July 10th, 2016

मोटर बीमासम्बन्धि नयाँ नीति आयो, यात्रुको बीमा ५ लाख पुृर्याइयो

insuranceबीमा समितिले मोटर बीमासम्बन्धि नयाँ नीति ल्याएको छ । समितिले शुक्रबार ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका २०७३’ जारी गरेको हो । जसअनुसार अब सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरूको प्रतिसिट ५ लाख रुपैयाँ बराबरको बिमा हुने भएको छ । यसअघि प्रतिसिट १ लाख रुपैयाँ बराबरको बिमा हुने व्यवस्था थियो । उक्त बिमांकको सीमाभित्र रहेर दुर्घटनामा मृत्यु भएका यात्रु, चालक परिचालहकहरूले किरिया खर्चबापत ५० हजार रुपैयाँ पाउने व्यवस्था पनि समितिले गरेको छ ।

यस्तै दुर्घटनाबाट चोटपटक लागेमा औषधोपचारका लागि अधिकतम बिमांक सीमा ३ लाख कायम गरिएको छ । यस्तै बिरामी कुरुवाका लागि सम्बन्धित पक्षले प्रतिदिन ५ सयका दरले ४५ दिनसम्मको रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘अंगभंग तथा औषधोपचार दुवैको अवस्था सिर्जना भएमा माथि उल्लिखित सीमाभित्र छुट्टाछुट्टै रही दाबी कायम हुने छ,’ निर्देशिकामा उल्लेख छ । चोटपटक लागेर अंगभंग भई अस्पताल पुर्याउनुपर्ने अवस्था भएमा एम्बुलेन्स खर्च १० हजार रुपैयाँ बिमांक तय गरिएको छ । यस प्रयोजनका लागि ‘एम्बुलेन्स भन्नाले सवारी साधन दुर्घटना भई सोमा सवार यात्रु, चालक, सहचालक, हेल्पर तथा तेस्रो पक्ष व्यक्ति घाइते, अंगभंग तथा मृत्यु भई अस्पताल पुर्याउन प्रयोग हुने एम्बुलेन्सको नाममा दर्ता भएको साधन वा सो तत्काल उपलब्ध हुन नसकेमा अन्य कुनै यान्त्रिक सवारी साधन वा अन्य यस्तै अस्पताल पुर्याउने साधन भनी परिभाषित गरिएको छ ।

समितिले ल्याएको यो नयाँ व्यवस्था आगामी आर्थिक वर्ष अर्थात् साउन १ गते देखि लागू हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]