February 23rd, 2018

वित्तीय पहुँच विस्तार र उद्यशीलता विकासमा लघुवित्तको भूमिका

प्रकाशराज शर्मा, बरिष्ठ उपाध्यक्ष, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन । विपन्न वर्गका सर्वसाधारणलाई जीवीकोपार्जनमा सहयोग गर्ने उद्देश्यले नेपालमा लघुवित्तको अवधारण भित्रिएको थियो । यद्यपि, अहिले लघुवित्तहरु विकसित भइसकेका छन् । लघुवित्तहरु अब जीवीकोपार्जनमा सहयोग गर्ने कुरामा मात्र सीमित नभएर परियोजना, उद्यमशीलता लगायतमा समेत लगानी बढाउन थालेका छन् ।

२४ लाख महिला लघुवित्तबाट उद्यमी
अहिले क, ख, ग र घ वर्गका बैंकहरुले लथभग २१ खर्ब  कर्जा परिचालन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जसमध्ये, लघुवित्त वित्तीय संस्थाहरुको कर्जा परिचालन मात्रै एक खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । यसको मतलब, समग्र वित्तीय संस्थाको लगानीमा लघुवित्तहरुको योगदान पाँच प्रतिशतभन्दा बढी रहेको छ । लगभग २४ लाख महिलाहरु लघुवित्त संस्थामा आवद्ध भएर उद्यमी बनेका छन् । 

निष्कृय कर्जा एक प्रतिशतभन्दा तल
समग्र क, ख र ग वर्गका बैंकको निष्कृय कर्जा दुई प्रतिशतभन्दा बढी रहेको छ । यद्यपि, माइक्रोफाइनान्सहरुले विनाधितो कर्जा प्रवाह गरेर पनि निष्कृय कर्जा एक प्रतिशतभन्दा कम कायम गर्न सफल भएका छन् । यसले उद्यमशीलता सम्भव छ, विपन्न वर्गले आम्दानी गर्न सक्छन् र कर्जा तिर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेको छ ।  

वित्तीय पहुँच विस्तारमा अगाडी
अहिलेको सन्दर्भमा बैंकिङ पहुँच पनि ४० प्रतिशत पुगेको छ । अन्य सहकारी संस्थाहरु लगायतलाई गणना गर्दा ६१ प्रतिशत जनतामा वित्तीय पहुँच पुगेको छ भन्न सकिन्छ । तर, जबसम्म नेपाल राष्ट्र बैंकले नियमन गर्ने वित्तीय संस्थाहरुको पहुँच शतप्रतिशत पुग्दैन, तबसम्म सबै नेपालीहरुमाझ वित्तीय पहुँच पुगेको मान्न सकिँदैन । यो सन्दर्भमा लघुवित्त बैंकहरुले आफ्नो प्रयास जारी राखेका छन् । 

अहिले नेपालमा करिब पाँच हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखाहरु विभिन्न क्षेत्रमा स्थापना भएका छन् । जसमध्ये, केही शाखाहरु दुर्गम क्षेत्रमा पनि विस्तार भएका छन् । दुर्गम क्षेत्रमा विस्तार भएका शाखाहरु लघुवित्त वित्तीय संस्थाका धेरै छन् । मुलुकको अति दुर्गम भेग र विपन्न वर्गसम्म लघुवित्त वित्तीय सेस्थाहरुले आफ्नो सेवा विस्तार गरेका छन् । 

कर्जा लिन सजिलो
लघुवित्त संस्थाबाट कर्जा लिन तुलनात्मक रुपमा सजिलो छ । व्याजको सन्दर्भमा केही इस्यु पछिल्लो समय उठेको छ । तर, लघुवित्तबाट सेवा लिँदा अन्य अतिरिक्त शूल्कहरु लाग्दैन । सहज र सरल रुपमा घरदैलोमा नै पुगेर लघुवित्तहरुले सेवा दिइरहेका छन् । अबको समय भनेको कर्जा सदुपयोग गर्ने समय हो । यसका लागि लघुवित्त संस्था लगायत विभिन्न बैंकहरु गाउँगाउँमा पुगेका छन् । 

केही समस्याहरु
लघुवित्त क्षेत्रमा केही समस्याहरु पनि छन्, जसको समाधानतर्फ पनि हामीले ध्यान दिनुपर्छ । विकृति, विसंगति छन् भने हटाउनुपर्छ । वित्तीय पहुँच बढाउने, समावेशी वित्तीय सेवाको स्थापना गर्ने कुरामा ध्यान दिनुपर्छ । अब यसको विकल्प हामीसँग छैन । (दोस्रो बैंकिङ एक्स्पोमा व्यक्त विचारका आधारमा तयार पारिएको)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]