March 8th, 2022

अन्तरबैंक एटिएम प्रयोग बढ्दो, झण्डै दुई वर्षमा बाहिरियो ४० करोड !


बैंकिङ खबर/ नेपालमा पछिल्लो समय एटिएम प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बैंक वित्तहरुहरु डिजिटलाइजेशनको अवधारणा गएसँगै अहिले टोलैपिच्छे बैंकहरुका एटिएम बुथहरु स्थापना हुन थालेका छन् । जसले सेवाग्राहीलाई सहज बनाएको छ । आज घर नजिकै रहेको एटिएमबाट सहज रुपमा सेवाग्राहीले रकम निकाल्न पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ७८ पुससम्म आइपुग्दा एटिएम प्रयोगकर्ताको संख्या १३ करोड ५५ लाख पुगेको छ ।

अन्तरबैंक एटिएम कारोबार बढ्दो

नेपालमा २१ महिनाको अवधिमा करिब चार करोड ६ लाखपटक अन्तरबैंक एटिएम कारोबार भएको पाइएको छ । यसरी अन्तरबैंकको एटिएम प्रयोगका क्रममा सेवाग्राहीले महिनामा दुईपटक शुल्क तिर्नुपर्दैन । त्यसपछि प्रत्येकपटक २० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

यसरी अन्तरबैंक एटिएमबाट ग्राहकले पैसा निकाल्दा पछिल्लो २१ महिनाको अवधिमा नेपालबाट करिब ४० करोड रुपैयाँ बाहिरिएको छ । फरक बैंकको एटिएम प्रयोग गर्दा प्रत्येक कारोबारबापत १० रुपैयाँ कार्ड निर्माता कम्पनीले पाउँछन् । बैंकका एटिएम प्रयोगकर्ताहरूले २१ महिनामा १३ करोड ५५ लाखपटक एटिएम मेसिनबाट रकम निकालेका छन् । यसमध्ये करिब ३० प्रतिशत एक बैंकको एटिएम अर्को बैंकको मेसिन (अफअस)मा प्रयोग हुने गरेको पाइएको छ ।

राष्ट्र बैंकका अनुसार कार्ड जारी गर्ने संस्था एउटै भए पनि एटिएम मेसिन फरक छ भने त्यस्तो कारोबारलाई अफअस भन्ने गरिन्छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभागका प्रमुख गुरुप्रसाद पौडेल भन्छन्, ‘कुनै दुईवटै बैंकको कार्ड भिसा हो भने पनि एक–अर्काको एटिएममा कसैले प्रयोग गर्छ भने त्यो अफअस कारोबार हुन्छ ।’

राष्ट्र बैंककै प्रक्षेपणले २१ महिनामा करिब चार करोड ६ लाखपटक अफअस कारोबार भएको देखाएको छ । यसरी हुने अफअस कारोबारमा प्रतिकारोबार १० रुपैयाँ कार्ड जारी गर्ने कम्पनीलाई जाने गर्छ । यसरी सो अवधिमा करिब ४० करोड ६५ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।
कोभिड-१९ का कारण एउटै एटिएम वा बैंकमा भिड हुनबाट रोक्न भन्दै राष्ट्र बैंकले यस्तो नियम ल्याएको हो ।

सोही कारण नेपालीहरूको बानीमा परिवर्तन आएको र अन्तरएटिएमको प्रयोगमा वृद्धि भइरहेको अनुमान राष्ट्र बैंकको छ । कार्ड निर्माता कम्पनीहरूलाई विदेशी मुद्रामा नै भुक्तानी हुन्छ ।

केही वर्षअघिसम्म भने अन्तरबैंक एटिएमको प्रयोगमा बैंकहरूले दुई सय रुपैयाँसम्म लिने गर्थे । पछिल्लो समय सहरका गल्ली–गल्लीमा बैंकहरूले एटिएम जडान गरेकाले अन्तरएटिएम प्रयोगलाई निरुत्साहन गर्न शुल्क केही महँगो बनाउनुपर्ने धारणा पनि बैंकरहरूको छ ।

‘नेपाल पेमेन्ट कार्ड’ ल्याउने तयारीमा राष्ट्र बैंक

यता नेपाल राष्ट्र बैंकले स्वदेशी एटीएम काड ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने तयारी गरेको छ । हालसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशी नेटवर्क सञ्चालक कम्पनीहरु भिसा, मास्टड कार्ड, युनियन पे ‘कर्प कार्ड’ एसटीसीको डाइनेटिस्टीक कार्डजस्ता अन्तर्राष्ट्रिय पेमेन्ट कार्डको प्रयोग गर्दै आएका छन् ।

विदेशी कार्ड प्रयोग गर्दा वार्षिक करोडौं नेपाली रुपैयाँ विदेशीने हुँदा केन्द्रीय बैंकले स्वदेशी विद्युतीय कार्ड प्रयोगमा ल्याउने तयरी गरेको हो ।
जसका लागि नेपालकै पेमेन्ट स्वीच स्थापना गरी केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड ‘नेपाल पेमेन्ट कार्ड’ प्रयोगमा ल्याउने छ ।
हाल भारतमा पनि ‘रुपे’ नामक राष्ट्रिय कार्ड प्रचलनमा छ ।

भारतभर एटिएम, पस मेसिन र कमर्स वेबसाइटमा यस्तो कार्ड प्रयोग गर्न सकिन्छ । त्यहाँको बैंकर एसोसिएसन र केन्द्रीय बैंक (आरबिआई) मिलेर बनाइएको भारतीय राष्ट्रिय भुक्तान निगमले रुपे कार्ड ल्याएको हो । नेपालमा पनि यही धारणालाई आत्मसात् गर्दै राष्ट्र बैंकसहित अन्य बैंक तथा वित्तीय संस्थाहरूको समेत लागनी रहेको नेपाल क्लियरिङ हाउसमार्फत यी काम अगाडि बढाउन लागिएको छ ।

के हो एटिएम ?

एटिएमको पुरा रुप ’अटोमेटेड टेलर मेसिन’ हो । चाहेका बेला खररर्र पैसा झिक्नका लागि विभिन्न ठाउँमा यस्ता मेसिन जडान गरिएका छन् । भिसा, मास्टर, एससिटी तथा युनियन पे कार्ड नेपालमा बढी प्रचलनमा छन् । बैंकहरुले कार्डको सुरक्षा तथा कलरका सम्वन्धमा कार्ड कम्पनीसँग सम्झौता गरी कार्ड छपाई गर्छन् । केवाइसी विवरण, खाता नम्वर लगायतका विवरण बैंकले नै कार्डमा भर्ने हो । कार्डमा विवरण भरेपछि स्वीचसँग आवद्ध गराई ४ नम्वरको पिन कोड दिन्छन् । कतिपय बैंकले आफ्नै त केहीले अरुको स्वीच प्रयोग गरेका हुन्छन् ।

एटिएमले कसरी काम गर्छ त ?

एटिएमले कसरी काम गर्छ भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । एटिएममा कार्ड घुसाएर ४ अंकको पिन नम्वर थिचेपछि कार्ड रिडर डिभाइसले सम्बद्ध बैंकको सम्बद्ध खातासँग कार्डलाई कनेक्सन गरिदिन्छ । अर्थात खाता र कार्डबीच स्वीच कनेक्सन हुन्छ ।

जब कार्ड स्वीप गराइन्छ त्यसपछि खाताको सम्पूर्ण जानकारी क्याप्चर हुन्छ । खाताको विवरण क्याप्चर भइसकेपछि मेसिनले आवश्यक कुरा सोध्छ, जस्तो फास्ट क्यास, क्यास विथड्र, ब्यालेन्स इन्क्वायरी, पासवर्ड चेन्ज आदि । खाता क्याप्चर भइसकेकाले अब ब्यालेन्स इन्क्वायरी थिच्दा खाताको रकम देखाइदिन्छ।

मौज्दातभन्दा बढी रकम झिक्न खोजे अस्वीकार हुन्छ । निश्चित रकम झिकेपछि खाताबाट पनि रकम कटौती हुन्छ । स्पिकर, डिस्प्ले स्कृन, रिसिप्ट प्रिन्टर र क्यास डिस्पन्सर एटिएमका आउटपुट डिभाइस हुन्। प्रोसेसिङका क्रममा स्पिकरले आवाज प्रदान गर्छ । डिस्प्लेले स्कृनमा आवश्यक सूचनाहरु हेरेर भनेअनुरुप बटन थिच्न सघाउ पुग्छ ।

रिसिप्ट प्रिन्टरले सानो पेपर प्रिन्ट गरेर दिन्छ जुन पेपरमा झिकिएको रकम वा मौज्दात सम्वन्धमा जानकारी हुन्छ । त्यस्तै क्यास डिस्पन्सरले मागेजति क्यास छोड्ने काम गर्छ ।

एटिएममा कसरी राखिन्छ पैसा ?

बैंकहरुले नै आफ्ना एटिएममा पैसा राख्ने हो । बैंकहरुले बेला बेलामा मेसिनमा पैसा थपिरहेका हुन्छन् । एटिएम रित्तिएको अवस्थामा पैसा झर्दैन वा एटिएमले काम नगरेको संकेत देखिन्छ । कुन एटिएमको लागि कति पैसा चाहिन्छ भन्ने हिसाव गरेर अनुमति पाएका दक्ष व्यक्ति नै पैसा लिएर एटिएम पुग्छन् । एटिएमको बाकसमा साँचो लगाइएको हुन्छ । साँचो खोलिसकेपछि मेसिन भित्रबाट पैसा राख्ने बाकस निकालिन्छ ।

त्यसपश्चात एउटा स्प्रिङमा पैसालाई मिलाएर राखिन्छ। स्प्रिङमा राख्नु अघि प्रत्येक नोट सिधा छ कि छैन जाँच पनि गरिन्छ । त्यसपश्चात बाकसको साँचो लगाइन्छ । बाकसलाई मेसिनमा राख्दा उल्टो घुमाएर राखिन्छ । सबै साँचो बन्द गरिसकेपछि स्क्रिनबाटै पैसाको सेटिङ मिलाइन्छ । सबै सेटिङ मिलाईसकेपछि एटिएमबाट पैसा निकाल्न सकिन्छ ।

एटिएमको इतिहास

लण्डनदेखि सन् १९६७ बाट एटिएमको प्रयोग हुन थालेको हो । एटिएमको प्रयोग हुन थालेको करिब ५१ वर्ष भयो । ब्रिटिस जोन सेफर्ड बारोनलाई एटिएम आविश्कारको श्रेय जाने गर्छ । पिन नं.को प्रचलन १९७० बाट सुरु भएको हो । १९९२ देखि रिसिप्ट प्रिन्टर, अडियो जस्ता आउटपुट डिभाइस जोडेर एटिएमलाई आधुनिक बनाइएको हो।

नेपालमा सबैभन्दा पहिले हिमालय बैंकले एटिएम भित्र्याएको हो । आफैले निर्माण गरेको सफ्टवेयरमा हिमालय बैंकले २०५६ सालदेखि एटिएम सेवा उपलब्ध गराएको हो ।

अब सहकारीको पनि पहिचानसहितको एटीएम कार्ड

अब सहकारी संस्थाहरुले पनि आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न पाउने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन्।

आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो। उक्त सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरे।

सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्ने छन्। सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएम मार्फत रकम निकाल्न सक्नेछन् भने पिओएसको माध्यमबाट कुनै पनि सेवा वा बस्तु खरिद गर्न सक्नेछन्। कुप कार्ड ग्लोबल आइएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सरहकारीले जारी गर्नेछन्।

सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ। यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन्।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]