May 25th, 2020

शिक्षाको सार्थकता सरकारी सेवामा छिरे मात्र : मेरो समाज

सुधिर पंडित-

मलाई दिनहुँ मेरो गाउँ र समाजको अधिकासले एउटै प्रश्न सोधी रहन्छन “तिम्रो जब लाग्यो?” अनि मेरो पनि उतर  चाडै आउँछ “अ लाग्यो अन्कल/काका” फेरि म माथी अर्को प्रश्नको प्रहार हुन्छ ” सरकारी नै हो त् ?”। अनि मेरो मन भित्र देखि निराश हुन्छ र रिस पनि हुन्छ त्यसैले  मेरो जवाफ अलि बिस्तारै “सरकारी त होइन र कुनै पनि बैंक निजि  हुदैनन्। पब्लिक लिमिटेड कम्पनी हो तर सुबिधा र भबिस्यको तुलनामा सरकारी भन्दा कम छैन।” फेरि मलाई पिडा दिने पारामै प्रतिक्रिया आउँछ ” जे भए नि सरकारी त होइन नि, सरकारी तिर जाउ के?”

नेपाली समाजमा एउटा गरिब  बर्गको परिवारबाट आबद्ध बिद्यार्थी आफ्नो उच्च शिक्षाहरु छात्रवृत्तिबाट प्राप्त गर्दै २२-२३ बर्षको उमेरमा एउटा ‘क’ बर्गको बैंकमा प्रतिस्पर्धा र योग्यता प्रणालीको माध्यमलेनै छिरेर काम गर्नुको साथसाथै आफ्नो (MBS) पढाई र गाउँको ४०-५० जना SEE बिद्यार्थीहरुलाइ पढाउनु औषतमा एउटा नेपाली युवाले गर्न सक्ने भन्दा माथिनै हो जस्तो लाग्छ। यसरी आफ्नो अध्ययनको साथसाथै महिनाको न्युनतम ५०,००० कमाउनु हालको आम्दानीको साथसाथै भबिस्य पनि एकदमै उज्वल छ भन्नूमा कतै दुबिधा र आशंका छैन। किन कि बैन्किङ्ग क्षेत्रमा निरंतरता र लगनशीलता भएको खण्डमा बढुवा हुँदै जादा बैंकको कार्यकारी अधिकृत (CEO) सम्म मज्जाले पुग्न सकिन्छ जस्को मासिक आम्दानी नेपालमा औसतमा १० लाख छ।

पटकपटक समाजले प्रश्न सोधेर होला अथवा आफुले गर्न सक्ने भएर होला। सरकारी सेवामा छिर्नलाई रार्ष्ट्रिय बाणिज्य बैंकको लागि लोकसेवा आयोगले लिने परीक्षामा पनि सहभागी भइयो। हजारौं  प्रतिस्पर्धीहरुको  बिचबाट आफ्नो नाम लिखित परीक्षामा उतिर्ण गर्न सक्ने सम्मको मेहनत गरियो र त्यति सम्म प्राप्त पनि भयो। तर अन्तरबार्ताको परीक्षाफल आउँदा आफ्नो नाम प्रतीक्षा गर्ने उमेदवारहरुको सुचिमा देखेर मन अलि हरेस खायो। हुन त लिखित पास भए पछि धेरैबाट बधाई र शुभकामना पाइयो। तर ती शुभकामना दिनेहरुको अर्को प्रश्नले फेरि पिरोली रहयो। प्रश्न थियो “अन्तरबार्ताको Result आयो ?” अनि मन र मुहारलाइ जबर्जस्ति खुसी पार्दै “अ, आयो तर म Waiting List मा छु। हटाउ केही छैन म त Already Job गर्दै छु। यो पनि त राम्रै छ नि” भनियो। तर फेरि जिवनको यात्रामा त्यो प्रश्न बारम्बार आउँछ कि “सरकारीनै हो त ?” यसको उतरमा आफू सङ्ग  “होइन” बाट “हो” गर्नको लागी  मात्र भए पनि लोकसेवाको तयारी जारी राखियो। शायद ती प्रश्न गर्नेहरुले उतरमा  “हो” पाए मात्र मलाई सफल बुझ्ने छन् होला। अर्थात सिङ्गो नेपाली समाजले एउटा पढेलेखेका युवाको सफलताको अर्थ लोकसेवा पास गरेको मात्र बुझ्छन् ।

देशको अर्थतन्त्रमा ठुलै  टेवा पुर्याउने निजि क्षेत्रमा काम गर्ने प्रती हाम्रो समाजको दृष्टिकोण यस्तो किन ? पढाई र शिक्षाको सफलता सरकारी सेवामा छिरे पछि मात्र हुन्छ र ? देशमा आधुनिक कृषि प्रणाली अपनाएर राम्रो आम्दानी गर्ने प्रचुर सम्भावना छ। अन्य धेरै क्षेत्रहरु छन् जहाँ युवाहरुले आफ्नो सीप र शिक्षालाई प्रयोग गर्न सक्छन। भारतबाट आउने विप्रेषण भन्दा नेपाल बाट भारतमा जाने विप्रेषण ४ गुणाले बढी छ भनेर कतिले नपत्याउलान।  देशमा युवाहरुको लागि कि लोकसेवा आयोग नत्र भने खाडी मुलुक रोज्ने अभ्यास जस्तो भएको छ। नेपाली समाजमा सरकारी जागिरेलाइ धेरै समान्न दिइन्छ समान्न दिनु पनि स्वभाबिक हो किन कि सरकारको एउटा अङ्गको रुपमा रहेको ब्यक्ती जस्ले देश चलाउनमा आफ्नो भुमिका खेल्छ। तर नेपाल सरकारले दिने तल्ब भन्दा बढी आम्दानी अरु धेरै क्षेत्रमा रहेको छ। अरु क्षेत्र हुदाहुदै सरकारी सेवामा छिर्नलाई हदै सम्म मिहिनेत र पहुच लगाउनुको पछाडी घुस र भ्रष्टाचार हो भन्ने कुरा तितो सत्य हो। त्यसैले देशको सम्पुर्ण क्षेत्रको रोजगारीमा सबैको आकर्षण बराबर गर्नलाई भ्रष्टाचार र अनियमितताको समस्या  दिगो रुपमै समाधान हुन आवश्यक छ।अनि मात्र समृद्धिको कल्पना गर्न सकिन्छ। देशको सम्पुर्ण कर्मचारी तन्त्रलाइ सम्मान गर्नु पर्छ तर लाखौं युवाहरु देशको लागी नभएर कर्मचारी बनेर  घुस खान का निम्ति मेहनत गर्दै छन् भन्नेमा कुनै दुबिधा छैन।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]