October 3rd, 2018

बैंकिङ पहुँच विस्तारका लागि ग्रामीण बैंकिङ

भरतराज ढकाल । आजभन्दा २/४ वर्षअघि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नका लागि भौतिक पुर्वधार, सुरक्षा र नेटवर्कहरु थिएनन् । अहिले पनि ती कठिनाईहरु झेल्नुपरेको छ । तर, पनि पहिलाको भन्दा केही सहज भएकाले वित्तीय पहुँच गाउँसम्म पुगेको छ । ग्रामीण भेगका मानिसहरुलाई बैंकिङ सुविधा आवश्यक ठानेर नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँसम्म पुग्नुपर्छ भन्ने निर्देशन दिएको कारण आज बैंक तथा वित्तीय संस्थाहरु गाउँ गाउँमा पुगेर ग्रामीण क्षेत्रका मानिसहरुलाइ सेवा तथा सुविधा दिँदै आएका छन् । 

तर, गाउँ गाउँमा बैंकहरुले शाखा खोल्दैमा अथवा गाउँका २/४ जनाले खाता खोल्दैमा वित्तीय पहुँच पुगेको छ भन्न मिल्दैन । वित्तीय पहुँच विस्तार हुनका लागि गाउँका मानिसहरुमा बैंक सम्बन्धी राम्रो ज्ञान हुनपर्छ । जस्तै, यदि कुनै पनि मानिसले बैंकबाट कर्जाको माग गर्दा आफूले गर्ने काम, व्यवसायबाट हुने फाइदा लगायतका विषयमा बैंक समक्ष सहज रुपमा व्यक्त गरी उसले त्यस बैंकबाट सजिलै कर्जा प्राप्त गर्यो भने त्यहाँका मानिसहरुमा वित्तीय पहुँच रहेछ भन्ने कुरा थाहा हुन्छ । अहिले नेपाल राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरु लगभग सबै स्थानीय तहमा पुगिसकेको छ । 

बैंक तथा वित्तीय संस्थाहरु भौतिक पुर्वधारको सुविधा भएको ठाउँहरुमा पुगिसके तर, जहाँ भौतिक पुर्वधारहरुको अभाव छ त्यस्तो ठाउँहरुमा अझैसम्म बैंक तथा वित्तीय संस्थाहरु पुग्न सकेका छैनन् । बैंकको शाखा विस्तार गर्नलाई धेरै लागत (कार्यलय स्थापना, कर्मचारी, सुरक्षा र अन्य विविध खर्च) लाग्छ । तर, त्यो अनुपातमा फाइदा हुँदैन । त्यसकारण त्यस्ता ग्रामीण भेगहरुमा शाखा विस्तार गर्न गाह्रो हुन्छ । बैंकहरु गाउँमा पुर्याउन धेरै लागत लाग्छ भनेर बैंक तथा वित्तीय संस्थाहरु गाउँमा स्थापना नगर्ने भन्ने हैन । जुन बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँमा जाँदा सहज हुन्छ त्यस्तो वित्तीय संस्थाहरुलाई गाउँमा लैजानुपर्छ । यसो गर्दा खर्च कम हुनुका साथै सहजता पनि हुन्छ । 

ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गर्ने कार्य नै सुरुमा कठिन छ । ग्रामीण भेगमा स्थापना गर्न सजिलो वित्तीय संस्था भनेको सहकारी हो । सहकारी संस्था दुर्गम भेगमा स्थापना गर्नु आवश्यक हुन्छ । गाउँ गाउँमा सहकारी संस्थाहरु स्थापना गरी सहकारीहरुलाई नै बैंकिङ मोडलमा लैजानुपर्छ । सहकारीहरुलाई स्थानीय सरकार र सबै मिलेर गाउँ गाउँसम्म सहज रुपमा पुर्याउन सक्ने भएको कारणले गर्दा गाउँ गाउँमा वित्तीय पहुँच सजिलै पुग्न सक्छ । बैंकहरु भन्दा पनि सहकारीहरु लाई विकास गर्नु जरुरी छ । 

ग्रामीण क्षेत्रका सहकारीहरुलाई वित्तीय व्यवस्थापन गर्न र अगाडी बढाउनको लागि सबै क्षेत्रवाट सहयोग उपलब्ध गराउनुपर्छ । बैंकहरु आफैँले ठुलो ठुलो कर्जा प्रवाह गर्नुभन्दा पनि त्यो पैसा कर्जाको रुपमा सहकारी र लघुवित्तलाई दिनुपर्छ । यस विषयमा सरकार र राष्ट्र बैंकले जोड दिनुपर्छ ।

बैंक तथा वित्तीय संस्थाहरु सहर केन्द्रीत भन्दा पनि गाउँ केन्द्रीत भए भने एकदम फाईदा छ । फाईदा भनेको त्यतिकै हुँदैन । यसको लागि मेहनतको पनि उत्तिकै आवश्यकता छ । दिनप्रतिदिन ग्रामीण भेगका युवाहरु विदेश पलायन भइरहँदा ग्रामीण भेगमा बैंकहरु काम गर्ने वातावरण सहज छैन । नेपाल कृषि प्रधान देश हो । तर, पनि नेपालीहरुले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सकेका छैनन् । कृषि क्षेत्र परम्परागत रुपबाट माथि उठ्न सकेको छैन । हिजोका दिनहरुमा कृषिले मानिसहरुको जिवन  धानेको थियो । तर आज यस्तो परम्परागत कृषिले मानिसको जिवनस्तरलाई धान्न सक्दैन । नेपालमा कृषि उत्पादन क्षमता बढि छ । विदेश गएका युवाहरु नेपालमा आएर कृषिसँग सम्बन्धित आयआर्जनका कामहरु गरी नेपालमै उद्यमशिलताको विकास गर्ने सक्यो भने ग्रामीण बैंकिङ धेरै राम्रो हुन्छ । 

कृषि क्षेत्रबाट नेपालमै उद्यमशिलताको विकास भयो भने ग्रामीण बैंकिङहरु नाफमुखि हुदै जान्छन् । यसका लागि छुट्टै विभिन्न कृषि संस्थाहरुको स्थापना गर्नुपर्छ । नेपालको कृषि क्षेत्र नाफामुखी छ भनेर सबै युवाहरुलाई चेतना फैलाउन सक्नुपर्छ । कुषिबाट उत्पादित वस्तु तथा सेवाहरुलाई बजारसम्म पुर्याउनका लागि एउटा प्रवद्र्धन संस्थाको स्थापना गर्नुपर्छ । ग्रामीण क्षेत्रमा यी सुविधाहरु भयो भने ग्रामीण बैंकिङको अवस्था राम्रो हुँदै जान्छ ।

देशको अर्थतन्त्रमा सहयोग गर्नका लागि सबै बैंक तथा वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी आफ्नो लगानीको धेरै जसो लगानी कृषि क्षेत्रमा नै गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रको लगानीलाई जोड दिँदै आए भने देशको अर्थतन्त्र सबल हुँदै आउँछ । नेपालमा आर्थिक विकासका सम्भावनाका क्षेत्रहरु कृषि, पर्यटन र जलस्रोत हुन् । यी क्षेत्रहरु विकासका लागि अब्बल हुँदाहुँदै पनि सहि रुपमा प्रयोजन हुन नसकेको कारण आज नेपाली जनताहरु पछाडि परेका छन् । यी सम्भावनाका क्षेत्रलाई सही रुपमा प्रयोग गर्दै आए भने मलाई लाग्छ नेपालमा विकासको सम्भावना प्रचुर मात्रामा छ । (बैंकर्स भरतराज ढकालसँग बैंकिङ खबर डटकमले गरिएको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]