February 11th, 2019

शेयर परिसूचक नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो  

 बैंकिङ खबर। शेयर बजारमा परिसूचक नेप्से बढेको छ । घट्दो बजारमा सोमबार देखिएको वृद्धिलाई करेक्सनको रुपमा लिन सकिने लगानीकर्ताहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदरको प्रभाव अझै लामो समय देखिने भएपछि लगानीकर्ताले कारोबार घटाएका छन् । जसको असर शेयर बजारमा देखिको हो । 

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र त्यसले ब्याजदरमा निम्त्याएको वृद्धिका कारण लामो समयदेखि शेयर बजारमा घट्दो अवस्थामा छ। वित्तीय बजारमा तरलता सहज नहुँदा सम्म संस्थागत तथा ठुला लगानीकर्ताले लगानी बढाउन सक्ने अवस्थामा देखिदैनन् । त्यस्तै बैंकबाट कर्जा लिएर लगानी गर्ने लगानीकर्तापनि बजारमा प्रवेश गर्ने सकिरहेका छैनन् । त्यसैको प्रभाव शेयर बजारमा देखिएको विश्लेषकहरु बताउँछन् ।  

सोमबार नेप्से परिसूचक १ दशमलव ३४ अंकले बढेर १ हजार १ सय २८ दशमलव ८६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलव १९ अंकले बढेर २ सय ४० दशमलव ४० अंकमा बन्द भएको छ । वित्तीय बजारमा लगानी पूँजी अभाव भएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यसले बजारलाई अझै केही समय घटदो अवस्थामा राख्ने देखिन्छ ।

बजारमा कारोबार रकम पनि निकै न्यून छ । आइतबार भन्दा सोमबार कारोबार रकम घटेको छ । १ सय ६६ कम्पनीको २० करोड ५३७ लाख १४ हजार २२ रुपैयाँ बराबरको ६ लाख ८७ हजार ३ सय ३६ कित्ता शेयर हरु खरिद विक्री भएको छ । लामो समय देखि लगानीकर्ता खरिद विक्रीका लागि तयार नहुँदा कारोबार रकम समेत प्रभावित हुँदै आएको छ ।

अर्कोतर्फ नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने सम्भावना रहेकाले पनि लगानीकर्ताले राष्ट्र बैंकले वित्तीय तरलता बढाउन चाल्न सक्ने नयाँ कदमको अपेक्षामा रहेका छन् । जसले गर्दा कारोबार रकमसँगै परिसूचक नेप्से प्रभावित भएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]