November 30th, 2017

जलविद्युत् लगानीकर्ताका दिन फिरे

मेनुका कार्की  / जलविद्युत् लगानीका लागि बैंकको ढोका ढकढक्याउँदा हैरान लगानीकर्ताका दिन फिरेका छन्। अहिले परियोजनाका फाइल बोकेर बैंकको ढोका होइन, बैंक नै लगानी गर्ने ठाउँ खोज्दै आयोजनाका कार्यालय धाउन थालेका छन्। हरेक भेटमा बैंकले जलविद्युत् क्षेत्रमा काम गर्नेलाई आयोजना छैन भनेर सोध्न थालेका छन्। बैंकका प्राथमिकतामा नपरेको जलविद्युत् क्षेत्र पछिल्लो समयमा लगानीको सुनौलो क्षेत्र बन्दै आएको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाको लगानी जलविद्युत्मा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा जलविद्युत् क्षेत्रमा अहिलेसम्म ५० अर्ब रुपैयाँ लगानी भएको छ।

‘पाँच वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुँदै छ', स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेले भने, ‘ती आयोजनामा बैंकले करिब चार खर्ब रुपैयाँ लगानी गर्दै छन्।' उनका अनुसार बैंकहरूले जलविद्युत् आयोजनामा ६५ देखि ७० प्रतिशतसम्म लगानी गर्दै आएका छन्। हाल नेपाल विद्युत् प्राधिकरण र निजीक्षेत्रबाट गरी करिब नौ सय मेगावाट जलविद्युत् उत्पादन भएको छ। पछिल्लो समय बैंक लगानीमैत्री बन्दै गएकाले विद्युत् आयोजनाको काम अगाडि बढाउन सहज भएको उपाध्यक्ष पाण्डेले बताए। उनले भने, ‘बैंकले सहवित्तीयकरण (कन्सोर्टियम) बनाएर लगानी गर्न थालेपछि जलविद्युत् उत्पादक उत्साहित भएका छन्।'


अहिले परियोजनाका फाइल बोकेर बैंकको ढोका होइन, बैंक नै लगानी गर्ने ठाउँ खोज्दै परियोजनाका कार्यालय धाउन थालेका छन्।

नेपालमा अझै पनि परियोजना धितोमा ऋण लगानी (प्रोजेक्ट फाइनान्सिङ) गर्ने अभ्यास छैन। ‘विश्वका अन्य धेरै देशमा परियोजना धितोमा ऋण पाउने व्यवस्था छ। नेपालमा भने अझै पनि धितो राखेर मात्रै ऋण दिने गरिएको छ', उनले भने, ‘परियोजना नै धितोमा राखेर ऋण दिने व्यवस्था भएमा मात्र आयोजना छिटो अघि बढ्नेछन्।' जलविद्युत् आयोजनामा कर्जा दिन बैंकबीच नै प्रतिस्पर्धा हुने गरेको नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। ‘एउटा बैंकले सात/आठवटा आयोजनामा लगानी गरिरहेका छन्', उनले भने। बैंकहरूले यस्ता आयोजनामा लगानी गर्दा एउटा मुख्य बैंक हुने र अन्य बैंकले सहायक बैंकका रूपमा लगानी गर्छन्।

जलविद्युत्को क्षेत्रमा कर्जा माग्नेको संख्या बढेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बताए। ‘हामीलाई पनि जलविद्युत्मा भएको लगानी सुरक्षित छ भन्ने छ। त्यसैले परियोजना खोजेर पनि लगानी गर्छौ', उनले भने। पाँच सय मेगावाट क्षमताको आयोजनामा नेपाली बैंकले लगानी गर्ने सक्ने क्षमता छ। त्योभन्दा माथिका लागि विदेशी बैंक सहयोग गर्न तयार भएको अध्यक्ष शाहले बताए। जलविद्युत् क्षेत्रको लगानी दीर्घकालीन भएकाले ब्याजदर महँगो पर्ने ढुंगानाले बताए। अहिले करिब १२ प्रतिशतको हाराहारीमा ब्याजदर रहे पनि आधार दरअनुसार परिवर्तन हुन्छ। बढीमा १५ वर्षका लागि गरिने यस्तो लगानी ब्याजदर समयअनुसार परिवर्तन हुने गर्छ। ‘पछिल्लो समय बैंकले पुँजी वृद्धि गरेपछि प्रवद्र्धक आफैं लगानी गर्न आयोजना खोज्दै आउने गरेको उपाध्यक्ष पाण्डेले बताए। ‘यसअघि निजीक्षेत्रबाट उत्पादन भएको करिब चार सय मेगावाटमा बैंकको ५० अर्बको हाराहारीमा लगानी छ। अघिल्ला वर्ष बैंक ठूलो लगानी गर्न अक्षम थिए। लगानी डुब्ने डरमा सानो परियोजनामा लगानी गर्न पनि बैंकहरू डराउँथे। तर अहिले बैंकहरू अनुभवी र सक्षम भएका छन्', उनले भने।

आयोजना निर्माण गर्दा सबैभन्दा ठूलो रकम खर्च ब्याजमा खर्चिनुपर्छ। आयोजनमा निर्माण हुने बाँध, मुहान निर्माण कार्य र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल यन्त्र उपकरणभन्दा पनि ब्याजमा बढी खर्च लाग्ने भएकाले आयोजना महँगो पर्न जाने गरेको छ। आयोजना सुरु भएदेखि नै समयसापेक्ष बजार निर्धारित ब्याज तिर्नुपर्ने हुनाले अत्यधिक ब्याज तिर्नुपर्छ। तर, विद्युत् मूल्य भने विद्युत् खरिद सम्झौता (पीपीए) भएका बेला नै ३० वर्षका लागि निर्धारण गरिएको हुनाले उत्पादकलाई मर्का पर्ने गरेको इप्पानको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]