May 21st, 2019

बढ्दो अन्तरबैंक ब्याजदर घट्दो आधार दर

वाणिज्य बैंकहरूले आपसमा लेनदेन गर्ने कर्जा सापटी (अन्तरबैंक कारोबार) को अल्पकालीन ब्याजदर ३ महीनायता बढ्दै गएको छ । गत पुससम्म औसत २ दशमलव ८३ प्रतिशत रहेको यस्तो ब्याजदर अहिले ५ प्रतिशतभन्दा माथि पुगेको छ ।

बजारमा लगानीयोग्य रकम न्यून हुँदा बैंक तथा वित्तीय संस्थाले बढी ब्याजदरमै भए पनि एकअर्काबाट सापट लिने गर्छन् । बैंकिङ प्रणालीमा विगत २–३ वर्षदेखि लगानीयोग्य पूँजी अभाव भएकाले पनि अन्तरबैंक कारोबारको ब्याजदरमा कमी आउन नसकेको बैंकरहरू बताउँछन् । अन्तरबैंक ब्याजदर बढ्नु भनेको वित्तीय क्षेत्र थप सक्रिय भई लगानीका क्षेत्रहरू विस्तार तथा वृद्धि हुँदै गएकाले सकारात्मक भएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाबीच गरिने अन्तरबैंक कारोबार गत आर्थिक वर्ष (आव) २०७४/७५ को तुलनामा बढेको छ । आव २०७५/७६ को ९ महीनासम्ममा वाणिज्य बैंकहरूले रू. ११ खर्ब ६५ अर्बको यस्तो कारोबार गरेका थिए । गत आव २०७४/७५ को चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले रू. ८ खर्ब ८२ अर्ब ८७ करोड अन्तरबैंक कारोबार गरेका थिए । यसबाहेक अन्य वित्तीय संस्थाहरूको अन्तरबैंक कारोबार अर्बौंमा थियो भने गत चैतमसान्तमा बढेर खर्बौंमा पुगेको छ । तिनले गत चैतसम्ममा रू. १ खर्ब ९९ अर्ब ३३ करोडको अन्तरबैंक कारोबार गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

घट्दो आधार दर
राष्ट्र बैंकले आधार दरको गणनाविधि परिवर्तन गरेपछि यसको दर केही घटेको छ । आधार दर घटेपछि पनि बैंकले दिने कर्जाको ब्याजदर नघटेको व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । तर, गत चैत मसान्तयता कर्जाको ब्याजदर समेत केही घट्न थालेको देखिन्छ । आधार दर घटेकाले बैंकहरूले दिने कर्जाको ब्याजदरमा समेत सुधार आएको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

२०७५ फागुनमा आधार दर ९ दशमलव ६५ प्रतिशत हुँदा कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ थियो । चैतमा आधार दर घटेर ९ दशमलव ६४ हुँदा कर्जाको भारित औसत ब्याजदर १२ दशमलव २८ भयो । २०७४ चैतमा भएको आधार दर र कर्जाको ब्याजदरको तुलनामा २०७५ चैतमा भने खासै उल्लेख्य सुधार हुन सकेको देखिँदैन । २०७४ चैतमा वाणिज्य बैंकको आधार दर औसत १० दशमलव ४ प्रतिशत हुँदा कर्जाको भारित औसत ब्याजदर १२ दशमलव १ प्रतिशत थियो । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]