July 2nd, 2020

कच्चा पदार्थको अभावमा उद्योग सञ्चालन गर्न समस्या

साना तथा घरेलु उद्योगीहरुको गुनासो

साना तथा घरेलु उद्योगीहरुले दोस्रो चरणको राहतको प्याकेज घोषणा गर्न आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले मंगलबार प्रतिनिधिसभा अन्तर्गको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा २० बुँदे सुझाव पेश गर्दै दोस्रो चरणको राहतको प्याकेज घोषणा गर्न आग्रह गरेका हुन् ।
उद्योगीहरुले कोरोना महामारीका कारण करिब ८० प्रतिशत उद्योग बन्द रहेकोले लकडाउन आशिंक रुपमा खुकुलो भएपनि उद्योग सञ्चालन गर्न समस्या भएको बताएका छन् । समितिको बैठकमा महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारले लकडाउन केही खुकुलो बनाएपनि कच्चा पदार्थको उपलब्धतामा कमि आएको कारण समस्या भएको गुनासो गरे । यस्तै, उहाँले आपूर्तिमा भएको अवरोधले उत्पादनमा लागत बढेको, कामदारहरुको समस्या भएको, आर्थिक अभावले उत्पादनमा अवरोध आएको र बजारमा मागमा कमि आएको समेत गुनासो गरे । यसका अतिरिक्त कृषि तथा अन्य आयातित वस्तु नेपाली बजारमा आएपनि स्वदेशी उत्पादनहरुको ढुवानी व्यवस्थित नहुँदा बिक्री वितरणमा अवरोध भएको पनि उनले बताए ।

बैठकमा महासंघका कार्यवाहक अध्यक्ष सिंहले साना तथा घरेलु उद्योगको सुधारका लागि सरकारले बजेटमाफत् ल्याएको राहतको स्वागत गर्दै थप कदमहरु तत्काल चाल्न निर्देशन दिन समितलाई सुझाव समेत दिए । त्यसका लागि कोरोनाका कारण यस क्षेत्रका पीडित उद्योगहरुलाई एक वर्षसम्मको बैंकको व्याजदर छुट दिनुपर्ने, मौद्रिक नीतिमा विपन्न वर्ग कर्जा कार्यक्रमलाई लघु र घरेलु उद्यमसँग आवद्ध गराई पुँजीमा पहुच अभिवृद्धि गर्नुपर्ने, मेशिनरी लगायत स्थिर पुँजीलाई पनि धितो मानी कर्जा दिनुपर्ने, एक करोडसम्म ऋण बैंकको आधार दरमा उपलब्ध गराउनु पर्ने लगायतका दोस्रो चरणको राहतको प्याकेज घोषणा गर्न सिंहले माग गरे ।
महासंघको अनुसार मुलुकभर दर्ता रहेका करिव ५ लाख साना तथा घरेलु उद्योगमध्य हाल साढे तीन लाख सञ्चालनमा रहेका छन् । लकडाउनको अवधिमा यसको ८० प्रतिशत मात्रै सञ्चालनमा आएको महासंघको दावी छ । ती उद्योगहरुले करिब ५० हजार ५ सय ५२ करोड रुपैयाँ लगानी गरेको तथा करिब २८ लाख जना रोजगार दिएको पनि महासंघले जनाएको छ ।

 
कारोबार दैनिकमा प्रकाशित समाचार ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]