June 1st, 2022

विदेशी मुद्रा सञ्चितिः अब विदेशी मुद्राबाट नै अपार्टमेन्ट बिक्री !

बैंकिङ खबर/ नेपालमा २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा रु.११६७ अर्ब ९२ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई रु.१०२१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई रु.१४६ अर्ब ४८ करोड कायम भएको छ ।

२०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक द्दठ। आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेको थियो ।

यसरी नेपालको विदेशी मुद्रा सञ्चितिमा कमि आइ रहँदा सरकारले निजी क्षेत्रले बनाएका अपार्टमेन्टमा २० प्रतिशत युनिट अपार्टमेन्ट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिने भएको छ ।

घट्दो विदेशी मुद्रा सञ्चितिको समस्या कम गर्न सरकारले विदेशी मुद्राबाट नै अपार्टमेन्ट बिक्री गर्न सकिने कानूनी व्यवस्था गर्न लागेको हो । सरकारले हालै आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रलाई एक सयभन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिने गरी कानुनी व्यवस्था गरिनेछ ।’

मौद्रिक नीतिलाई थप कस्ने तयारी

राष्ट्र बैंकले हालका व्यवस्थामा कुनै फेरबदल नगरी तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि मूल्य वृद्धि र विदेशी मुद्रा सञ्चितिमा दबाब परेमा मौद्रिक नीतिलाई थप कस्ने स्पष्ट पारेको छ ।

’मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखा परेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, ’तर, मुद्रास्फिति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।’

राष्ट्र बैंकले केही समयअघि विभिन्न ४७ प्रमुख शीर्षक अन्तर्गतका हार्माेनिक कोड भएका करिब २७ सय वस्तुहरूको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म आफैले नगद राख्नुपर्ने व्यवस्था गरेको थियो। मोटर साइकल र गाडीमा बाहेक अन्यलाई शतप्रतिशत मार्जिनको व्यवस्था गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]