July 19th, 2017

यस्ता छन् १० एसियाली स्मार्ट कम्पनी

 

दिनेश यादव / विश्वकै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक रहेको म्यासाच्युसेट्स इन्सिटिच्युट अफ टेक्नोलजी (एमआईटी) को ‘एमआईटी टेक्नोलजी रिभ्यु’ पत्रिकाले हरेक वर्ष संसारका ‘५० स्मार्ट’ कम्पनीको सूची जारी गर्दै आएको छ । यस वर्ष उक्त सूचीमा उत्तर अमेरिकाका ३१, एसियाका १०, युरोपका ६, अफ्रिकाका २ र दक्षिण अमेरिकाका एक वटा ‘स्मार्ट’ कम्पनीको समावेश गरिएका छन् । अघिल्लो महिनाको अन्त्यमा सार्वजनिक गरेको सूचीमा एसियाली मुलुकहरू चीन, भारत र ताइवानका कम्पनी मात्रै समावेश हुन सफल भएका छन् । 

 एसियाबाट स्मार्ट कम्पनीमा दरिएकाहरूमा चीनका ७ र ताइवानका २ र भारतका १ रहेका छन् । यी कम्पनीहरूले इनोभेटिक प्रविधिको सहयोगमा प्रभावकारी कारोबार मोडेल तयार गरेकाले सूचीमा परेको हुन् । तर, आश्चर्यको कुरो त के छ भने प्राविधिक रूपमा उन्नत मुलुकहरूमध्ये जापान, सिंगापुर र दक्षिण कोरियाजस्ता एसियाली मुलुक यो सूचीमा पर्न सकेनन् । पत्रिकाका अनुसार ‘स्मार्ट’ को अर्थ अघिल्लो एक वर्षमा रोजगारको नयाँ अवसर सिर्जना गरेकोसँग सम्बन्धित छ । सूचीमा समावेश एसियाली १० कम्पनी आफ्नो कार्यप्रणाली र कार्यदक्षतामा अब्बल रहेको दाबी ‘एमआईटी टेक्नोलजी रिभ्यु’ को छ । सूचीमा परेका १० स्मार्ट एसियाली कम्पनीहरूमा ‘आइफ्लाइटेक’ छैटौं स्थानका साथ अन्यभन्दा माथि छ । त्यसपछि टेनसेन्ट, फेस, डीजेआई, फोक्सकोन, फ्लिपकार्ट, अलिबाबा, एचटीसी, एन्ट फाइनान्सियल र बाइडु रहेका छन् । यी कम्पनीहरूको संक्षिप्त जानकारी प्रस्तुत छ— 

आइफ्लाइटेक : चीनको हेफेईमा प्रधान कार्यालय रहेको यो कम्पनीले इन्टेलिजेन्ट मेसिन्समा आफ्नो लगानी गरेको छ । यो वर्ष पहिलोपटक सूचीको छैटौं नम्बरमा आफ्नो कब्जा जमाउन सफल कम्पनीले चीनको बजारमा भ्वाइस–एक्टिभेटेड प्रणालीमा बर्चस्व नै कायम गरेको छ । यो प्रणालीको प्रयोग कार, घरेलु उपकरणहरू र रोबोटमा गरिन्छ । बिल्ट–इन–इन्ट्रेस्ट ट्रान्सलेसनका साथ शैक्षिक सामग्रीहरू विकास गर्न कम्पनीले संयुक्त लगानीसमेत गरेको छ । आफ्नो उद्देश्य पूरा गर्नका लागि कम्पनीले एउटा कोष पनि खडा गरेको छ । यही कोषबाट उसले विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपस्पमा लगानी गर्दै आएको छ । कम्पनीको ‘भ्वाइस–बेस्ड’ प्रविधिको चिनियाँ बजारमा ७० प्रतिशत सेयर रहेको छ । 

टेनसेन्ट : चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘वी च्याट’ विश्वकै सर्वाधिक ठूलो भिडियो–गेमिङ सञ्चालन गर्ने कम्पनी हो । चीनस्थित सेन्झेनमा प्रधान कार्यालय रहेको यो कम्पनीले ‘कनेक्टिभी’ को काम गर्दै आएको छ । सन् २०१३ देखि कम्पनी लगातार यो सूचीमा पर्दै आएको छ । यो वर्ष भने टेनसेन्ट सूचीको आठौं स्थानमा रहेको छ । सोसल नेटवर्किङ ‘एप वी च्याट’ को मोडेललाई उबरजस्ता कम्पनीले समेत अपनाएका छन् । यो एउटा अल–इन–वन एप हो, जुन च्याट ई–कमर्स, पेमेन्ट, गेम्स, म्युजिक र भिडियोलगायतलाई प्राथमिकतामा राखेको छ । प्रयोगकर्ताहरूको संख्या बढाउन र वर्तमान प्रयोगकर्तालाई कायम राख्न कम्पनी सफल भएको छ । ‘वी च्याट’ का सक्रिय प्रयोगकर्ताको संख्याले मासिक अर्बको तथ्यांकलाई नाघिसकेको छ । यी एपहरूलाई दैनिक रूपमा औसतमा ९० मिनेटसम्म ती प्रयोगकर्ताहरूले उपयोग गरिरहेका छन् । आफ्नो अत्यन्तै लोकप्रिय च्याट सञ्चाल वी च्याटलाई एउटा भच्र्युअल अपरेटिङ प्रणालीमा मिनी प्रोग्रामको सुविधा प्रदान गर्दै आएको छ । 

फेस : चीनको बेइजिङमा प्रधान कार्यालय रहेको ‘फेस प्लस–प्लस’ ले इन्टेलिजेन्ट मेसिनमा आफ्नो कारोबार गर्दै आएको छ । यो वर्ष मात्रै सूचीमा परेको कम्पनीको एप्सले मानिसको फेसलाई १०६ तरिकाले विश्लेषण गर्छ । अलिपेद्वारा यसको सफ्टवेयर प्रयोग गरिन्छ, जसका प्रयोगकर्ता आफ्नो फेस आईडीका मार्फत ‘लग इन’ गर्न सक्छन् । राइड–सेयरिङ कम्पनी डीडी चुक्सिङले आफ्नो ड्राइभर्सको पहिचानका लागि यसको प्रयोग गर्छ । स्मार्टफोन एप बनाउने मेइटु फोटा–रिटचिङ फिचर्सका लागि पनि यसको प्रयोग गरिन्छ । सूचीमा यो कम्पनी ११ औं स्थानमा छ । 

डीजेआई : चीनको सेनझेनमा प्रधान कार्यालय रहेको यो कम्पनी आम मानिसका लागि कम लागतमा सानो ड्रोन निर्माण गर्छ । थोरै लगानीमा निर्माण गरिने भएकाले यसको लोकप्रियता बढदै गएको छ । कम्पनीले निर्माण गरेको म्याभिक प्रोडोनको मूल्य ९ सय ९९ अमेरिकी डलर छ । पछिल्लो समय कम्पनीले स्पार्क ड्रोन ४ सय ९९ अमेरिकी डलरको लागतमा निर्माण गरेको छ । कम्पनीले यस्तो ड्रोन बनाएको छ, जसलाई ब्यागमा प्याक गरेरसमेत राख्न सकिन्छ । आवश्यकताअनुसार प्रयोगमा ल्याउन सकिन्छ । यो वर्ष मात्रै सूचीमा परेको यो कम्पनीले अघिल्लो वर्ष १ दशमलव ४ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेको थियो । यो वर्ष थप एक अर्ब अमेरिकी डलरको कारोबार गर्ने लक्ष्य कम्पनीले लिएको छ । उत्तर अमेरिका यसको प्रमुख बजार रहेको बताइएको छ । 

फोक्सकोन : ताइवानको न्यु ताइपेई सिटीमा प्रधान कार्यालय रहेको यो कम्पनीले ‘एडभान्स म्यानुफ्याक्चरिङ’ मा जोड दिँदै आएको छ । आइफोन निर्माणमा अब्बल रहेको यो कम्पनीले चीनमा स्मार्टफोनको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङसमेत गर्छ । यो वर्ष मात्रै सूचीमा परेको कम्पनीको सम्पत्ति १६० अर्ब अमेरिकी डलर रहेको छ । अब यो अन्य बजारमा समेत फैलिँदै गएको छ । कम्पनी रोबोट बनाउनमा समेत जुटेको छ । श्रमको लागतलाई कम गर्ने उद्देश्यले कम्पनी यो क्षेत्रमा लगानी गरेको हो । यो कम्पनीले एक्लै ६० हजारलाई रोजगारी दिएको छ । सूचीमा ३३ औं स्थानमा रहेको छ । 

फ्लिपकार्ट : भारतको बेंगलुरुमा प्रधान कार्यालय रहेको यो कम्पनी अमेजनले आफ्नो ई–कमर्स कारोबारमा आफ्नो प्रसारका लागि व्यापक प्रयास गरे पनि प्रतिस्पर्धामा फ्लिपकार्ट अंग्रपंक्तिमा रह्यो । भारतकै सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेसका रूपमा कम्पनीले आफ्नो बजार विस्तार गरेको हो । यसै वर्षको अप्रिलमा कम्पनीले विश्वका चर्चित कम्पनीहरू टेनसेन्ट, इबे र माइक्रोसफ्टजस्ता टेक जाइन्टबाट ई–टेलरमार्फत १ दशमलव ४ अर्ब अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो । उक्त रकम भारतमा ई–वेको सुविधा उपलब्ध गराउनका लागि प्राप्त भएको हो । सूचीमा यो ३६ औं स्थानमा रहेको छ । 

अलिबाबा : चीनको हाङझाउमा प्रधान कार्यालय रहेको अलिबाबा विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी हो । यसमा ५७ प्रतिशत सेयर चिनियाँ बजारको छ । क्लाउड कम्प्युटिङ सेवामा हाल यो आफ्नो प्रतिस्पर्धी अमेजनलाई कडा टक्कर दिइरहेको छ । अलिबाबा हाल अन्य कम्पनीका लागि क्लाउड इन्फ्रास्ट्रक्चर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले चीनमा मात्रै होइन, अमेरिका, युरोप, अस्ट्रेलिया र पूर्वी एसियामा व्यापक रूपमा सेवा विस्तार गरिसकेको छ । यसले ठूलादेखि साना कम्पनीहरूलाई बिग–डेटा सेवा उपलब्ध गराइरहेको छ । सूचीमा यो कम्पनी ४१ औं स्थानमा छ । ‘कनेक्टिभिटी’ सेवामा सक्रिय यो कम्पनी सन् २०१५ यता लगातार सूचीमा पर्दै आएको छ । 

एचटीसी : ताइवानको ताओयुआनमा प्रधान कार्यालय रहेको यो कम्पनी स्मार्टफोनको कारोबारबाट अगाडि बढ्दै भच्र्युअल रियलिटी (भीआर प्रणाली) मा केन्द्रित छ । ‘कनेक्टिभिटीलाई आफ्नो व्यवसाय बनाएको कम्पनी एमआईटीको सूचीमा २०१० र २०११ पछि यो वर्ष फेरि समावेश भएको छ । वाइभ मोसन ट्रयाकिङ प्रणालीको सहयोगमा प्रयोगकर्ताको भच्र्युअल संसारको अनुभूति गराउन सफल भएको छ । गुगलसँग यसको एउटा अनौठो भच्र्युअल रियलिटी हेडसेट विकसित गर्नका लागि करारसमेत भएको छ । यो सेवामा स्मार्टफोनको आवश्यकता पर्ने छैन । 

एन्ट फाइनान्सियल : चीनको हाङझाउमा प्रधान कार्यालय रहेको यो कम्पनीे अलिबाबाले आफ्नो मोबाइल पेमेन्ट सेवाहरूको विस्तारका लागि सन् २०१४ मा सुरु गरेको हो । ४५ करोड सक्रिय प्रयोगकर्ताका साथ एन्ट अब चीनकै सबैभन्दा ठूलो मोबाइल पेमेन्ट सेवा उपलब्ध गराउने कम्पनी बनेको छ । सिंगापुर, भारत र थाइल्यान्डसहित अमेरिकाको फिनटेक कम्पनीमा यसको लगानी रहेको छ । एन्ट फाइनान्सियलले इन्स्योरेन्स क्लेम प्रोडक्टजस्ता नयाँ उत्पादनहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको निर्माण गरेको छ । यसले दुर्घटनाहरूको तस्बिरलाई स्मार्टफोनबाट लिने मेसिनमा लर्निङ प्रक्रियालाई विकसित गर्न सहयोग मिल्छ । वित्तीय सेवा प्रदान गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने ‘एन्ट फाइनान्सियल’ सूचीमा ४९ स्थानमा छ । यसका वार्षिक सक्रिय प्रयोगकर्ताको संख्या ४५ करोड छ । 

बाइडु : चीनको बेइजिङमा प्रधान कार्यालय रहेको यो कम्पनीले पनि इन्टेलिजेन्ट मेसिनमा आफ्नो लगानी गर्दै आएको छ । सन् २०१४ यता लगातार चार वर्षदेखि सूचीमा पर्दै आएको छ । सिलिकन भ्यालीको एक प्रमुख स्टार्टअपसँग सम्बन्ध विच्छेदपछि पछिल्लो समय चीनको यो कम्पनीलाई ठूलो झटका लागेका थियो । तर, राजस्वमा कमी आए पनि आर्टिफिसियल इन्टेलिजेन्ट रिसर्चमा लगानी जारी राखेर आफ्नो इज्जत जोगाउन सफल भएको छ । हाल वाइडु चीनको आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित राष्ट्रिय अभियानको प्रतिनिधित्व गरिरहेको छ । यसले चालकबिनाको कारका लागि एउटा कम्प्युटर भिजनको स्टार्टअपलाई अधिग्रहणसमेत गरिसकेको छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]