October 5th, 2019

तीन सय ठुला सहकारीको कारोबार १० ठुला मुलुकको भन्दा बढी – यस्तो छ इतिहास


बैंकिङ खबर । मानव सभ्यताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सहकार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारीताको शुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ ।
सहकारीको विकाससँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्ट्रियल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी अहिले सम्म पनि सञ्चालनमा छन् । अहिले यी दुवै सहकारीको नाम परिवर्तन भएको छ । लकहस्र्ट लेन इन्डष्ट्रियल कोअपरेटिभ सोसाइटीको नाम हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटीको नाम लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेको छ ।

सहकारीका पिता
बेलायतका रोबर्ट ओवेनलाई सहकारी आन्दोलनका पिता भनिन्छ । तर आधुनिक बचत तथा ऋण सहकारीका पिता भने जर्मनीका रेफेइसन हुन् । बेलायतका रोबर्ट आवेन कपास व्यापारी थिए र उनले आफ्नो व्यापारमा संलग्न कर्मचारीहरु र तीनका बालबच्चाहरुलाई शिक्षा सहितको राम्रो वातावरण दिनुपर्ने विचार अघि सारे र त्यसै अनुरुप न्यू लनार्क स्कटल्याण्डको कटन मिलमा संसारकै पहिलो कोअपरेटिभ स्टोर खोले । पछि विलियम किङले पनि रोबर्ट ओवेनको विचारलाई निरन्तरता दिई सहकारीमा विभिन्न नियमहरु बसाले ।
सन् १८४४ मा बेलायतमा रोच्डेल गाउँमा रोचडेल सोसाइटी इक्वाइटेबल पाइओनियरर्स नामक सहकारी संस्था स्थापना भयो । यसले रोच्डाल प्रिन्सिपल निर्माण गरी सहकारी आन्दोलनलाई स्थापित ग¥यो । त्यसै गरी जर्मनीमा रेफेइसनले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामिण जनतालाई शोषणबाट मुक्त गराए । उनलाई आजसम्म पनि विश्वभर बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ ।

आधुनिक सहकारी र विश्व अर्थतन्त्र
सन् १८४४ मा बेलायतको रोचडेल गाउँबाट शुरु भएको आधुनिक सहकारीको इतिहासले १ सय ७५ वर्ष पुरा गरिसेको छ । पछिल्लो समय पूँजीवादी र समाजवादी सिद्धान्त अंगाल्ने देशहरुले सहकारी पद्धतिलाई आर्थिक विकासको प्रमुख माध्यमको रुपमा अपनाएका छन् । क्ष्ऋब् को एक तथ्यांक अनुसार विश्वको ८४ भन्दा बढी देशहरुमा सहकारीको अवधारण विस्तार भइसकेको छ । सहकारीमा १० करोड भन्दा बढी मानिसहरुले रोजगारी पाएका छन् । आइसीएको तथ्याङ्क अनुसार विश्वमा १ अर्ब भन्दा बढी मानिसहरु सहकारीमा आवद्ध भएका छन् । चीन र भारतमा मात्रै ५० करोड मानिसहरु सहकारीमा आवद्ध भएका छन् ।
विश्वका ३ सय ठुला सहकारीको कारोवार विश्वका १० ठला राष्ट्रिय अर्थतन्त्र भएका मुलुकको भन्दा बढि रहेको छ । अमेरिकी अर्थतन्त्रमा सहकारीको वार्षिक बिक्री ६ सय ५२ विलियन र सम्पत्ति आर्जन ३ ट्रिलियन अमेरिकी डलर भन्दा बढी रहेको पाइन्छ । अमेरिकाको ७ हजार ५ सय क्रेडिट यनियनहरुले करिब १० करोड अमेरिकीहरुलाई वित्तीय सेवा पु¥याएका छन् । इन्डोनेशियामा २ लाख ८९ हजार र केन्यामा २ लाख ५० हजारले सहकारीबाट रोजगारी पाएका छन् ।
पोल्याण्डमा कुल दुग्ध उत्पादनको ७५ प्रतिशत दुग्ध सहकारीले उत्पादन गरेको छ । इजरायलमा पनि सहकारीको विकास राम्रो छ । जर्मनी सहकारीकै कारण विश्वका सम्पन्न ८ राष्ट्रमा (जी–८) मा पुग्न सफल भएको छ । डेनमार्कमा कृषि सहकारी अत्यन्त राम्रो देखिन्छ ।
संसारका विभिन्न देशहरुमा दुध तथा दुग्ध पदार्थको उत्पादन, पशुपालन व्यवसाय, अन्नबाली उत्पादन तथा व्यापारमा सहकारीको योगदान उल्लेख्य देखिन्छ । संयुक्त राष्ट्र संघले २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेबाट पनि विश्व अर्थतन्त्रमा सहकारीको महत्व बढदै गएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]