July 18th, 2016

ऐतिहासिक गतिमा नेप्से : बीमाका लगानीकर्ता मालामाल, लघुवित्तका लगानीकर्ताले गुमाए

stockनेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार तीव्र गतिमा बढिरहेको छ । मौद्रिक नीति आउनुअघि अन्यौलमा देखिएका लगानीकर्ता पुनः उत्साहमा फर्किएका छन् । यसैबीच, सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ९५ करोड भन्दा माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३७ वटा कम्पनीको २८ लाख ७० हजार ४ सय ९७ कित्ता शेयर ९ हजार ९५ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९५ करोड ४१ लाख ७० हजार ७ सय ६१ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा उल्लेख्य बढेको हो । आइतबार १ अर्ब ३५ करोडमाथिको शेयर कारोबार भएको थियो । नेप्सेले शेयर कारोबारको समय १ घण्टा थप गरेपछि त्यसको प्रभाव पनि शेयर बजारमा देखिएको हो । 

वाणिज्य बैंकको शेयरमा धेरै आकर्षण
सोमबार लगानीकर्ताको सबैभन्दा बढी आकर्षण एनबी बैंकको शेयरमा रहेको छ, जसको १० करोड ८८ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । नेपाल बैंकको पौने ९ करोड र जलविद्युत लगानी तथा विकास कम्पनीको झन्डै ८ करोडको कारोबार हुँदा इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सको क्रमशः साढे ६ करोड र सवा ६ करोडमाथिको शेयर कारोबार भएको छ भने माछापूछ्रे बैंकको झन्डै साढे ५ करोड र मेगा बैंकको ५ करोडको कारोबार भएको छ । ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, लाइफ इन्स्योरेन्स कम्पनी लगायतको ४ करोड ९० लाखभन्दा माथिको शेयर कारोबार भएको छ । 

बीमाको ऐतिहासिक रेकर्ड
कारोबारसँगै नेप्से परिसूचक पनि सोमबार ४०.८३ अंकले बढेर १७८६.५७ अंकमा पुगेको छ । बीमा समूहले ६१८.४२ अंकको वृद्धि हासिल गर्दै ऐतिहासिक रेकर्ड कायम गरेको छ । उत्पादनमूलक, वाणिज्य बैंक, जलविद्युत् र होटल क्रमशः ४४.४६, ४०.७९, १४.६६ र १.१७ अंकले बढेका छन् । विकास बैंक, फाइनान्स र अन्य भने क्रमशः २.८३, ०.२८ र ११.२७ अंकले घटेका छन् । 

कमाउने र गुमाउनेमा कोको ?
सोमबार धेरै कमाउनेमा धेरै संख्या बीमा कम्पनीहरुको छ । सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियm इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स र नेको इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, बोटलर्स नेपाल, हिमालयन जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतले झन्डै १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउने कम्पनीहरुमा लघुवित्त संस्थाहरु धेरै छन् । नेरुड र लक्ष्मी लक्ष्मी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने ग्रामीण विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, मिथिला लघुवित्त, विजय लघुवित्त, साना किसान विकास बैंक लगायतले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]