July 6th, 2018

पञ्चकन्या माई हाइड्रोको आईपिओ साउन १ गतेदेखि, न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने

बैंकिङ खबर । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साउन १ गतेदेखि ११ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।

निष्काशन गर्न लागिएको कुल सेयरमध्ये चार प्रतिशत अर्थात ४४ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १० लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले सामुहिक लगानी कोषको लागि छुट्टाएको ५५ हजार कित्ता समानुपातिक रुपमा बाँडफाँड गरिसकेको छ । 

सर्वसाधारणको लागि छिटोमा साउन ४ गते र पहिलो चरणमा नविकेको खण्डमा ढिलोमा साउन १५ गतेसम्म बिक्री खुला गरेको छ । न्युनतम ५० कित्ता र अधिकतम ५५०० कित्तासम्मको लागि आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइने सनराइजले जनाएको छ ।  

कम्पनीले उत्पादन सुरु गरिसकेको १२ मेगावाट क्षमताको अप्परमाई जलविद्युत आयोजनाको लागि प्राथमिक सेयर निष्काशन गरेको हो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीलाई साढे ८ वर्षपछि मात्रै प्रतिफल दिन थाल्ने कम्पनीले जनाएको छ । जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको ८० प्रतिशत सेयर संस्थापकको रहेको छ भने १० प्रतिशत आयोजना प्रभावित क्षेत्रलाई बिक्री गरिसकेको र बाँकी १० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]