October 5th, 2018

‘१५ लाख नेपाली सेयर बजारमा आवद्ध’

डा. रेवत बहादुर कार्की । धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रममा बोर्डको प्रादेशिक कार्यालय प्रदेश नं. १मा स्थापना गर्ने, प्रदेश तथा स्थानीय तहमा धितोपत्र दलाल व्यवसाय खोल्न अनुमति दिने प्रदेश स्तरमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने तथा प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना गर्ने जस्ता कार्यक्रम समावेश गरेको छ । त्यसै कार्यअन्तर्गत यो प्रदर्शनीको आयोजना गरिएको धितोपत्र बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईएस्कोको आह्वान अनुसार हाल मनाईरहेको लगानीकर्ता सप्ताहको अवसारमा धितोपत्र बजारको प्रादेशिक स्तरबाट विकासको विगुल फुक्न प्रदेश १ को ऐतिहासिक तथा औद्योगिक नगर विराटनगरमा धितोपत्र बजारसम्बन्धी सम्पूर्ण पक्षहरुको सहभागीतामा पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना भएको छ ।

विराटनर नेपालको धितोपत्र बजारको इतिहाससँग जोडिएको ऐतिहासिक सहर हो । १९९४ सालमा नेपालको पहिलो उद्योग विराटनगर जुट मिल र नेपालको पहिलो बैंक नेपालले सर्वसाधारणमा पहिलोपटक सेयर जारी गरेर धितोपत्र बजारको सुरुवात गरेको थियो । आज पनि धितोपत्र बजारका लागि खोलिएका धेरै उद्योगहरु यस क्षेत्रमा रहेका छन् । नेपालको पुँजी बजार, धितोपत्र बजार, औद्योगिक तथा आर्थिक विकासको लागि एक्स्पो महत्वपूर्ण रहेको छ । यसरी योगदान गर्दै जाने र पुँजी बजारलाई अझै अगाडी लग्दै जाने विश्वास बोर्डले लिएको छ । 

समग्र आर्थिक परिसूचकका हिसाबले प्रदेश नं. १ प्रदेश नं. ३ भन्दा पछाडी छ, तर अन्य प्रदेशभन्दा अगाडी रहेको तथ्यांकले देखाउँछ । प्रदेशगत हिसाबले धितोपत्र बजारसम्बन्धी नीति निर्माणमा सहज होओस् भन्ने उद्देश्यले आर्थिक, बैंकिङ तथा धितोपत्र बजार सम्बन्धी प्रादेशिक परिसूचकको विमोचन पनि गरिएको छ । 

नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारका लागि विभिन्न प्रयासहरु गर्दै आइरहेको छ । सेयर बजारमा सर्वसाधारणको सहभागीता बढाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । बैंकिङ पहुँच विस्तारसँगै सेयर बजारलाई पनि डिम्याट खाता तथा आस्वा प्रणालीमार्फत बैंकसँग जोडिएको छ । धितोपत्र बजारमा १० कित्ता बाँडफाँड हुने प्रावधान लगायतका विभिन्न प्रावधानले सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढाइरहेको छ । अहिले लगभग १५ लाख नेपाली सेयर बजारमा आवद्ध छन् । सेयर बाँडफाँडमा लाग्ने समय छोटिएको छ । सेयर भर्दा व्यहोनुपर्ने विभिन्न झन्झटहरु विस्तारै हट्दै गएको छ । यसरी प्राथमिक बजार व्यवस्थित र झन्झटरहित बनिरहेको छ । अब दोस्रो बजारलाई पनि यसरी नै विकास र व्यवस्थित गर्ने लक्ष्यसहित बोर्ड अगाडी बढेको छ । (नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीद्धारा पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनीमा व्यक्त विचारमा आधारित )


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]