May 8th, 2020

कोरोना सन्देश : बैंकहरुले कृषिमा लगानी बढाउँ

सञ्जय खड्का-

प्राकृतिक बिपत्तिका कारण बिश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । समग्र मानव जातिलाई नै यस किसिमका विपत्तिले कुनै न कुनै रुपमा चुनैती दिदै आइरहेको छ । बिश्व अहिले corona virus covid -19 को माहामरीबाट गुज्रिरहेकोबेला नेपाल पनि यस माहामरीबाट अछुतो रहन सकेन र हाल नेपालमा पनि यसको प्रत्यक्ष असर अर्थक्षेत्रमा परेको छ। हाम्रो आर्थिक वृद्धिदर सँकुचनतर्फ जाने बिज्ञहरुको अनुमान छ।नेपालको प्रमुख उत्पादन मध्ये कृषि उत्पादन एक मुख्य क्षेत्र हो कृषिमा हामी आत्मनिर्भर हुने हो भने मात्र पनि यस्ता किसिमका माहामरीले उत्पन्न हुने आर्थिक तथा खाद्य संकटलाई निकै कम गर्न सकिन्छ। 

पर्याप्त मात्रामा खाद्यान्नको उत्पादन गर्ने हो भने हामी आफै आत्मनिर्भर भई जस्तोसुकै विषम परिस्थितिमा पनि खाद्य सुरक्षा कायम गर्न सकिन्छ, उच्च मुल्यका कृषि उत्पादन गर्न सकेमा अधिक निर्यात मार्फत आर्थिक वृद्धि गर्नुको साथसाथै व्यापार घाटामा पनि न्यूनीकरण गर्न सकिन्छ, युवावर्गलाई कृषिमा आकर्षित गरि विदेश पलायनबाट निरुत्साहित गरि स्वाधीन अर्थतन्त्र र स्वस्थ समाजको निर्माण गर्न सकिन्छ ।

नेपाल एक कृषिप्रधान देशको रुपमा चिनिन्छ । हाम्रो देशमा अझैपनि ६६% मानिसहरु कृषि पेशामा आधारित भएर जिवनयापन गरिरहेको पाइएपनि हाल नेपालको कुल ग्राहस्थ उत्पादनमा २७% मात्र कृषि क्षेत्रको योगदान रहेको छ । जबकि अमेरिकामा लगभग २%मानिसहरूकृषि पेशामा लागेर देशलाई आत्मनिर्भर बनाई निर्यात समेत गर्दछन् । यस्ता आँकडाहरुबाट के बुझ्न सकिन्छ भने हाम्रो देश समृद्ध हुन नसक्नुको पछाडी कृषिक्षेत्रको उचित व्यवस्थापन हुन नसक्नु, परम्परागत शैलीबाट बाहिर आउन नसक्नु र कृषिमा पर्याप्त कर्जा लगानी हुन नसक्नु जस्ता कारणहरु समावेश छन् ।

नेपाल राष्ट्र बैंकबाट “क“, “ख“, “ग“ वर्गका इजाजत प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन (२०७६मा “क“ वर्गको बाणिज्य बैंकहरुले कृषि क्षेत्रको लागी अनिवार्य १०% कर्जा लगानी गर्नुपर्ने निति ल्याएपनी चालू आर्थिक वर्षको पुस मसान्तसम्मको आँकडा हेर्ने हो भने वाणिज्य बैंकहरुले जम्मा ९.६% मात्र कर्जा प्रबाह गरेको देखिन्छ । यसै एकीकृत निर्देशन अनुसार कृषि क्षेत्रमा १० % कर्जा प्रवाह नभएको खण्डमा नपुग रकममा हर्जना गणना गर्ने सम्मको प्राबधान रहेपनी बैंकहरुले उक्त अनिवार्य लगानीको आँकणालाई मात्र जेनतेन पुर्याउने गरेको देखिन्छ । सरकारले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रको रूपमा राखेको भएपनि बैंकहरुले यस नितिलाई प्रभावकारी कार्यान्वयन नगरेको गुनासो आम किसानहरुसँग छ । बैंकहरुले आफ्ना शाखा संजालहरु गाउँगाउँमा पुर्याएका भए पनि साना तथा मझौला किसिमका किसानहरुलाई कर्जा प्रबाह गर्न हिच्किचाउने गरेको गुनासो आम किसानहरु सँग छ । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नितिको अर्ध-वार्षिक समिक्षामा पनि प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जालाई थप प्रोत्साहित गर्न सूक्ष्म निगरानी (watch list) सम्बन्धि व्यवस्थामा पुनरावलोकन गरिने भनिएको छ ।

कृषि सम्बन्धित विविध आँकडाहरु हेर्ने हो भने पनि कृषिमा बैंकहरुको लगानी सन्तोषजनक देखिदैन ।
युवा वर्गलाई पनि व्यबसायिक कृषितर्फ आकर्षित गर्दै बैंकिङ कृषि कर्जामा सरल र सहज प्रक्रियाको आवश्यकता देखिदै गर्दा सम्बन्धित सरकारी निकायहरुले पनि कर्जा जोखिम कम गर्ने विभिन्न सहुलियतका नीतिहरु ल्याउनुपर्ने देखिन्छ ।
कोरोनाको माहामरी फैलिन नदिन यतिबेला देश बन्दाबन्दीको अबस्थामा छ बिदेशीएका र शहर बस्न गएका युवाहरू प्राय अहिले मोफसलमा कृषि कार्यमा संलग्न भइरहेका छन् कोरोना संकट बिच युवावर्गलाई गाउँमै ब्यवसायिक कृषि खेतीमा आकर्षित गर्न सक्ने हो भने नेपालको कृषि क्षेत्रमा छिट्टै देखिने खालको प्रगती नआउला भन्न सकिदैन ।
गाउँगाउँमा वित्तीय पहुँच पुगेपनि कृषिक्षेत्रको लगनीमा भने नेपालका बैंकहरु आकर्षित हुन सकिरहेको अबस्था छैन । बैंकले कर्जा प्रवाह गर्दा धितोबन्धकको मापदण्ड पनि कृषिकर्जाको एक मुख्य समस्या रहेको बैंकरहरु बताउछन् “सडकको पहुँच पुगेका जमीन, खोला, बाढि पहोरोबाट जोखिम नभएका जमिन र चलनचल्तीमा उच्च मुल्य रहेका जमिनमात्र धितोबन्धक राख्न सकिन्छ“ एक बैंकरको भनाई छ ।
बैंकहरुले उत्पादनमा आधारित कृषि कर्जाको योजना ल्याएर सरल सहज रूपमा किसान अनुकुल भुक्तानि प्रक्रिया मिलाउन सक्नुपर्छ । बैंकले पर्याप्त मात्रमा कृषिमा लगानी गर्दै सानासाना किसानहरुलाई पनि अझ बढी व्यवसायीक हुनप्रोत्साहित गर्नु र समग्र कृषिक्षेत्रलाई आधुनिकरण र रोजगारमुलक बनाउनु आजको आवश्यकता हो ।
कृषिलाई नै आफ्नो कर्म मानि अहोरात्र खटिने साना तथा मझौला किसानवर्गलाई सहज र सहज कागजी प्रक्रियाको व्यवस्था मिलाइकर्जा प्रबाह गराउन नेपाल राष्ट्र बैंक विशेष नीति ल्याउनुपर्ने देखिन्छ साथसाथै नेपालका बैंकहरुले पनि कृषिलाई व्यवसायीकरण गर्न विभिन्न किसिमका कृषि सहुलियतपूर्ण कर्जा र वित्तीय साक्षरतामा वृद्धि गर्दै जानूपर्ने देखिन्छ ।

(खड्का हाल गण्डकी बिकास बैक सामाखुसी शाखामा कार्यरत हुनुहुन्छ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]