October 24th, 2017

एनआईसी एशियाको ‘स्वीफ्ट’ प्रकरण : ‘रकम फिर्ता आउँछ’

काठमाडौं । एनआईसी एशिया बैङ्कले अन्तरराष्ट्रिय बैङ्कसँग कारोबार गर्दा प्रयोग हुने स्वीफ्ट प्रणाली ह्याक भई रकम हराएको बारे अनुसन्धान भइरहेको राष्ट्र बैङ्कले बताएको छ । बजारमा समाचार आएजस्तो सबै रकम नहराएको र सबै फिर्ता आउने सम्भावना रहेको पनि केन्द्रीय बैङ्कले जानकारी दिएको छ । एनआईसीले कारोबार गर्दै आएका विभिन्न देशका ६ ओटा बैङ्कसँग हालै भएको कारोबार अनधिकृत (अनअथोराइज्ड) देखिएकाले सो विषयमा अध्ययन भइरहेको राष्ट्र बैङ्कका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।

नेपालका अरू ६ बैङ्कको स्वीफ्टमा पनि समस्या आएको भन्ने आशयका समाचारमा सत्यता नभएको राष्ट्र बैङ्कले स्पष्ट पारेको छ । ‘अनुसन्धानको क्रममा सोमवार सबै बैङ्कका सूचना विभाग प्रमुखहरूसँग परामर्श र थप सुरक्षा उपाय अवलम्बन गर्न आवश्यक सल्लाह दिइएको हो,’ सहप्रवक्ता पण्डितले भने । उनका अनुसार एनआईसी एशियाको कारोबारमा मात्र समस्या देखिएको हो र सो समस्या के कारणले आयो भन्ने पुष्टि भएको छैन । थप अनुसन्धानपछि मात्र स्वीफ्ट ह्याक भएको हो वा अन्य कुनै गडबढी हो भन्ने थाहा हुने राष्ट्र बैङ्कको भनाइ छ ।

यसै विषयमा राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाल तथा डेपुटी गभर्नरलगायतको टोलीले सोमवार स्वीफ्टका नेपाल (कण्ट्री) प्रमुखसँग समेत छलफल गरेको छ । सो छलफलमा समग्र प्रणालीमा नभएर केही कारोबारमा समस्या देखिएकाले यसलाई खासै ठूलो समस्याका रूपमा नलिन विज्ञहरूले सुझाव दिएको बताइएको छ । एनआईसी एशियाको खातामार्फत स्थानान्तरण भएको रकम फिर्ता आउने सक्ने भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नभएको सहप्रवक्ता पण्डितको भनाइ छ । ‘यो प्रणालीमा देखिएको प्राविधिक समस्या हो, कसैले ह्याकै गरेको भए पनि रकम कुनै एक बैङ्कमा नै रहने भएकाले फिर्ता लिन सक्ने सम्भावना छ,’ उनले भने ।

नेपाल बैङ्कर सङ्घले पनि यस्ता समस्याबारे सचेत रहन सबै बैङ्करलाई आह्वान गरेको सङ्घका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

‘स्वीफ्ट प्रणाली सजिलै ह्याक हुने सम्भावना न्यून रहेकाले कसैले दुःख दिने नियतले यस्तो गरेको हुन सक्छ,’ उनले भने, ‘चोरी भएको भनिएको रकम खातामा फिर्ता आउन थालिसकेको जानकारी आएको छ ।’ एनआईसी एशिया बैङ्कले भने आफ्नो अन्तरराष्ट्रिय कारोबार ह्याक भएको आशङ्का गरिए पनि सत्यतथ्य पत्ता लागिनसकेको बताएको छ । घटना बाहिर आउनुअघि एनआईसी एशियाले ६ ओटा बैङ्कसँग आफूले गरेको कारोबारको वित्तीय जानकारी एकाइ (एफआईयू)मार्फत निरीक्षण गर्न राष्ट्र बैङ्कलाई अनुरोध गरेको बताइएको छ ।

के हो स्वीफ्ट ?
स्वीफ्ट भनेको अन्तरराष्ट्रिय कारोबार गर्न एक बैङ्कबाट अर्कोमा रकम स्थानान्तरण गर्ने विद्युतीय प्रणाली वा सफ्टवेयर हो । स्वीफ्टको पूर्णरूप सोसाइटी फर वल्र्डवाइड इण्टरबैङ्क फाइनान्सियल ट्राञ्जेक्शन हो । सोसाइटी फर वेलफेयर अर्गनाइजेशनले  उत्पादन  गरेको यो प्रणाली विश्वका लगभग सबै मुलुकका बैङ्कहरूले प्रयोग गर्छन् । अत्यन्त सुरक्षित सञ्चारको माध्यम मानिने यस प्रणालीबाट रकम पठाउनेभन्दा पनि एउटा खाताको रकम अर्कोमा स्थानान्तरण गर्ने सूचना (आदेश) आदानप्रदान गरिन्छ । आर्थिक अभियानमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]