June 18th, 2018

जनउत्थान सामुदायिक लघुवित्तद्धारा सीमान्तकृत समुदायलाई आधुनिक चुल्हो वितरण 

बैंकमा आवद्ध सीमान्तकृत समुदायलाई लक्षित गरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. १, घोरबन्दाका कुमाल र दलित समुदायलाई निःशुल्क आधुनिक चुल्हो वितरण गरेको छ । लघुवित्तले विनरक इन्टरनेशनलको सहकार्यमा आइतबार उक्त सहयोग प्रदान गरेको हो । सोही अवसरमा लघुवित्तले महिला सशक्तिकरणमा लघुवित्त वित्तीय संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बैंकले गाउँमै आएर निःशुल्क रुपमा जलवायु अनुकुल चुल्हो वितरण गरेकोमा धन्यवाद दिँदै, सीमान्तकृत समुदायले अझै पनि दाउरामा खान बनाउदा त्यसबाट निस्कने धुवाँ धुलोले स्वास्थ्य सम्बन्धि समस्याहरु भोग्नु परेको र खाना पकाएर श्रम गर्न हिड्ने महिलाहरु यसबाट प्रत्यक्ष लाभान्वित हुने बताएका छन् । साथै, उनले गाउँपालिकाले पनि लक्षित समुदायलाई प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु आगामी वर्ष देखि सञ्चालन गर्ने योजना रहेको बताए ।

बैंकका अध्यक्ष बावुराम विश्वकर्माले बैंकले वित्तीय पहुँचबाट वञ्चित समुदायलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व सँग सम्बन्धित विभिन्न खालका कार्यक्रमहरु विभिन्न समयमा गर्दै आईरहेको बताए । बैंकको लक्षित समुदायलाई आधार बनाएर बैंकमा आवद्ध दलित तथा कुमाल समुदायका घरपरिवारलाई आधुनिक चुल्हो वितरण गरेको र यसको पूर्ण रुपमा प्रयोग गरी वन जंगल फडानीलाई न्यूनिकरण गर्ने तथा स्वास्थ्यमा देखिने समस्याहरु न्यूनिरण गरी वातावरण स्वच्छ राख्न सबैलाई सुझाव दिए । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा गई महिला दिदी बहिनीहरुलाई समुहमा आवद्ध गराई विभिन्न खालका लघुवित्त वित्तीय सेवाहरु प्रदान गर्दै उनीहरुको सशक्तिकरणमा सँधै ध्यान दिँदै आईरहेको पनि बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले लघुवित्त वित्तीय सेवाका साथै सामाजिक कार्यमा पनि बैंक सदैव क्रियाशिल रहेको बताउँदै बैंकले तराईको पर्सा देखि कञ्चनपुर सम्ममा १० वटा जिल्ला र पहाडी ५ वटा जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत करिव २४,५०० जना सदस्यहरुलाई सेवा दिईरहेको बताए । बैंकमा आवद्ध समुह सदस्यहरु मध्य करिव १४ हजार सदस्यहरुलाई करिव ९३ करोड कर्जा प्रवाह गरेको र उनीहरुबाट करिव २४ करोड बचत संकलन गरेको उनले जानकारी दिए ।

बैंकका अधिकृत इन्द्र बरालीले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रममा वडा नं. १ का वडा अध्यक्षसोम बहादुर झेडी, नेपाल पत्रकार महासंघका पाल्पा जिल्लाका कोषाध्यक्ष मिलन बि.क., समाजसेवी ध्रुवराज ढुङ्गाना, वीनरक इन्टरनेशनलका कार्यक्रम अधिकृत रविन श्रेष्ठले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन तानसेन शाखाका शाखा प्रवन्धक टोप बहादुर सुनारले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]