October 14th, 2017

नेपालमा सुरक्षित बैंकिङ कारोबारसम्बन्धी व्यवस्था    

रमेश कुमार पोखरेल । फिर्ता हुनेगरी लिए वा दिएको धन कर्जा हो । व्याज वा शुल्क लिई वा नलिई, समय किटान गरी वा नगरी, सुरक्षण राखी वा नराखी र अन्य शर्तहरु राखी वा नराखी कर्जा लिन वा दिन सकिन्छ । तर फिर्ता भने हुनैपर्छ, त्यसैले कर्जा प्रवाह गर्दा कर्जा लिने व्यक्ति वा संस्थाको फिर्ता गर्न सक्ने क्षमताको विश्लेषण जरुरी हुन्छ । फिर्ता हुने आधार स्थापित गर्न विभिन्न प्रकारका सम्पतिलाई सुरक्षणको रुपमा समेत राख्ने गरिन्छ । 

बैंकिङ क्षेत्रमा, लगानी र असुली दुवैलाई कर्जा भनिन्छ । लगानी तर्फ प्रत्यक्ष लगानी र ग्यारेण्टी, त्यसैगरी असुलीतर्फ प्रत्यक्ष असुली र बचनवद्धता पर्दछन् । यसलाई फण्डेड र नन फण्डेड कारोवार पनि भन्न सकिन्छ । बैंकको प्रमुख सम्पतिको रुपमा रहेको कर्जाको श्रोत निक्षेप हो । विभिन्न खाताहरु मार्फत बैंकमा जम्मा हुन आएको रकम जुन  विनाशर्त बैंकले फिर्ता गर्नुपर्दछ,लाई निक्षेप भनिन्छ । यसरी प्राप्त हुन आएको निक्षेप सुरक्षित रुपमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने गरी लगानी गर्नुपर्दछ । निक्षेप र कर्जा बीचको तालमेल तर्कपूर्ण हुनुपर्दछ । नगद प्रवाह र सुरक्षण कर्जा लगानीका महत्वपुर्ण आधार हुन् । 

कर्जा प्रवाह गर्ने सिलसिलामा गरिएका करार र निर्धारित शर्तहरु पालन गर्न नसक्ने अवस्थाको बीचबाट कर्जा जोखिम श्रृजना हुन्छ । असन्तुलित पोर्टफोलियोले अधिकेन्द्रित जोखिम र फर्म वा व्यक्ति विशेषको असमर्थथता वा अनिच्छाले काउण्टरपार्टि जोखिम निम्त्याउँदछ । काउण्टरपार्टिबाट श्रृजना हुने जोखिम न्युनिकरणको लागि विभिन्न प्रकारका सम्पतिहरु सुरक्षणको रुपमा राखिन्छ ।

नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय रुपमा एकाकार भएको छ । विकसित देशका बैकिग क्षेत्रमा प्रयोग भएका उच्च स्तरका प्रविधि तथा मान्यताहरु अवलम्वन गरिएको छ । सेवा प्रवाह प्रतिस्पर्धात्मक छ । तर कर्जा लगानी र यसको सुरक्षण राख्ने प्रविृति तथा तौरतरिका परम्परागत छ । नेपालका बैंकहरुले २०७४ आषाढसम्म करीव २० खर्व कर्जा लगानी गरेका छन् । कुल कर्जा रकमको झण्डै ७५ प्रतिशत घरजग्गा जस्ता स्थिर सम्पतिको सुरक्षणमा, १५ प्रतिशत चल सम्पतिको सुरक्षणमा र १० प्रतिशत जति अन्य सम्पतिहरु सुरक्षणको रुपमा रहेका छन् । चल सम्पतिलाई सुरक्षणमा राख्ने प्रणाली व्यवस्थित भैसकेको छैन । चल सम्पतिको सुरक्षण पनि कानुनी हक सहित अन्तर्राष्टिय असल अभ्यास अवलम्वन गरी स्वीकार गरेको देखिदैन । भएका कानूनी व्यवस्थाहरु कार्यान्वयन गर्न नियामक निकायहरुको प्रतिवद्धता फितलो रहेको छ । लगानी गर्ने निकायहरु पनि विद्यमान प्रणाली प्रति विश्वस्त छैनन् । 

आर्थिक रुपले मुल्यवान दृष्य तथा अदृष्य चल सम्पतिहरु सुरक्षण्को रुपमा स्वीकार्दा उद्योग व्यवसायलाई वित्तीय श्रोत उपलव्ध हुने, व्यवसाय विस्तार हुने र देशको आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुग्नेछ । बैंक तथा वित्तीय संस्थाहरुको लगानी विस्तार हुन गै देशको आर्थिक वृद्दिमा टेवा पुग्ने देखिन्छ ।बैंक तथा वित्तीय संस्था लगायत अन्य व्यक्ति तथा संस्थाहरुले समेत आवश्यक स्वीकृति लिई कर्जा लिने दिने, धितो लिने पक्षले धितोमा कानुनी हक कायम गर्ने र धितो नियन्त्रणमा लिई बिक्री गरी कर्जा असुली गर्न सक्ने कानुनी व्यवस्था हुने भएकोले कर्जा कारोवारको दायरा  फराकिलो हुन्छ । अनौपचारिक क्षेत्रमा हुने कर्जा कारोवार औपचारिक दायरामा आई अर्थतन्त्रको विकासमा सहयोग पुग्दछ । 

कर्जा लिने व्यक्ति, फर्म वा संस्थाले आफुले लिएको कर्जा तिर्न नसकेमा कर्जा दिने व्यक्ति, फर्म वा संस्थालाई दिने प्रतिबद्धता सहितको आर्थिक मुल्य भएको सम्पतिलाई धितो भनिन्छ । वित्तीय श्रोतमा सर्वसाधारणको पहँुच हुन नसकेका कारणहरुमध्ये स्वीकारयोग्य धितो नहुनु पनि प्रमुख कारण हो । कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थामात्र संलग्न हुनु, घर जग्गालाई मात्र धितोको रुपमा स्वीकार गर्नु, आदि कारणले कर्जाको दृष्टिबाट नेपालमा वित्तीय पहुँचको अवस्था कमजोर रहेको छ । 
स्वीकारयोग्य धितोबाट सुरक्षित कर्जा कारोवारलाई सुरक्षित कारोवार भनिन्छ । घरजग्गा जस्ता स्थिर सम्पतिको धितो राख्ने प्रक्रिया छुट्टै भएकोले सुरक्षित कारोवार सम्वन्धी कानूनी व्यवस्थाले चलायमान सम्पतिको धितो सम्वन्धमा मात्र सरोकार राख्दछ । कर्जा विस्तारमा भएका जोखिम तथा चुनौतीहरु संग जुझ्दै चलायमान सम्पतिमा भएको आर्थिक मूल्यलाई सुरक्षणको रुपमा उपयोग गरी कर्जा विस्तार गर्ने काम सुरक्षित कारोवारले गर्दछ ।

व्यक्तिगत, पारिवारिक वा घरायसी प्रयोजनका लागि उपयोग गरिने जुनसुकै मालसामान, मेसिनरी तथा फिक्स्चर्स, विभिन्न कृषि उत्पादन, स्टक तथा इन्भेण्टरी र सवारी साधन जस्ता देख्न र छुन सकिने चलायमान वस्तुहरु जसमा मुल्य हुन्छ सुरक्षित कारोवार अन्तर्गत सुरक्षणयोग्य हुन्छन् । हस्तान्तरणयोग्य अधिकारपत्र, लिखत तथा शेयर प्रमाणपत्र जस्ता वित्तीय उपकरण, महत्वपुर्ण कागजातहरु, भुक्तानी पाउनुपर्ने खाता, निक्षेप खाता, स्टक, बण्ड तथा म्युचुअल फण्ड आदि समेत सुरक्षणको रुपमा रहन सक्छन् । पेटेण्ट, ट्रेडमार्क, गुडविल, कम्प्युटर प्रोग्राम तथा सफ्टवेयर आदि अदृश्य सम्पतिहरु समेत धितोको रुपमा स्वीकार गर्न सकिन्छ । 

नेपालमा सुरक्षित कारोवार ऐन, २०६३ र सुरक्षित कारोवार नियमावली, २०७३ ले यस सम्वन्धमा कानुनी तथा संरचनागत व्यवस्था गरेको छ । कर्जा सुचना केन्द्र लाई यसको नियामक निकाय तोकिएको छ । धितोको लागि स्वीकारयोग्य दृष्य तथा अदृष्य बस्तुहरु दर्ता गर्ने  प्रयोजनको लागि सुरक्षित कारोवार दर्ता कार्यालय स्थापना गरिएको छ ।

दर्ता कार्यालयले सूचना वा सूचनासँग सम्बन्धित कुनै संशोधन, सूचनाको निरन्तरतासम्बन्धी विवरण, सूचनाको समाप्तिसम्बन्धी विवरण, त्रुटी सच्याउने विवरण तथा लियन होल्डरको हकसम्बन्धी सूचनाहरु दर्ता गर्नका लागि विद्युतीय प्रविधिद्वारा सञ्चालन हुने गरी दर्ता अभिलेख खडा गर्ने र सोको सञ्चालन तथा सम्भार गर्ने काम गर्दछ । कुनै पनि व्यक्तिले अनुरोध गरेमा निजलाई दर्ता कार्यालयको अभिलेखबाट जानकारी उपलब्ध गराउँदछ । 

दर्ता कार्यालयले आपूm समक्ष दर्ता भएको प्रत्येक अभिलेखलाई छुट्टाछुट्टै दर्ता नम्बर दिने गर्दछ।प्रत्येक अभिलेखलाई दिएको दर्ता नम्बर, दर्ताको मिति र समय समेत खुलेको अभिलेख खडा गरी प्रत्येक अभिलेख सार्वजनिक निरीक्षणका लागि खुला राखिन्छ । प्रारम्भिक सूचनालाई धितो दिने व्यक्तिको नामबाट दर्ता गरिन्छ । प्रारम्भिक सूचना तथा सोसँग सम्बन्धित सबै अभिलेखहरुलाई एक आपसमा आबद्ध हुने किसिमबाट दर्ता गरिएको हुन्छ । क्रमसंख्या अङ्कित सवारी साधनको क्रमसंख्या उल्लिखित सूचनाको सम्बन्धमा क्रमसंख्या अङ्कित सूची खडा गरिएको हुन्छ ।म्याद व्यतित भएको सूचनाहरुको अभिलेख म्याद व्यतित भएको मितिले दश वर्षसम्म सुरक्षित हुन्छ ।  

दर्ता कार्यालयको अभिलेखमा रहेको चलायमान सम्पतिमा सम्झौताको माध्यमबाट धितोको हक दिन वा लिन सकिन्छ । यसरी धितोको हक दिँदा लिँदा कुनै धितोको सम्पत्तिमाथि एकभन्दा बढी व्यक्तिको धितोको हकसमेत सृजना हुने गरी धितोको हक दिन र लिन सकिन्छ ।कर्जा उपयोग गर्ने पक्षले तोकिएको शर्त र समयमा भुक्तानी गर्न नसकेमा सुरक्षणको रुपमा रहेको धितो कर्जा प्रदान गर्ने पक्षले आफ्नो स्वामित्वमा लिने र बिक्री गरी लेना रकम असुल उपर गर्ने अधिकार प्राप्त गर्ने कामलाई धितोको हक श्रृजना भनिन्छ । धितोको हक कर्जा लिने र दिने दुई पक्षको सम्झौताबाट श्रृजना हुन्छ । 

धितोको सम्पत्तिको विवरण उल्लेख गरी धितोसम्बन्धी सम्झौता भएकोमा,धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई मूल्य दिएकोमा, र धितो दिने व्यक्तिसँग धितोको सम्पत्तिउपर अधिकार रहेकोे वा निजमा त्यस्तो धितोको सम्पत्ति धितो लिने व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने अधिकार रहेकोमा धितोको सम्पत्तिमा धितोको हकको आबद्धता भएको मानिनेछ । अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिमा रहेको धितोेको हकको आबद्धताले धितो लिने व्यक्तिलाई त्यस्तोे धितोको सम्पत्तिबाट लाभ प्राप्त गर्ने धितोको हक प्रदान गर्नेछ । 
धितोको हकको प्रथमिकता दाबी गर्न धितोको हक लिने व्यक्तिले धितोको हक धितो लिएको सम्पतिमा आवद्ध भएको हुनुपर्ने र त्यस्तो धितोको हक परिपक्व भएको हुनुपर्छ । धितोको हक परिपक्व गराउन सो सम्वन्धी सुचना दर्ता कार्यालयमा दर्ता गराउनु पर्छ । कतिपय सम्पतिको हकमा त्यस्तो सम्पति वा सो को प्रमाणपत्र नियन्त्रणमा लिएको हुनुपर्छ । धितोको हक दर्ता गराउनु पर्ने कारोवारको हकमा त्यस्तो हक दर्ता कार्यालयमा दर्ता नभएमा धितो लिने व्यक्तिले प्राथमिकता पाउँदैन । हक दर्ता गराउँदा दर्ता कार्यालयको वेवसाइट बाट अनलाइन दर्ता गराउनुपर्छ । 

एउटै धितोको सम्पत्तिमा एकभन्दा बढी व्यक्तिको धितोको हकको सृजना भएको अवस्थामा सूचना दर्ता भएको र सूचना दर्ता नभएको धितोको हकमध्ये सूचना दर्ता भएको धितोको हकले प्राथमिकता पाउनेछ । सूचना दर्ता भएको धितोको हकमा पनि त्यस्तो धितोको हकले धितोको हकको सूचना दर्ता गराएको समय वा धितोको हक परिपक्व भएको समय अनुसार प्राथमिकता पाउनेछ ।

जुनसुकै धितोको हक लिएको व्यक्तिले बैंक तथा वित्तीय संस्था सरह धितोमा लिएको सम्पति लिलाम बिक्री वा बेचबिखन गरी आफ्नो लिनुपर्ने रकम असुलउपर गर्न वा धितोको हक दिने व्यक्तिलाई कारोवारसंग सम्वन्धित दायित्व परिपालना गराउन सक्छ । दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले कुनै वा सबै धितोको सम्पत्ति बिक्री गर्न, भाडामा दिन वा अन्य कुनै पनि तवरले बेचबिखन गर्न सक्नेछ । 

लिखितरुपमा अन्यथा सहमति भएकोमा बाहेक दायित्वको पालना नभई धितो दिने व्यक्ति वा धितो लिने अन्य कुनै व्यक्तिले धितोको सम्पत्तिबाट सुरक्षित सम्पूर्ण दायित्वहरु पूरा गर्दा धितो लिने व्यक्तिले भुक्तानी गरेको मनासिब कानून व्यवसायी शुल्क र कानूनी कारबाही गर्दा लागेको अन्य खर्च लगायत त्यस्तो धितोको सम्पत्ति पुनः प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी गर्दा वा बेचबिखन गर्दा धितो लिने व्यक्तिले गरेको अन्य मनासिब खर्चहरु बुझाई धितोको सम्पत्ति निखन्न सक्नेछ ।

सुरक्षित दायित्व बाँकी नरहेमा र धितो लिने व्यक्तिसँग भावी ऋण दिने, दायित्व बहन गर्ने वा अन्य कुनै पनि तवरले मूल्य दिने प्रतिबद्धता नभएमा धितोको हकको समाप्ति हुनेछ ।बिक्री गरिएको बहीखाता वा सुरक्षित बिक्री करारका सम्बन्धमा दायित्व बहन गर्ने व्यक्तिले दायित्व पूरा गरेपछि धितोको हकको समाप्ति हुनेछ ।
औद्योगिक तथा विकसित देशहरुमा चलायमान सम्पतिहरु धितोको रुपमा व्यापक प्रयोग भएको पाइन्छ । 

संयुक्त राज्य अमेरिकामा कुल कर्जाको ५० प्रतिशत चलायमान सम्पतिको धितोमा प्रवाह भएको पाइन्छ । तर अफ्रिका, एशिया, पुर्वी युरोप तथा ल्याटिन अमेरिकाका विकासशील देशहरुमा घरजग्गा र कर्जा प्रदान गर्ने पक्षको भौतिक नियन्त्रणमा राखेका चल सम्पतिहरु मात्र धितोको रुपमा स्वीकार गर्ने प्रचलन रहेको छ । यस्ता देशहरुमा धितोको हक श्रृजना गर्ने काम कठीन, महंगो र अनिश्चित हुन्छ । धितोको हक परिपक्व गर्न र प्राथमिकता निर्धारण गर्न कठिन छ । धितोको हक कार्यान्वयन गर्न समेत ढिलो र महंगो पर्ने गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]