January 9th, 2019

सुधीर बस्नेतकी श्रीमतीको नाममा रहेको सेयर लिलामीमा

बैंकिङ खबर । ओरेन्टल कोअपरेटिभ संस्थाका तत्कालिन दुई कर्मचारीहरु नितु थापा बस्नेत र राजेश श्रेष्ठको नाममा रहेको ग्लोबल आईएमई बैंकको सेयर जफत गरी लिलाम विक्री सुरु गरिएको छ । ओरेन्टल सहकारीका बचतकर्तालाई बितरण गर्नका लागि उक्त सेयर लिलामीमा निकालिएको हो ।

सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले श्रेष्ठ र बस्नेतको नाममा रहेको ग्लोबल आईएमई बैंकको दुई लाख ३३ हजार छ सय ७० कित्ता सेयर जफत गरी लिलाम गर्न लागेको हो । बस्नेतको नाममा बैंकको ४७ हजार ५९ कित्ता र श्रेष्ठको नाममा एक लाख ८६ हजार छ सय ११ कित्ता सेयर छ । जसमध्ये ६३ हजार ३८८ कित्ता शेयर साधारण सेयर हो भने बाँकी संस्थापक सेयर हो । 

बैंकको संस्थापक तर्फको शेयरमा न्युनतम १८० रूपैयाँ र सर्बसाधारण तर्फको शेयरमा न्युनतम २७२ रूपैयाँमा बोलपत्र पेश गर्न सकिनेछ । बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३ हजार रूपैयाँको फारम खरिद गरेर माघ १० गते भित्र ऋण असुली न्यायाधिकरणको कार्यालयमा बोलपत्र पेश गर्न सकिनेछ । लिलामी शेयरमा बोलपत्र पेश गर्न चाहनेले शेयरको १० प्रतिशत रकम धरौटी पहिले नै बुझाउनु पर्ने न्यायाधीकरण कार्यालयले जनाएको छ ।

संस्थामा ११ हजारभन्दा बढी बचतकर्ताका साढे पाँच अर्ब भन्दा बढी बचत फसेको छ । बैंकको संस्थापक र साधारण शेयर लिलामी पश्चात आउने न्युनतम तीन करोड ८२ लाख २७ हजार २०४ रूपैयाँ ओरेन्टल कोअपरेटिभका बचतकर्ताहरूलाई वितरण गरिनेछ । 

नितु थापा बस्नेतका श्रीमान् सुधीर बस्नेतले संस्थाबाट हाउजिङ व्यवसायमा लगानी गरेका थिए । हाउजिङ क्षेत्रमा आएको मन्दीसँगै लगानी डुबेपछि संस्था बचतकर्ताको रकम समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेकाले सहकारी तथा गरिबी निवारण मन्त्रालयले ओरेन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]