January 17th, 2019

वैशाखदेखि बुद्धको काठमाडौं–कोलकाता उडान

बुद्ध एयरले वैशाख २ गतेदेखि काठमाडौं–कोलकाता उडान गर्ने घोषणा गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कम्पनीले उक्त जानकारी दिएको हो । सो एयरले अहिले सातामा दुईपल्ट काठमाडौं–बनारस उडान गर्दै आएको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तरराष्ट्रिय उडानको पहिलो गन्तव्यमा सफलता मिलेकाले कम्पनी अन्य गन्तव्यमा उडान गर्न तयार भएको बताए । उनले भने, ‘काठमाडौं–बनारस उडानको सफलताबाट प्राप्त हौसलाका कारण कम्पनी अन्य अन्तरराष्ट्रिय गन्तव्यमा जान लागेको हो ।’ आन्तरिक उडानमा बुद्ध एयर स्थापित भइसकेको, अन्तरराष्ट्रिय उडानका लागि ग्राउण्ड अपरेशन, इञ्जिनीयर, क्रु, ह्यंगर लगायत आवश्यक पूर्वाधार तयार भइसकेको र लाइसेन्स पनि पाइसकेको हुँदा हामी अहिले अन्तरराष्ट्रिय परीक्षण उडानको तयारी गर्दै छौं ।’

कम्पनीले परीक्षण उडानका लागि हाल प्रयोगमा आइरहेका एटीआर–७२ विमान प्रयोगमा ल्याउने बताएको छ । बस्नेतका अनुसार अन्तरराष्ट्रिय उडान जोखिमपूर्ण हुने र परीक्षण नगरी लगानी गर्दा धेरै घाटा र खर्च हुने भएकाले तत्काल परीक्षणका लागि एटीआर विमान प्रयोग गर्न लागिएको हो । परीक्षण उडान सफल नभए खर्च र घाटा कम हुने कम्पनीको विश्लेषण छ । परीक्षण सफल भएपछि कम्पनीले जेट विमानहरूबाट २०७७ भदौदेखि दक्षिण एशियाका विभिन्न गन्तव्य/महानगरमा उडान गर्ने तयारी गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा जानेहरूलाई लक्षित गरेर हुँदै आएका अन्तरराष्ट्रिय उडानसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने र ती क्षेत्रमा कार्यरत कम्पनीहरू स्थापित भइसकेको भन्दै पर्यटकलक्षित उडान गर्ने रणनीति लिएको छ । आर्थिक अभियानमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]