February 27th, 2018

धितोपत्र बोर्डमा बेलायती कम्पनीको निवेदन

मुना कुँवर । नेपालमा वस्तु विनियम बजार सञ्चालन गर्न बेलायती कम्पनी जिमेक्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । नेपालमा वस्तु विनिमय बजार सञ्चालन गर्न इच्छुक कम्पनीलाई अनुमति प्राप्त गर्न बोर्डले मंसिर ९ गते सार्वजनिक सूचनाद्वारा आवेदन खुला गरेको थियो । तर, हालसम्म बजार सञ्चालनको पूर्वस्वीकृतिका लागि जिमेक्सले मात्र निवेदन दिएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले बताए ।

करिब दुई महिना भइसक्दा पनि हालसम्म एक विदेशी कम्पनीले मात्र निवेदन दिएको छ । कुनै पनि नेपाली कम्पनीले इच्छा देखाएको छैन । ‘बेलायती कम्पनीको ५१ प्रतिशत र गैरआवासीय नेपाली संघको ४९ प्रतिशत सेयर स्वामित्व हुने गरी एक्सचेन्ज सञ्चालन गर्ने निवेदन दिएको छ,’ उनले भने, ‘कम्पनीले दिएको निवेदनउपर बोर्डले अध्ययन गरिरहेको छ । अध्ययनपछि उचित लागेमा बोर्डले थप प्रक्रियाका लागि कम्पनीलाई स्वीकृति दिनेछ ।’ बोर्डले स्वीकृति दिएपछि मात्रै कम्पनीले प्रक्रिया अगाडि बढाउन सक्नेछ ।

नेपालमा कमोडिटी बजारको सुरुवात सन् २००६ बाट भएको हो । तर, २००९ पछि मात्र सरकारले यो क्षेत्रबाट कर उठाउँदै आएको छ । नेपालमा ९ वटा एक्सचेन्ज सञ्चालनमा आए पनि पछिल्लो समयमा भने मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एडिएक्स) र डेरिभेटिभ एन्ड कमोटिडी एक्सचेन्ज (डिसिएक्स)ले बजारमा वस्तु खरिद–बिक्रीको कारोबार गर्दे आएका थिए । तर, वस्तु विनियम बजारसम्बन्धी ऐन जारी भएपछि कम्पनीहरूले नयाँ करार गर्न नपाउने भएका हुन् । त्यसपछि बोर्डले बजार सञ्चालन गर्न इच्छुक एक्सचेन्ज कम्पनीलाई दर्ता हुन आउन आह्वान गरेको हो।

बजारमा कारोबार गर्दै आएको मेक्स नेपालले भने पुँजी जुटाएर बोर्डमा निवेदन दिने तयारी गरेको कम्पनीका उपमहाप्रबन्धक नरेन्द्रप्रसाद भट्टले बताए । ‘तर, नियमावलीअनुसार पाँच प्रतिशत सेयर, साझेदारी तथा तीन वर्षसम्म सेयर बिक्री गर्न नपाउनेलगायतका व्यवस्थाले कम्पनीहरूलाई कठिन भएको छ,’ उनले भने । यद्यपि, कम्पनीले पुँजी संकलन गरी निवेदनको अन्तिम तयारी गरेको उनले जानकारी दिए ।

विनियमावलीमा वस्तु विनियम बजारका साथै वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्योट व्यवसाय र वेयर हाउसको पनि व्यवस्था छ । ऐनअनुसार बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्नेछ । त्यस्तै, वेयर हाउसको चुक्ता पुँजी १५ करोड, राफसाफ तथा फस्र्योट व्यवसाय गर्न ७ करोड, बजार निर्मातालाई २ करोड, लगानी व्यवस्थापकका लागि ५ करोड, लगानी परामर्शदातालाई करोड, संरक्षकलाई ५ करोड, वस्तु कारोबार व्यापारीलाई १ करोड, वस्तु कारोबार दलाल गर्नेलाई ५० लाख हुनुपर्ने नियमावलीमा तोकिएको छ ।

साझेदारका लागि यस्तो व्यवस्था
वस्तु विनियम बजारसम्बन्धी नियमावली, २०७४ मा बजारको रणनीतिक साझेदारसम्बन्धी व्यवस्थासमेत गरिएको छ । व्यवस्थाअनुसार वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको रणनीतिक साझेदारका रूपमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बढीमा ५१ प्रतिशत सेयर स्वामित्व लिन सक्नेछ । लगानी गर्न चाहने विदेशी संस्थाले वस्तु विनिमय बजारसम्बन्धी व्यवसाय सञ्चालन गरेको न्यूनतम तीन वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । संस्था रहेको मुलुकको सम्बन्धित नियमन निकायले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गरेको पाँच वर्ष पूरा भइसकेको र त्यस्तो अनुमति हालसम्म कायम रहेको हुनुपर्नेछ । संस्थाको कम्तीमा १ अर्ब रुपैयाँबराबरको खुद सम्पत्ति भएको र सम्बन्धित मुलुकको नियमन निकायले नेपालमा वस्तु विनिमय बजारमा लगानी गर्न स्वीकृति दिएको हुनुपर्नेछ ।

५५ सेयरको व्यवस्था
नियमावलीअनुसार वस्तु विनिमय बजारको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर अनुमतिपत्र प्राप्त गरेको मितिले तीन वर्षसम्म बिक्री गर्न सक्नेछैन । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न चाहेमा सम्बन्धित वस्तु विनिमय बजारमार्फत बिक्री वा हस्तान्तरण गरिने सेयरको अंकित मूल्यको एक प्रतिशतका दरले हुने रकमसहित सहमतिका लागि बोर्डसमक्ष निवेदन दिनुपर्नेछ । बोर्डले जाँचबुझ गरी सेयर बिक्री वा हस्तान्तरणका लागि सहमति प्रदान गर्नेछ । त्यस्तै, कुनै व्यक्तिले कुनै पनि रूपमा आफू वा एकाघरको सदस्य सेयरधनी रहेको कम्पनीमार्फत वस्तु विनिमय बजारमा पाँच प्रतिशतभन्दा बढी सेयर लिन पाउनेछैन । वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्योट वा वेयर हाउसको सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर अनुमतिपत्र प्राप्त भएकोे मितिले तीन वर्ष पूरा नभएसम्म बिक्री वा नामसारी गर्न नपाउने व्यवस्था गरिएको छ ।

बजारमा कारोबार गर्न सकिने वस्तुहरू
नियमावलीअनुसार बजारमा कृषिजन्य उत्पादन, धातुजन्य वस्तु, बहुमूल्य धातु, तेल र अन्य वस्तुहरू कारोबार गर्न सकिनेछ । कृषिजन्य वस्तुमध्ये कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमासलगायतका छन् । धातुजन्य वस्तुमा भने आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिल र जिंक, सुन, चाँदी र प्लाटिनम, कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्यास र हिटिङ आयल कारोबार गर्न सकिनेछ । नयाँ पत्रिकामा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]