August 17th, 2018

ग्रामीण विकास लघुवित्तको चौथो वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को चौथो वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सवको सभापतित्व सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले गरेका थिए ।
 
वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर डा. नेपालले मर्जर पश्चात ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले हासिल गरेको प्रगति सन्तोषजनक रहेकोमा खुसी लागेको तर आगामी दिनमा यस संस्थाले आफ्नो क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगमा उच्च ध्यान पुर्याउनु पर्ने बिचार व्यक्त गरे । गभर्नर नेपालले संस्थाको दिगोपनका लागि मुनाफाको ३ प्रतिशत अनिवार्य खर्च गरी कर्मचारीको क्षमता अभिबृद्धि गर्न सुझाव दिए ।
 
उक्त वार्षिकोत्सव समारोहमा प्रदेश नं. ५ को योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले शुभकामना मन्तव्यका क्रममा संस्थाले गरेको कार्य प्रगतिको प्रशंसा गर्दै नेपालमा रहेको गरिबीलाई न्यूनिकरण गर्न ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को महत्वपूर्ण भूमिका रहेको बताए । उनले देशले परिलक्षित गरेको आर्थिक समृद्धि हासिल गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई कसरी क्षमतावान बनाउने विषयमा गहन विश्लेषण गर्नुपर्ने र यसका लागि वित्तीय संस्थाहरू बढी भन्दा बढी उत्पादनशील क्षेत्रमा लाग्नु पर्ने बिचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंक सिद्धार्थ नगरका  निर्देशक अशोक पौडेलले मर्जर पश्चात ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गरेको प्रगति सन्तोष जनक देखिएता पनि लघुवित्तको क्षेत्र वर्तमान समयमा उच्च प्रतिस्पर्धा रहेको हुँदा यस संस्था पनि आगामी दिनमा प्रतिस्पर्धी ढंगले उत्रिनु पर्ने बताए ।

सञ्चालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति माणिकरत्न शाक्यले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था नाफा मुखीमात्र नभएर सेवामुखी भावनाले समेत विभिन्न कार्यहरू गरिरहेको चर्चा गर्दै संस्थाले आफ्नो क्षमता बृद्धि गर्न  चाँडै नै पुँजीवृद्धि गर्ने योजना राखेको बताए । अध्यक्ष शाक्यले संस्थाले आगामी दिनमा चाल्नु पर्ने विभिन्न कदमका बारेमा समेत चर्चा गरे ।
  
वार्षिकोत्सव समारोहमा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाकोे विगत र वर्तमानको अवस्था तथा आगामी दिनमा संस्थाले अवलम्बन गर्ने योजनाका वारेमा प्रकाश पारे । उनले मर्जर पूर्व २०७१ श्रावण २९ गते लगानीमा रहेको कर्जा रु. ३ अर्व ९६ करोड रहेकोमा २०७५ आषाढ मसान्तमा सो मा वृद्धि भई लगानीमा रहेको कर्जा रु. ८ अर्व ६६ करोड र निक्षेप रु. २ अर्व ७४ करोड पुगेको, मर्जरको समयमा रहेको संस्थाको सञ्चित नोक्सानीमा उल्लेख्यनीय सुधारभई संस्थाले आ.व. २०७४÷०७५ मा (२०७५आषाढ मसान्तमा) अपरिष्कृत नाफा रु.२६ करोड ४६ लाख गर्न सफल भएको र मर्जरको समयमा पुँजीकोष ऋणात्मक रहेकोमा सो समेतमा उल्लेख्य सुधारभई २०७५ आषाढ मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार पुँजीकोष ७.३७ प्रतिशत कायम भएको जानकारी गराए ।
 
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाका प्रवन्धक शंकर प्रसाद पहारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष रमेश जि.सी., ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. कर्मचारी संघका अध्यक्ष नवराज ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष दिपेन्द्र लुइटेलले  समेत शुभकामना मन्तव्य दिएका थिए ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्य गर्ने संस्थाका ३० जना कर्मचारीहरू, आ.व. २०७४÷०७५  को  लक्ष्य  प्राप्तिमा उत्कृष्ट योगदान गर्र्नेे शाखा कार्यालय झुम्का, सुनसरी, इलाका कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय सर्दी, नवलपुर,  इलाका कार्यालय तुल्सीपुर दाङ्ग, शाखा कार्यालय वेलौरी, कन्चनपुर तथा  अनुशासित र लगनशील भई  कारोबार एवं व्यवसाय  गर्ने २५ जना ऋणी सदस्यहरूलाई पुरष्कृत गरिएको थियो । सो अवसरमा संस्थालाई  सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंक लि., दोस्रो सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने नेपाल बैंक लि. र तेस्रो सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने सिद्धार्थ बैंक लि. लाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।  साथै निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण र रक्तदान कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवा, विराट मेडिकल कलेज एन्ड टिचिङ्ग हस्पिटल, विराटनगर  र  कैलाली अस्पताल प्रा.लि. तथा नेशनल प्याथल्याव धनगढी,  शंकरनगर सामुदायिक वन उपभोक्ता समूह, शंकरनगर इलाका  वन  कार्यालय,  तिलोत्तमा, रुपन्देही र रक्तदान कार्यक्रम सफल बनाउन  सहयोग गर्ने रक्त संचार इकाई, भैरहवालाई सो अवरमा सम्मानपत्र र रक्तदान गर्ने  संस्थाका शेयर सदस्यहरू, सञ्चालक समितिका पदाधिकारीहरू, लगायत ४१ जना संस्थाका कर्मचारी तथा विभिन्न व्यक्तिहरूलाई सो अवसरमा प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसअघि वार्षिकोत्सवक मनाउने क्रममा संस्थाले साउन २६ गते रुपन्देही जिल्लाको रुद्रपुर गरगरे, सुनसरी जिल्लाको पकली र कञ्चनपुर जिल्लाको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो भने साउन २६ क्षेत्रीय कार्यालय धनगढी,  साउन २९ गते प्रधान कार्यालय, बुटवलमा रक्तदान कार्यक्रम, सोही दिन नेपाल अपाङ्ग आश्रम बुटवल, देवीनगरमा अपाङ्गहरूलाई खाद्यान्न तथा सामग्री वितरण र साउन ३० गते तिलोतमा नगर पालिका, शंकरनगर, वनवाटिका परिसर रुपन्देहीमा वृक्षारोपण कार्यक्रम गरिएको थियो ।  

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्ममा ५७ जिल्लामा १ सय ९४ वटा कार्यालयहरू स्थापना गरेको छ । संस्थाको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका वडा नं.–१०, रुपन्देहीमा रहेको छ  भने  विराटनगर, जनकपुर,  बुटवल, नेपालगंज र धनगढीमा क्षेत्रीय कार्यालयहरु रहेका छन् । संस्थाले ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरुको आर्थिक तथा समाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आईरहेको छ ।                        


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]