July 4th, 2018

एफपिओ नबिक्दा धितोपत्र बोर्डको आलोचना : यस्तो दियो स्पष्टीकरण

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले प्रिमियम सहितको सार्वजनिक शेयर निष्काशन नियम संगत रहेको दाबी गरेको छ । बुटवल पावर, एनएमबी बैंक र नेपाल बैंकले निष्काशन गरेको एफपिओ बिक्री नभएका कारण आलोचना भएप्रति ध्यानाकर्षण गर्दै धितोपत्र बोर्डले यस्तो स्पष्टीकरण दिएको हो । 

बोर्डले एफपिओ मूल्य निर्धारण गर्दा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ र धितोपत्र निष्काशन निर्दे्शिका २०७६ को व्यवस्थालाई टेकेर अनुमति दिएको जनाएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण सहित संरचनात्मक सुधार गर्नको लागि नेपाल सरकारको स्वीकृतिमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्दे्शिका २०७४ मार्फत मूल्य निर्धारण गरिएको बोर्डले बताएको छ ।

एफपिओको मूल्य निर्धारण गर्दा कम्पनीको पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी खुद नाफा, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र बोर्डमा निवेदन दिनु भन्दा सात दिन अगाडीको १८० दिनको औषत मूल्य गणना गरि प्राप्त हुने औषत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमध्ये जुन कम हुन्छ सोही मूल्यलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

यसरी, सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण प्रचलित नियम तथा निर्देशिका बमोजिम पारदर्शी हिसाबले गराउन आफू पूर्ण सजग रहेको र नियमबमोजिम नै मूल्य निर्धारण गरेको सुनिश्चित भएपछि मात्रै अनुमति दिने गरेको बोर्डले उल्लेख गरेको छ । पुँजी बजारमार्फत पुँजी निर्माण गरी समग्र अर्थतन्त्रको विकास तथा विस्तारमा अभिवृद्धि ल्याउन धितोपत्र सम्बन्धी ऐन, नियम तथा निर्देशिका बमोजिम आफ्नो कार्य सम्पादन गर्दै आएकाले बजारमा फैलिएका गलत समाचारबाट भ्रमित नहुन बोर्डले विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]