October 19th, 2017

चाडपर्वमा रेमिट्यान्स दोब्बर

वीरेन्द्र केसी । अरू बेलाभन्दा चाडपर्वमा रेमिटयान्स धेरै भित्रिन्छ । रोजगारीका क्रममा विदेशमा रहेकाहरूले आफन्तलाई दसैं–तिहार मनाउन छुट्टै खर्च पठाउने गर्छन् । सदरमुकामस्थित सबै बैंकले हाल दोब्बर दरले रेमिटयान्स भित्रिने गरेको जनाएका छन् । एक दर्जनभन्दा बढी बैंकबाट यतिबेला दैनिक ३ करोड रेमिटयान्स भित्रिने गरेको बैंकले जनाए । अरूबेला दैनिक १ करोड हारहारी वितरण हुने गरेको थियो । 

दसैंभन्दा अघि धेरै भीड थियो । त्यतिबेला तिहारको तुलनामा चौगुना बढी रेमिटयान्स भित्रिएको थियो । ग्लोबल आईएमई बैंककी शाखा प्रबन्धक सुष्मा गिरीले अरू बेलाभन्दा चाडपर्वमा धेरै रेमिटयान्स भित्रिने बताइन । दसैमा दैनिक ८० लाख रुपैयाँ भित्रिएको थियो । अहिले ६० लाख जति वितरण भएको छ । अरुबेला ३० लाख रुपैयाँ वितरण गरिने उनले बताइन् । आफन्तलाई चाडपर्व मनाउन छुट्टै पैसा विदेशमा भएकाले पठाइदिने गरेकाले यस्तो रकम यति बेला धेरै भएको उनले बताइन् । ‘अरू बेला महिनाको अन्तिमतिर रेमिटयान्स आउँछ,’ उनले भनिन् । 

सन्धिखर्कको साइन रेसुंगा विकास बैंकका म्यानेजर दीपक पोखरेलले तिहारमा दैनिक ५० लाख रुपैयाँ वितरण भइरहेको जनाए । दसैंमा दैनिक ७० लाख वितरण गरेको बताए । अरू बेला ३० लाख वितरण हुने उनले जनाए । रेमिटयान्स धेरै साउदी, कतार, मलेसिया, दुबईबाट आइरहेको छ । अमेरिका, जापानलगायतका देशबाट पनि भित्रिएको छ । केही महिनायता भारतबाट पनि रकम भित्रिरहेको उनले बताए । विदेशबाट पर्व मनाउने खर्च लिन सदरमुकामका बैंकमा गाउँबाट आएर रकम झिक्नेको भीड नै छ । छिमेकी जिल्ला कपिलवस्तु, गुल्मी, पाल्पा, दाङ र रूपन्देहीबाट पनि अर्घाखाँचीवासीले रेमिटयान्स बुझेका छन् । घण्टौं लाइनमा बसेर पैसा बुझछन् । एकजनाले दस हजारदेखि २ लाख रुपैयाँसम्म बुझ्ने गरेको उनले बताए । पैसा बुझ्न श्रीमती, आमाबाबु, भाइबहिनी आएका छन् । 

कैलाश विकास बैंकका म्यानेजर सन्तोष ज्ञवालीले अरू बेला दैनिक २० लाख रुपैयाँजति भित्रिने बताए । सन्धिखर्कमा रहेका मेगा, एनआईसी, एसबीआई, एभरेस्ट, जनता, बैंक अफ काठमान्डुबाट पनि दैनिक २० देखि ३५ लाख दरले रेमिटयान्स भित्रिने गरेको जनाइएको छ । श्रीमान्ले कतारबाट पठाएको तिहार खर्च लिन सदरमुकाम आएकी हंसपुरकी सुष्मा खत्रीले १५ हजार रुपैयाँ बुझिन् । ‘श्रीमान्ले दसैं मनाउन २५ हजार पठाइदिनुभएको थियो,’ उनले भनिन्, ‘तिहारमा दुई दाजुसहित दिदीबहिनीलाई टीका लगाइदिएर उपहार किन्न १५ हजारले अलिक नपुग्ला कि रु सबै सामान महँगो छ । सबैले थोरै–थोरै उपहार किन्नुपर्ला ।’

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि सेलरोटी, मिठा खानेकुरा, लत्ताकपडा र अन्य वस्तु उपहार दिने चलन छ । ‘परम्परागत संस्कृति मनाउने क्रममा खर्च त भइहाल्छ नि,’ उनले भनिन्, ‘छोराछोरीलाई पनि तिहार मनाउन खर्च चाहियो । देउसीभैलो पनि आउँछन् । उनीहरूलाई पनि दक्षिणा त दिनैपर्‍यो ।’ बारीको तरकारी खेतीबाट चिनी, चियापत्ती, डोरी र टीका खर्च पुग्ने गरेको उनले बताइन् । ‘अरू बेला दुईरचार महिनामा घर खर्च पठाइदिनुहुन्छ,’ खत्रीले भनिन् । तडकझडकले दसैंतिहार पर्व महँगो बन्दै गएको खनका बाबुराम खनालले बताए । जिल्लाबाट खाडी मुलुक कतार, मलेसिया, कोरिया, अमेरिका, जापानलगायत ३० भन्दा बढी देशमा अर्घाखाँचीका महिला र पुरुष रोजगारीमा छन् । कान्तिपूर दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]