August 13th, 2022

नयाँ युग निर्माण गर्दै एससीटी, यस्ता छन् नयाँ योजना

नारायण प्रसाद भुजु
प्रमुख कार्यकारी अधिकृत, एससीटी

स्मार्टच्वाइस टेक्नोलोजीज (एसटीसी)विगत दुई दशकदेखि सञ्चालनमा रहिआएको छ । डिजिटल भुक्तानीका माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको एससीटीसँग अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र को-अपरेटीभ गरेर १ सय २५ भन्दा बढी वित्तीय संस्थाले सहकार्य गरिरहेका छन् । १०० वटा को-अपरेटिभमध्ये ६० भन्दा बढीले कार्ड नै प्रयोगमा ल्याइसकेका छन् ।

एससीटीले नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम कार्ड प्रोभाईड गर्ने गर्दछ । नेपालमा भिजा कार्डहरु चलनचल्तीमा नआउँदासम्म एससीटीका कार्डहरु नै अत्याधिक प्रयोगमा थिए । भिजा कार्डहरु नेपालमा भित्रिएपछि बैंकहरुले लोकल ब्राण्डलाई छोडेर इन्टरनेशल ब्रान्डलाई प्रोमोट गर्दा भिजा कार्डको चर्चा बढ्न थालेको हो ।

नेपालमा चिप्स कार्डहरु आइसकेपछि त्यो प्रविधिलाई समयमा भित्र्याउन नसक्दा हामी पछाडि परेको जस्तो भान भएको छ । तर, वास्तवमा हामी पछाडि परेका छैनौं ।

अहिलेपनि नेपालको नम्बर वान नै छौं । हाम्रा प्रतिस्पर्धीहरु जतिपनि हुनुहुन्छ । उहाँहरुसँग हाम्रो जति पनि मेम्बर छैनन् । अहिले ‘चाइना युनियन पे’ सँगको सहकार्यमा हामीले चिप्स कार्ड इस्यु गरिरहेका छौं । अबको केही समयमा यो प्रभावकारी बन्दै जान्छ । हामीले रिजल्ट आउने गरि काम गर्नुपर्ने नै छ । म प्रमुख कार्यकारी अधिकृत भएर आएको १० महिना जति भयो ।

हामीसँग अहिले नयाँ बैंकहरु थपिने क्रम बढेको छ । नयाँनयाँ प्रोडक्टहरु प्लानमा भएपनि अहिले मार्केटको एक्सिसमा भएको भनेको एटीएम, वालेट र क्युआर स्क्यास नै हुन् । ग्राहकलाई नयाँ सर्भिस, नयाँ प्रोडक्ट दिनको लागि निरन्तर काम गरिराखेको छौँ ।

कोभिड पछि क्यासलेस कारोबार बढ्यो

कोरोना महामारीको बेलामा क्यूआर कोडको प्रयोग निकै बढ्यो । राष्ट्र बैंकले पनि डिजिटल कारोबारलाई फोकस गर्दै आएको छ । क्युआर सिष्टमको प्रयोग विशेषगरी क्यासलेस कारोबारलाई सार्थक बनाउनुका साथै सहजीकरणमा उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यो प्रयासलाई सघाउन विभिन्न कम्पनीहरु अघि बढेका छन् । अहिले सबै क्युआरलाई एकीकृत गरेर कारोबारमा सहजीकरण गर्नका लागि एससिटीले डिजिटलाइजेशनमा नयाँ युग निर्माणको सुरुवात गरेको छ ।

कम्पनीले क्यूआर पेमेन्टको प्रयोग पहुँच बढाउनका लागि विभिन्न क्यूआर कोड पेमेन्ट प्लेटफर्म सञ्चालकहरूको बीचमा एकीकृत र इन्टर अप्रेभल कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ । पछिल्लो समय क्यासलेस कारोबारको उद्देश्यलाई सार्थकता दिनका लागि कम्पनी सक्रिय रहेको छ । डिजिटल नेपालको नारालाई यसले थप सहयोगी बनाएको छ भने सर्बसाधारणमा सहज, सरल र सुलभ भुक्तानी प्रकृयालाई आम नेपालीको पहुँचमा पु¥याउन अहिलेको व्यवस्थापन लागि परेको छ ।

हाम्रो काम ग्राहकको सुविधालाई ध्यानमा राखेर ग्राहकलाई सेवा दिने बैंक तथा वित्तीय संस्थाहरूलाई बहुआयामिक प्लेटफर्म दिने हो । अन्तिम उपभोक्ता वा ग्राहकसित हाम्रो प्रत्यक्ष सम्पर्क हुँदैन । हाम्रा ग्राहक भनेका वित्तीय संस्था, वालेट भेन्टर, पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) लगायत हुन् जसले आम ग्राहकलाई सेवा दिन्छन् ।

हामीले उहाँहरूलाई यस्तो प्लेटफर्म दिने हो जसले गर्दा उहाँहरूले होल डिजिटल वा क्यासलेस इकोसिस्टममा लान सक्नुहुन्छ । त्यसको प्रवर्धक हामी हौँ । यही क्रममा हामीले चारवटा चिजलाई एकै ठाउँमा ल्याउने कोसिस गरिरहेका छौँ । पहिलो कार्ड हो जसका विभिन्न फिचर छन् । कार्डलाई कार्डलेसमा पनि परिवर्तन गर्न सकिन्छ ।

नेपाली ब्राण्डलाई प्रमोट गरौं

लोकल ब्राण्डलाई छोडेर ईन्टरनेसनल ब्राण्डप्रति बैंकहरुको आकर्षणले गर्दा अहिलेको अवस्था सृजना भएको हो । यसले हामीलाई निकै घाटा भइरहेको छ । ईन्टरनेसनल ब्राण्डप्रतिको मोहले गर्दा अहिले विदेशी मुद्रा पनि बाहिर गइरहेको छ ।

यसले नेपालको अर्थतन्त्रमा निकै ठुलो असर पारेको छ । पछिल्लो समय राष्ट्र बैंकले पनि नेपाली ब्राण्डलाई नै प्रमोट गर्नुपर्छ भन्ने नीति लिएको छ । साथै आगामी दिनमा पनि नेपाली ब्राण्डलाई प्रमोट गर्ने नीति राष्ट्र बैंकले लिएमा राम्रो हुने थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]