March 14th, 2018

नेपालको बैंकिङ क्षेत्र र भावी दिनहरु 

डा. रामप्रसाद दाहाल । न्यून आर्थिक वृद्धि, मूल्यमा चाप, निर्यातको खस्कदो अवस्था, बढ्दो व्यापार घाटा, बैंकिङ क्षेत्रका तरलता उत्पादकत्व र उत्पादन उठ्न नसकेको स्थिति ऋणको लहर विदेशिँदो जनशक्ति, बेरोजगारको बढ्दो लहर, अहिलेको नेपालको आर्थिक चुनौतिको रुपमा रहेको छ ।

उल्लेखित चुनौति पार गर्दै सम्वृद्ध नेपाल निर्माण गर्न संघीय संसद बनिसक्यो । प्रदेश सरकार आइसक्यो । प्रधानमन्त्री र मन्त्रीहरुले विश्वासको मत लिइसके । सबैको बुझाई र घोकाई एउटै छ, अब मुलकलाई बनाइन्छ – हामी बनाउन नै आएका हौं ? विश्वास गर्नुस् देश समृद्धितिर जान्छ – अत्यन्त उत्साहपूर्ण सकारात्मक रुपमा, अभिव्यक्तिहरु ओइरिरहेका छन् । अर्थात् वर्तमानलाई बेचेर भविष्यलाई किन्छु भने जस्तै लाग्छ । सुन्दा जीवनको भोगाइ भित्र सबै पार्टी र नेताहरुले पनि भविष्यको समालोचना गरे जस्तै लाग्छ । भावलाई विचारसँग घोलिइरहेका छन् । लेख्दा र सुन्दा सामान्य पक्ष लागेपनि भाव पक्षमा घोत्लिदा विशिष्टता प्रकट हुन्छ । त्यसको भाव नयाँ जस्तो, अविस्कार जस्तो, सुन्दर जस्तो, चमत्कारपूर्ण, जस्तो लाग्छ । अर्थात् खँदिलो विचार पोखिए जस्तो लाग्छ । जो ज्यादै सकारात्मक पनि छ । 

प्रश्न जीवन्त छ यसका प्रारम्भिक संकेतहरु देखिने कहिले सरकारले पूर्णता पाउन महिना दिनले भ्याएन, सम्मानजनक बहुमत हुँदा पनि मन्त्रीमण्डल बन्न गारो छ । आकांक्षी धेरै भएकाले भन्ने कुरा छापामा दिनहुँ छापिन्छन् । दुःखलाग्छ, मन्त्री नै बन्नुपर्ने सरकार जो बनेपनि आफ्नै हो, काम गर्न जाने हो, ठीकै छ नि भनेर आकांक्षीले सम्झन नसक्ने ? सुनिन्छ राजनीति मुद्दाहरुको सार सरकारमा कसरी जाने र दर्विलो मन्त्रालय हात पार्ने भन्ने लोभी पापी मन राज्यक्तिमा सलबलाई रहेको छ । पापी मनभित्र राज्यशक्तिमा गन्ध कतै लुकेको पो छ कि ? नत्र किन बार्गेनिङ्ग ?

प्रश्नै प्रश्नभित्र – “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भनेर संसदको रोष्टममा उभिएर प्रधानमन्त्री ओलीले भनि रहँदा तत्क्षणमै कति भ्रष्टाचार भए होलान्, आफन्तलाई जागिर खुवाउन, पिए, नीजि पिए राख्न लागिरहेका होला । कतिले कमिशनका लागि ठेक्कापट्टा, आफ्नो आफन्तलाई रोजगारी पहुँचवालाका मा धाइरहेका थिए होलान् त्यसको तथ्याङ्क खोजि गर्दा देखिन सक्थ्यो ? त्यसैले फरक यति आशा छ अलिकति भएपनि, नेताले घुस अब नखालान दुई नम्बरी व्यापार नगर्लान गतवर्ष एउटाको दलबाट समानुपातिक सांसद भएर एक दुई रोमा बस्ने यसवर्ष अर्कै दलबाट बनेर अर्को रो मा बस्ने र ङिच्चङिच दाँत देखाउने सांसदको अनुहारलाई हेर्नुपर्ने बाध्यता छ नेपालीलाई । त्यस्ताको विश्वास गरेर बाँच्नुपर्ने भएको छ नेपालीले । नैतिकताको कुरा बिर्सनु परेको छ नेपालीले ।”

अनि सुन्नु परेको छ – ‘समानुपातिकमा परेको पार्टिलाई सहयोग गरेको महान् वाणीहरु ।’ पार्टिलाई सहयोग गरेर वा किनेर बनेका हाम्रा आदरणीयबाट भविष्यका पुस्ताले के सिक्ने । उत्तर प्रष्ट छ जसरी पनि पैसा कमाउ – संसद बन, माननीय मन्त्री बनिहाल । गलत विचारलाई पार्टीले त्याग्ने कहिले ? सरकारले के हेर्ने कहिले ?

सुनिन्छ स्थानीय तहमा २० हजार कर्मचारीको अभाव छ । नौ हजार कर्मचारी विदा गरिदैछन् । कस्तो विरोधाभाषपूर्ण खेल हो हाम्रो देशका ३० अर्ब बुझाएर विदा गर्ने तयारीमा जुट्दै रे ? अनि व्यङ्ग्य छ छापामा, सेवाग्राही कार्यालयतिर तिर, कर्मचारी कुम्लो बोकी घर तिर ! थिति वेथिति भित्र हाम्रो नियति चल्दै छ ?

अब यस्तो नहोला ? आशाको दियो बलेको छ नेपालमा । सरकार दुई तिहाईमा  छ । ५ वर्ष ढुक्कले शासन गर्छ । जनसेवामा क्रियाशील हुन्छ । कमिशन र भ्रष्टाचार दूर दराजको विषय बन्नु छ । पारदर्शिता उसको विषय बन्नसक्छ । रोग, भोक र शोकले मर्नुपर्ने अवस्था आउने छैन । धूलो धुवाँबाट देशले भक्ति पाउँछ । स्वास्थ्य शिक्षामा बेइमानी सैतानी अब हुँदैन । सबैतिर राम्रै राम्रो हुन्छ । अर्थात् सुन्दर राज्य बन्छ नेपाल सगरमाथा जस्तै सबै पक्षबाट उच्च छ भन्न राष्ट्रिय गौरव प्राप्त हुन्छ । नैतिकमा सर्वोपरी रहन्छ । सक्ताका सदाबहार भ्रष्टहरु उपयोगविहिन हुनेछन् भन्ने विश्वास जागेको छ । यो आशालाई मार्न र मर्न कतै कसैबाट पनि नहोस यही आशा र भरोशा छ नेपालीमा । कहिल्यै कहिल्यै भेट र संयोग पनि विषयवस्तु बन्छ । त्यो भित्र मिलन भित्रको त्यो क्षण सम्झनाको क्षितिजमा विषयवस्तु बन्छ । पाइला चलाउँदै जाँदा, विस्तारै विस्तारै खुडकिला, उक्लदै जाँदा, बाटाका अवरोधहरु पन्छाउँदै जाँदा लक्ष्यतिर लम्कदै गर्दा छुटेका पाइला हृदयको नजिक हुन्छन् घतलाग्दा प्रिय, मन भएको जीवनको सौगात बन्छन् । जुन समयको सर्दोसियो भित्र स्थापित उठेका प्रसङ्गहरु विषयवस्तु बनिदिन्छन् । सम्झनामा आइरहन्छन् उनीहरु मनले लेखेको आँखाले टिपेको छोटो तथा सटिक यात्रामा छन् । बिर्सन नसक्ने थुप्रै सिन्धु विन्दूहरु छन् । अर्थ क्षेत्रमा आउनेहरुको गहना चेतना र राष्ट्रिय जिम्मेवारीको बोध हुनुपर्दछ । यिनै सेरोफेरामा यात्राको प्रतिक्षामा भेट भएका हामी त्रिमूर्तिहरुको विषय बनिदियो – बैकिङ्ग क्षेत्र र भावी दिनहरु । 

सिटिजन बैंकका सिइओ राजनसिंह भण्डारी खुलेरै आफ्ना कुरा राख्न थाल्नु भयो । जीवनका पूर्वाद्धका सम्पूर्ण आफ्ना चरणहरु नेपाल राष्ट्र बैंक र सिटिजन बैंकमा बिताएँ । अब बाँकी दिनहरु सबैलाई धनी बनाउनु छ – मेरो हस्तरेखाले यही भन्छ भन्दै सर्लक्कै हात देखाएर विश्लेषण गर्न थाल्नुभयो । मानिसलाई आफूलाई मात्र नभएर अरुलाई पनि देख्ने, बुझ्ने सम्पन सक्ने क्षमता राख्नु पर्दछ । समस्याको समाधान नै वास्तविक लक्ष्य हुनुपर्दछ । त्यो लक्ष्य प्राप्तिमा अब हिड्ने हो अरुलाई धनी बनबाउन । उहाँको प्रष्टतालाई ट्वाक्कटुक्क बीच बीचमा प्रश्न उठाएर मैले खोतलिइरहे उहाँलाई । स्रोता बनिदिनु भयो माछापुछे« बैंकको डेपुटी सिइओ सन्तोष कोइराला । लगानीकर्ताको मनोबल उचाल्ने र प्रोत्साहन दिन वातावरण पनि बन्नु पर्दछ । ठूला परियोजनालाई पूरा गर्ने र दीर्घकालीन प्रस्तावहरुलाई नीति र विधि भित्र चलाउन सक्नुपर्छ । अब हामीले नेपाललाई हेर्दा विकासको आर्थिक आधार धेरै थिए, धेरै छ, धेरै छुट्छ भन्ने सम्झेर काम गर्नुपर्ला ? लगानीकर्ताको सम्पत्ति खर्बौको नोक्सानी भएको कुरा, गिर्दो सेयर बजार, बैकिङ्ग क्षेत्रमा लागि रहनेहरुको अवस्था, सिइओहरु कति बिक्ने, कति नबिक्ने, सुशासन सुव्यवस्था, इमान्दारिता, आर्थिक पत्रकारहरुको विषयगत विश्लेषण, माधव निर्दोषको बैंकिङ एक्स्पो, थोरै पूँजीबाट धनी कसरी हुने अनेक डकुमेन्ट्री छलफल विचार विमर्श, बौद्धिक कारोबारका कुरा बैंकर्स संघ, उसको कार्यहरु, स्वस्थ प्रतिस्पर्धा, सबै विषयको थोर बहुत चर्चा भयो । सारमा मुलुकको वृहत्तर हित र बैकिङ्ग क्षेत्रको हितका लागि पनि बैंकहरु बीच व्याजदरमा सहमति मेलमिलाप आवश्यक छ । त्यसैबाट अस्वस्थ प्रतिस्पर्धा हटेर स्वस्थ प्रतिस्पर्धा गरी अगाडि बढ्न सक्नु नै आजको आवश्यकता हो भनेर हामी एक अर्कामा विदाई भएका थियौं जो मनयोग्य र संस्मरणमूलक बनेको छ । हामीले सबैले बुझ्नै पर्छ समयले पर्खदैन, मौका आउँछ फर्कदैन ।       


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]