February 20th, 2019

फलफूल आयात ६० प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो ६ महिनामा दुई अर्ब ९० करोड ६ लाख रुपैयाँको फलफूल आयात भएकोमा चालु आर्थिक वर्ष ०७५र७६को सोही अवधिमा फलफूल आयात बढेर चार अर्ब ६७ करोड ४० लाख रुपैयाँको पुगेको छ।

सबैभन्दा धेरै स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल विदेशबाट आयात हुन्छ। फलफूल उत्पादन वृद्धि गर्न नसक्दा आयात बढेको हो। मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ। यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ। यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार मेट्रिक फलफूल आयात भएको थियो।

राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालीमा फलफूल खानेको संख्या बढेकाले पनि आयात बढेको बताउँछिन्। बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन्। ‘फलफूलको माग बढ्दै गएको छ,’ उनले भनिन्, ‘उत्पादन वृद्धि हुन सकेन।’ प्रतिव्यक्ति एक दिनमा एक सय ग्राम फलफूल प्रयोग गर्नुपर्छ। एक जनाले वार्षिक ३६ किलो फलफूल उपभोग गर्नुपर्छ भन्ने मान्यता रहेको छ।

नेपालमा उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्याउले बजार नपाएको किसान गुनासो गर्छन्। काठमाडौं लगायतका प्रमुख बजारमा भारतीय र चिनीया स्याउ बिक्री हुन्छ। वार्षिक करिब पाँच अर्ब रुपैयाँको स्याउमात्र आयात हुन्छ। स्याउ, सुन्तला, आँप, कागती धेरै आयात हुन्छ। नेपालमा आयात भैरहेकासहित भुइँकटर, मौसम, जुनार, अम्बा, लिची, ग्राउन्ड एप्पल, केरा, अनार खेती गर्न सकिन्छ।

नेपालले भारत, बङ्लादेश, थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात भैरहेको छ। फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ। नागरिक दैनिकमा प्रकाशित समाचार।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]