May 6th, 2024

बैंकहरुद्वारा अझै साढे ५ अर्ब कर्जा पुनरतालिकिरण

बैंकिङ खबर/ बैंकहरुले करिब साढे ५ अर्ब कर्जाको पुनरतालिकिकरण तथा पुनसंरचना गरेका छन् । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको समस्या अहिले देखाउने भन्दा पनि भोलिका लागि सार्ने नीतिका कारण बैंकहरुले पुनरसंरचना र पुनरतालिकिकरणलाई निरन्तरता दिएका हुन ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा गर्दै कर्जाको पुनरसंरचना र पुनतरतालिकिकरण गर्न सक्ने व्यवस्था गर्यो । उक्त व्यवस्थाले बैंकहरुलाइ गत चैतसम्मको समय पनि दियो । त्यसले गर्दा पनि बैंकहरुले पुनरसंरचना र पुनतालिकिकरण गरेको कर्जा चैतसम्ममा पनि साढे ५ अर्ब देखिन आएको हो । बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्ने व्यवस्था समिक्षामा उल्लेख छ ।

समिक्षाको उक्त व्यवस्था अनुसार केन्द्रीय बैंकले केही सर्तसहितको एकिकृत निर्देशक संशोधन गर्दै निर्देशन जारी गरेको थियो । केन्द्रीय बैंकले क्षेत्र तोकेको कर्जाको सबै र अन्य सबै क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मका कर्जालाई आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गर्यो ।

यसरी पुनसंरचना र पुनरतालिकिकरण गर्दा २०८० चैत मसान्तभित्र गरिसक्नुपर्ने समय सीमा पनि तोक्यो । त्यसैगरी २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सकिने व्यवस्था गर्यो । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।त्यसका साथै पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने शर्त पनि राख्यो । तोकिएका सर्त अनुसार बैंकहरुले चैतसम्ममा योग्य कर्जाहरुको पुनसंरचना र पुनरतालिकिकरण गरेका हुन् ।

खराब कर्जा कम देखाउन मद्दत हुने भएपनि बैंकहरुले पनि केन्द्रीय बैंकले दिएको सुविधा प्रयोग गरे । सो अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको पुनरतालिकिकरण र पुनसंरचना गरेको कुल कर्जा ५ अर्ब ३७ करोड ८० लाख रुपैयाँ रहेको छ ।

सञ्चालनमा रहेको २० वाणिज्य बैंक मध्ये ९ ले कर्जाको पुनसंरचना गरेका छैनन् । तर, ११ बैंकहरुले केन्द्रीय बैंकले तोकेको सर्त पुरा भएका कर्जाको पुनसंरचना गरेका छन् । चालु आवको चैतसम्मको तथ्याङक अनुसार कृषि विकास बैंकले सबैभन्दा धेरै एक अर्ब ८९ करोड रुपैयाँ बराबरको कर्जा पुनरसंरचना गरेको छ ।

सो अवधिमा सबैभन्दा थोरै सिद्धार्थ बैंकले ८ लाख ११ हजार रुपैयाँ बराबरको कर्जा पुनरसंरचना गरेको छ । बैंकहरुले यसरी पुनसंरचना गरेको कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था पनि गरेका छन् । तर, केही बैंकहरुले कर्जा पुनसंरचना र कमसल कर्जालाई जोडेर पनि देखाएका छन भने केहीले पुनरसंरचना भएको कर्जा नै सार्वजनिक गरेका छैनन ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]