September 22nd, 2018

अछामको मंगलसेनमा निर्धन उत्थान लघुवित्तद्धारा ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३४ जना ग्राहक सदस्यहरुको सहभागितामा दुर्गम अछाम जिल्लाको मंगलसेनमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । 

अछाम मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायको प्रमुख आतिथ्यमा असोज ३ गते उद्घाटन भएको तालिमको समापन कार्यक्रमको सभापतित्व कोलकोटिया महिला स्वावलम्वी समूहकी एकल महिला गिता रावलले गरेकी थिइन् । यस तालिममा प्रशिक्षकहरु पूर्ण प्रसाद ढुंगाना, दिनेश डुनाबठवा र उमानाथ तिमल्सेना रहेका थिए । 
 
तरकारी खेती गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका मंगलसेन शाखाका शाखा प्रमुख उमानाथ तिमल्सेनाले बताए । तालिममा हिउँदे तरकारी खेती प्रविधि, (काउली, बन्दा, ब्रोकाउली र गाँठ गोवी), करेसाबारीको परिचय र महत्व, साथै टमाटर, भन्टा, खुर्सानी, भिन्डी खेती प्रविधि), तरकारी खेती नर्सरी बनाउने तरिका (सैद्धान्तिक र ब्यवहारिक), लहरे तरकारी खेती प्रविधि (लौका, काँक्रो, फर्सी, करेला, घिरौंला), जरे तरकारी (मूला, गाजर, सलगम) र कोसे तरकारी (सिमी, बोडी, बकुला, केराउ) खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी बढी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, टमाटर खेतीको स्किम, च्याउ खेती स्किम, बचत परिचालन र बचतका फाईदाहरु संस्थाका सेवाहरुको आदि बारेमा प्रशिक्षण दिइएको थियो । 

प्रमुख अतिथी सरिता उपाध्यायले निर्धन उत्थान लघुवित्त संस्थाले गरीबी निवारणका लागि खेलेको भूमिका अतिनै सराहनीय रहेको बताइन् । पिछडिएको वर्गलाई यस तरकारी खेती तालिमको माध्यमबाट संवृद्घ बनाउन टेवा पुग्नेभन्दै उनले आगामी दिनमा यस्ता कार्यहरुमा मंगलसेन नगरपालिकाले पनि गर्नुपर्ने उल्लेख गरिन् ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरीरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको र महिला सशक्तीकरणमा ठूलो भूमिका समेत खेल्दै आएको मंगलसेन शाखाका प्रमुख तिमल्सेनाले बताए ।

सहभागीहरुमध्ये जूपू महिला स्वावलम्वी समूहकी धनी देवी रावलले निर्धन उत्थान लघुवित्तले दिएको यस ब्यवसायिक तरकारी खेती तालिमबाट धेरै कुरा सिकेको बताए । रेडियो अछामका पत्रकार टेक बहादुर थापाले निर्धन उत्थान लघुवित्त संस्थाको सञ्जाल ब्यापक रहेको र यसको सबै कार्यक्रम गरीबमुखी रहेको बताए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्नुका साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।

संस्थाले २०७५ श्रावण मसान्तसम्ममा ३ लाख १८ हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ श्रावण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ३६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको ८ अरब ६१ करोड बचत परिचालन गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]