June 3rd, 2020

कर्मचारीको भत्ताका शीर्षकमा अर्थमन्त्रीले किन झुट बोले ?

बजेट प्रस्तुत गर्दा अर्थमन्त्री खतिवडाले फन्टलाइनमा काम गर्ने कर्मचारी बाहेक अन्य कर्मचारीको भत्ता कटौती गर्ने भने पनि बजेटले कर्मचारीे भत्ता शीर्षकमा १२ अर्ब ९५ करोड १५ लाख विनियोजन गरेको छ । ‘कोरोना रोगको रोगथामका सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवक बाहेक अरुलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च भत्ता, अतिरिक्त समय भत्तालगायत सबै प्रकारका अन्य भत्ता २०७७ साउन १ गतेदेखि खारेज गरेको छु,’ बजेटको बुँदा नम्बर २९४ उल्लेख गरिएको छ ।

कर्मचारी भत्ता शीर्षक अन्र्तगतको उपशीर्षकमा स्थानीय भत्ता एक अर्ब ९६ करोड ६२ लाख, महँगी भत्ता शीर्षकमा ७ अर्ब १६ करोड ७३ लाख तथा फिल्ड भत्ता शीर्षकमा साढे एक करोड विनियोजन गरिएको छ । आगामी आवको बजेटमा कर्मचारीको बैठक भत्तामा २० करोड ३७ लाख विनियोजन भएको छ भने कर्मचारीलाई प्रोत्साहन गर्न तथा पुरस्कार प्रदान गर्न १६ करोड ५९ करोड बजेट विनियोजन भएको छ ।

वैदेशिक भत्ताको लागि ८२ करोड ८९ लाख बजेट विनियोजन भएको छ अन्य भत्तामा दुई अर्ब ६० करोड ३९ लाख विनियोजन गरिएको हो । पदाधिकारी भत्ता तथा अन्य सुविधाको लागि ४७ करोड ९८ लाख बजेट विनियोजन गरिएको छ । सार्वजनिक खर्च कटौती गरेर खर्च मितव्ययिता गर्ने उद्देश्य बोकेका अर्थमन्त्रीले आम कर्मचारीको भत्ता काटिएको बजेट भाषणमा भने पनि बजेट अनुसूचीमा भने कर्मचारीको भत्ताका शीर्षक तथा उपशीर्षकहरू छरपष्ट देख्न पाइन्छ ।

कर्मचारीको तलबमा भन्दा सामाजिक सुरक्षामा बढी बजेट

सरकारले कर्मचारीको तलब भत्ताभन्दा सामाजिक सुरक्षामा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा करिब ५ लाख कर्मचारीकोलागि एक खर्ब ३८ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ भने सामाजिक सुरक्षाको लागि एक खर्ब ८८ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

चालु आवमा कर्मचारीको तलब भत्ताको लागि एक खर्ब ४५ अर्ब बजेट विनियोजन भएको थियो भने सामाजिक सुरक्षाको लागि १ खर्ब २ अर्ब ५ करोड बजेट विनियोजन भएको थियो । चालु आवको बजेटले कर्मचारीको तलब भत्ता ६ अर्ब ६७ करोड ३१ लाखले घटेको छ भने सामाजिक सुरक्षा भत्ता भने ८७ अर्बले बढेको छ ।

उक्त बजेटमध्य एक खर्ब रुपैयाँ नगदमा दिइने पारिश्रमिक सुविधा भएको बजेटमा उल्लेख गरिएको छ । औषधि उपचार खर्चका लागि २ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पोशाकको लागि चार अर्ब ४६ करोड ४८ लाख रुपैयाँ र खाद्यान्नको लागि १३ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सामाजिक सुरक्षाअन्तर्गतको शीर्षकमा निवृत्त कर्मचारीको पेन्सन, वृद्धवृद्धा भत्ता, स्कूलहरूमा खाजाको लागि दिइने भत्ता पनि रहेको छ ।

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]