July 2nd, 2020

आधुनिक प्रविधिले खेतीमा फर्काउँदै

असार १५ मा भव्य रोपाइँ गरिन्थ्यो । धान पनि राम्रो फल्थ्यो । यति हुँदा पनि लगानीअनुसारको प्रतिफल भने उठ्दैनथ्यो । हिलो आली गरेर धान रोप्ने खेतैभर अहिले रमित लाग्नेगरी सेतै जालीवाला सुरुङ (टनेल) निर्माण गरिएको छ । झापाको दमक–३ का वीरेन्द्र पोख्रेलको धान खेतमा पनि अहिले यस्तै छ ।
सधैँ धान रोप्ने खेतमा यस वर्ष तरकारी खेती गर्ने उद्देश्यले टनेल निर्माण गरिएको छ । टनेलभित्र कतै टमाटर खेती लगाइएको छ त कतै काँक्रा रोप्ने तयारी छ । कुनै टनेलमा रायोको साग रोपिने भएको छ । यस्तै भिन्डी, करेलालगायतका तरकारी खेती गरिने भएको छ ।
झापाको दमक–३ स्थित आमचोकमा रहेको मानसरोवर कृषि सहकारी संस्थाले प्राङ्गारिक प्रविधिको प्रयोग गरेर बेमौसमी तरकारी खेती गर्न सुरु गरेकोे हो ।
परम्परागत खेती हुँदै आएको सो क्षेत्रमा गत आर्थिक वर्षदेखि बेमौसमी अर्गानिक खेती गर्न थालिएको हो । सहकारीका अध्यक्ष विश्व बरालले पुरानो खेती प्रणलीबाट किसान खेती छोड्न थालेपछि नयाँ प्रविधि र यन्त्रको प्रयोग गरी किसानलाई खेतीमा नै फर्काउन सामूहिक खेती गर्न थालिएको बताउनुभयो । सहकारीले यहाँ १५ बिघा जग्गा भाडामा लिएर तिनै किसानलाई नयाँ तरिकाले काम गर्न सिकाइ रहेको छ । यहाँ ११ वटा टनेलसमेत निर्माण गरिएको छ ।
खेत आफ्नै, काम गर्ने आफैँले यही खेतमा काम गर्दा किसानले दैनिक ज्याला पनि पाउने भएका छन् भने खेतमा काम गर्दा नै नयाँ खेतीबारे अध्ययनसमेत गर्न पाएका छन् । सोही सहकारीका उपाध्यक्षसमेत रहनुभएका स्थानीय वीरेन्द्र पोख्रेलले आफ्नो छ बिघा खेत अहिले सहकारीलाई भाडामा दिनुभएको छ तर उहाँ आफैँ त्यो खेतमा काम पनि गर्नुहुन्छ । काम गरेबापत ज्याला र खेती गर्ने नयाँ तरिका सिकिरहनुभएको छ भने उत्पादनबाट आएको नाफासमेत पाउनुहुन्छ । एकातिर सामूहिकतामा खेती गर्न सहज हुने भएकाले किसान आकर्षित भएको पइएको छ । सहकारीले खेती गर्ने योजना बनाएपछि दमक नगरपालिकाले एक जना कृषि प्राविधिकसमेत व्यवस्था गरिदिएको छ ।
खेतीमा प्राविधिकले फिल्डमा नै गएर माटो बनाउने, रोप्ने, प्राङ्गारिक मल बनाउने औषधि निर्माणदेखि प्रयोग गर्ने विषयमा समेत किसानलाई सिकाउने गरिएको छ । करिब तीन सय किसानलाई १३ वटा समूह गठन गरी खेतीमा तालिका बनाएर काम सिकाइने गरेको छ । यसले गर्दा किसानले भोलि नयाँ प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा आफैँ सक्षम हुने आशा गरिएको छ ।
टनेलमा खेती गर्दा एउटा टनेल ३६० वर्गमिटरमा एकपटकको बालीमा २० हजार रुपियाँ खर्च गर्दा दुई गुणा बढी मुनाफा हुने गरेको छ । यहाँ तीन प्रकृतिबाट खेती गरिरहेको संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनुभयो । यहाँ नमुना खेती, टनेल खेती र खुला खेती गरी तीन तरिकाले खेती गरिँदै आएको छ । नमुना खेतीमा टनेलबाहिर जमिनलाई व्यवस्थित गरी प्लास्टिकको मल्चिङ प्रविधि प्रयोग गरेर खेती गरिएको छ भने खुलामा बेसार, केरा, करेला, बोडीलगायत खेती गरिएको छ । गत वर्षदेखि नै सुरु गरिएको यो खेतीमा चाँडै सफल भएको पाइएको छ ।
सामूहिक खेती सफल हुँदै गएपछि पछिल्लो समय झापामा समूहिकताबाट नै अर्गानिक तरकारी उत्पादन गर्न थालिएको छ । संस्थाले जिल्लालाई धान सुपरजोन जिल्ला घोषण भएपछि यहाँ तीन सय बिघा क्षेत्रमा प्राङ्गारिक धान उत्पादनसमेत गर्न थालिएको छ ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]