May 2nd, 2019

बीमा भनेको के हो? जान्नुहोस् विस्तृतमा

बैंकिङ खबर । बीमा भनेको तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । तर, बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईं हामी सबै भोलिका बारेमा अनभिज्ञ हुन्छौँ । तर, अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता बिमा हो । 

बीमा दुई प्रकारले गर्न सकिन्छ

१. जीवन बिमा
बीमा समितिले बिमा भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बिमा पनि मुख्य गरी तीन वर्गका हुन्छन् ।

क) आजीवन जीवन 
बिमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बिमामा निर्धा्रित अवधिसम्म बिमितले बिमा शुल्क (प्रिमियम) भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बिमा अवधि सकिएपछि बिमितले बिमा शुल्क तिर्नुपर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि, बिमा अवधि अगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बिमा शुल्क सस्तो पर्छ ।

ख) सावधिक जीवन बीमा
निश्चित अवधिसम्ममा बिमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, बिमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बिमा योजना हो । यो योजना अनुसार तोकिएको अवधिसम्ममा बिमितले बिमा शुल्क बुझाउनुपर्छ । बिमा अवधि समाप्त भएपछि बिमित स्वयंले नै बिमांक रकम र बोनस प्राप्त गर्छ । बिमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बिमा शुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

ग) म्यादी जीवन बिमा
सीमित अवधिका लागि मात्रै यस्तो खालको बिमा गरिन्छ । बिमा अवधिसम्म बिमितले बिमाशुल्क भुक्तानी गर्छ । बिमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर, बिमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बिमाशुल्क पनि कम हुन्छ ।

२. निर्जीवन बीमा
जीवन बिमाबाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बिमा निर्जीवन बिमा हो । यस किसिमको बिमाअन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायात पर्दछन् ।

दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बिमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशु बिमा पनि ल्याएको । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमाको क्षेत्र विस्तार भईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]