August 18th, 2019

बैंकिङ कसुरको घटनामा दर्जनौँ जेल चलान, कैयौँ फरार

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्न थालेको छ । घरजग्गा दलालदेखि बैंकर एवम् मन्त्रीहरुसमेत यसमा मुछिन थालेका छन् । बैंकिङ कसुर लागेका केहीलाई जेल चलान गरिएपनि अझै कयौँ दोषीहरु फरार अवस्थामा छन् ।

सबैभन्दा बढी बैंकिङ कसुरका घटना काठमाडौँ उपत्यकामा देखिएको छ । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ५६६ विरुद्द बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा ३ र भक्तपुरमा ३ ओटा कार्यालयबाट मुद्दा चल्दै आएको छ । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ । मुलुकभर आर्थिक वर्ष २०७५।०७६ मा २ हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको छ ।

हालै मात्र कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा पक्राउ परे । उनी पदबाट पनि बरखास्त भए । अदालतले मन्त्री खत्री सहित अरु ५ जनालाई पक्राउ आदेश दिएको थियो । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको अभियोग लागेको हो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

बैंकका कर्मचारीकै मिलेमतो
प्रायः बैंकिङ कसुरका घटनामा बैंकका कर्मचारीकै संलग्नता हुने गरेको पाइएको छ । गत वर्ष ऋण दुरुपयोग गरेको आरोपमा सामुदायिक लघुवित्त वित्तिय संस्थाका सञ्चालक समिति अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान, सञ्चालक बटुकृष्ण कार्की र तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्वयम्भू राम जोशी पक्राउ परेका थिए । बैंकिङ कसुरको आरोपमा कृषि विकास बैंकका कर्मचारीहरु पनि केही समयअघि पक्राउ परेका थिए । यस्ता थुप्रै घटना छन्, जसमा बैंकका कर्मचारी मात्रै नभएर संचालक एवम् व्यवस्थापकीय टिमकै संलग्नता पाइएको छ ।

ठूला अभियुक्त फरार
बैंकिङ कसुरका अभियुक्तहरू धमाधम पक्राउ परे पनि बैंक नै डुबाउने गरी अनियमितता गर्नेहरू भने अझै पक्राउ पर्न सकेका छैनन् । ती अभियुक्त विभिन्न देशमा लुकेर बसेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको हो । लुकेर बसेका व्यक्तिले आफू बस्दै आएको मुलुकको कानुनी कागजात बनाइसक्ने भएकाले पनि अभियुक्तलाई पक्राउ गर्न ढिलाइ भइरहेको सीआईबी बताउँछ ।

क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनीलाई डुबाएका पवनकुमार कार्कीलाई पक्राउ गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन वर्षअसघ रेड कर्नर नोटिस जारी गरे पनि उनी पक्राउ पर्न सकेका छैनन् । कार्कीमाथि १ अर्ब २२ करोड रुपैयाँ घोटाला गरेको अभियोग छ । कार्की फाइनान्स कम्पनीलाई अपग्रेड गरेर वाणिज्य बैंक बनाउँछु भन्दै लागेका थिए । उनले ३८ जनाको नाममा नक्कली फाइल बनाएर रियल स्टेटको कारोबार गर्दै आएका थिए । उनी २०६८ देखि फरार छन् ।

त्यसैगरी, सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक मधुसुदन सिलवाल पनि पक्राउ नपरेको उच्च अदालतले जनाएको छ । सिलवालमाथि सिद्धार्थ कोषको रकम दुरुपयोग गरेको अभियोग छ । उनले ३ करोड ३४ लाख रुपैयाँ ठगी गरेका छन् । सिलवाल तत्कालीन किस्ट बैंक ठगीसँग पनि जोडिएका छन् । सीआईबीले उनलाई एकपटक पक्राउ गरेको थियो । तर, पछिल्लो समय उनी फरार छन् । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्कीलाई पनि प्रहरीले पक्राउ गर्न सकिरहेको छैन । उनीमाथि ८ करोड १३ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोग छ ।

तल्कालीन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई भने सीआईबीले पक्राउ गरिसकेको छ । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरेका थिए । उनको मुद्दा उच्च अदालत पाटनमा अझै चलिरहेको छ । सीआईबीले मञ्जुश्री फाइनान्स डुबाउने नवराज थापालाई पनि पक्राउ गरिसकेको छ । थापाले ३ करोड ४४ लाख २६ हजार रुपैयाँ ठगेका थिए । उनलाई उच्च अदालत पाटनले तीन वर्ष कैद र १ करोड रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको छ । प्रहरीका अनुसार, सहमतिमा गरेको कारोबारमा पैसा नउठेपछि मुद्दा दर्ता गर्ने प्रचलन बढेको छ । खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई पनि अहिले बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]