्रास्ट्रक्चर बैंक बाहेक) मुलुककै ठूलो वाणिज्य बैंक बनेको छ । 

त्यस्तै प्रभूसँग अन्य बैंक तथा वित्तीय संस्था गाँभिदा प्रभू विकास बैंकको चुक्ता पुँजी ७६ करोड ४९ लाखमात्र थियो । २ अर्ब चुक्ता पुँजी भएको किष्ट बैंक,  २१ करोड रुपैयाँ पुँजी भएको गौरीशंकर र २३ करोड रुपैयाँको जेनिथ फाइनान्स मिलेर बनेको प्रभू बैंको अहिले १० अर्ब ३१ करोड ५५ लाख चुक्ता पुँजी रहेको छ । 

मर्ज अगाडि एनआईसीको चुक्ता पुँजी १ अर्ब ४३ करोड रुपैयाँ छ । बैंक अफ एशिया (बिओए) को चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यी दुई बैंक मर्जरपछि कुल चुक्ता पुँजी ३ अर्ब ४३ करोड पुग्नेको थियो । त्यति बेला दुई वटा वाणिज्य बैंक मिलेर बनेको एनआईसी एशिया बैंकको अहिले चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख पुगेको छ । 

त्यस्तै देव विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ छ । कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ४१ लाखरुपैयाँ रहेको छ । यी दुई बैंक हिजो २८ असारमा मर्ज  भएका छन् । कुमारी र देव विकास बैंक मर्जपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ४१ लाख पुगेको छ । 
प्राइमको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ । यसमा कैशालको २ अर्ब ३६ करोड, कन्काइ विकास बैंकको ५१ करोड रुपैयाँ ललितपुर फाइनान्सको २३ करोड ६८ लाख रुपैयाँ रहेको छ । तीन वटा सस्थाको पुँजी मिसाउदा अहिले प्राइमको चुक्तापुँजी साढे १३ अर्ब ९८ करोड ५२ लाख पुग्ने देखिन्छ ।

एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी  २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस अघि नै २०७१ मै क्लिन इनर्जी डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग गाँभिएको थियो । यी बैंकहरू एक आपसमा गाभिएपछि चुक्ता पूँजी १३ अर्ब ९५ करोड चुक्ता पुँजी पुगेको छ । 

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]